२०८३ कार्तिक २२ शनिबार

Nov 07 2026 Saturday

  • २०८३ कार्तिक २२ शनिबार

२०८३ कार्तिक २२ शनिबार

चिया उत्पादन क्षेत्रमा कञ्चनजङ्गा टि स्टेट र मेरो व्यावसायिक यात्रा

चिया उत्पादन क्षेत्रमा कञ्चनजङ्गा टि स्टेट र मेरो व्यावसायिक यात्रा

शान्ता बास्कोटा कोइराला- निर्देशक, कञ्चनजङ्गा टि स्टेट एण्ड रिसर्च सेन्टर

नेपालमा चिया उत्पादन क्षेत्रमा म करिब २० बर्ष देखि संलग्न हुँदै आएकी छु । मेरो बुबा दीपक प्रकाश बास्कोटाले कञ्चनजंगा टि स्टेट एण्ड रिसर्च सेन्टर सन् १९८४ मा स्थापना गरेसँगै हाम्रो परिवार चिया उत्पादन क्षेत्रमा सहभागि भएको हो । मैले समाजशास्त्रमा मास्टर डिग्री गरेकी भएपनि मेरो बुबाको प्रेरणाले यस क्षेत्र (चिया उत्पादन, प्रशोधन तथा बजारीकरण)मा रहेर काम गरिरहेकी छु । अहिले आफ्नै व्यवसायमा संलग्न भई व्यवसाय प्रवद्र्धन तथा सामाजिक अभियानहरुमा सहभागि हुँदै अघी बढ्ने क्रममा मैले यस क्षेत्रबाट नै धेरै कुराहरु सिक्ने अवसर पाएकी छु । जसले गर्दा म व्यवसायमा पनि सन्तुष्ट छु । समाजशास्त्र विषयमा अध्ययन गरेकी म कसरी यस क्षेत्रमा संलग्न भइ कुशल व्यवस्थापकीय क्षमता विकास गर्न सकेँ भन्ने बारे धेरैको कौतुहलता हुने गर्छ ।

नेपालको उच्च हिमाली क्षेत्रमा उत्पादन हुने स्पेशल चिया अन्तरगत उलन टि, ह्वाइट टि, गोल्ड टि, सिल्भर टि लगायतका चियाहरु अहिले अन्तर्राष्ट्रिय बजारमा निकै चर्चामा छन् । श्रृलङ्का, चीन लगायतका देशहरुमा साधारण चिया नै बढी प्रचलनमा रहेपनि अमेरिका, युरोप लगायतमा भने फ्लेवर चियाको माग निकै नै बढेको छ । साथै चिया क्षेत्रमा नयाँ सम्भावनाहरु समेत देखिँदै गएका छन् । अहिलेको अवस्थामा जिन्जर, लेमनग्रास, ओरेन्ज पिल लगायतका विभिन्न फ्लेवरमा उत्पादन हुने चिया प्रति मानिसहरुको रुचि बढ्दो छ । हामीले पनि करिब १ दर्जन भेराइटीका चियाहरु उत्पादन तथा प्रवद्र्धन गर्दै आएका छौं ।

विगत २ दशक पहिलेको प्रशङ्गमा लागौं । त्यस समयमा नेपालका कुनै महिला पनि चिया उत्पादन तथा बजारीकरण लगायतका व्यवस्थापन कार्यमा सहभागि भएका थिएनन् । नेपालमा चिया क्षेत्रमा संलग्न भएका महिलाहरु केवल चिया टिप्ने कार्यमा मात्र सीमित थिए । त्यस बेलामा मैले यसै क्षेत्रमार्फत कसरी आफ्नो जिल्लाका महिला दिदीबहिनीहरुको अवस्थालाई माथि उठाई सम्पन्न बनाउन सकिन्छ ? यस कार्यमा मेरो भूमिका के हुन सक्छ ? भन्ने बारे आफैंले सोचखोज गरे‌ं । साथै मलाई आफ्नै जन्मभूमीको रुपमा रहेको पाँचथरबाट नै कसरी त्यहाँ उपलब्ध स्रोतको पहिचान र प्रवद्र्धन गर्दै सामाजिक रुपमा प्रतिष्ठित एवं आर्थिक रुपमा सम्पन्न भई सामाजिक दायित्व निर्वाह तथा सशक्तिकरण लगायतमा सरिक हुन सकिन्छ भन्ने सम्बन्धमा विचार गर्दै आफ्नै बुबा संलग्न रहेको क्षेत्रलाई नै नयाँ गति दिने योजना बमोजिम अघी बढेँ । मलाई लाग्छ, अहिले म आफ्नो योजनामा सफल नै छु । व्यावसायिक क्षेत्रमा पुरुषहरु मात्र नभई महिलाहरुलाई पनि संलग्न बनाउनको लागि मेरो प्रयाशले केही हद सम्म भएपनि सकारात्मक भूमिका नै निर्वाह गरेको मैले अनुभुति गरेकी छु, यसमा मलाई गर्व लाग्छ ।

चिया क्षेत्रमा संलग्न हुनुको उद्धेश्य 
नेपालमा उत्पादित चियालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा प्रवद्र्धन एवं विस्तार गर्नको लागि हामीले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्छ भन्ने मान्यता सहित सन् २००२ देखि हामीले यस क्षेत्रलाई विशेष तवरले अघी बढाएका छौं । अहिले हाम्रो परिवारका ३ दिदीबहिनी (म, मेरी बहिनी तारा बास्कोटा र अर्की बहिनी समिक्षा बास्कोटा) यसै क्षेत्रमा संलग्न छौं ।

अर्गानिक चिया उत्पादनलाई प्रोत्साहन

शुरु देखि नै नेपालमा हामीले चिया पारखीहरुको लागि लक्षित गरेर अर्गानिक अर्थोडक्स चियाको प्रवद्धनलाई विशेष महत्वको साथ अघी बढाउँदै गयौं । नेपालको उच्च हिमाली क्षेत्रमा उत्पादन हुने स्पेशल चिया अन्तरगत उलन टि, ह्वाइट टि, गोल्ड टि, सिल्भर टि लगायतका चियाहरु अहिले अन्तर्राष्ट्रिय बजारमा निकै चर्चामा छन् । श्रृलङ्का, चीन लगायतका देशहरुमा साधारण चिया नै बढी प्रचलनमा रहेपनि अमेरिका, युरोप लगायतमा भने फ्लेवर चियाको माग निकै नै बढेको छ । साथै चिया क्षेत्रमा नयाँ सम्भावनाहरु समेत देखिँदै गएका छन् । अहिलेको अवस्थामा जिन्जर, लेमनग्रास, ओरेन्ज पिल लगायतका विभिन्न फ्लेवरमा उत्पादन हुने चिया प्रति मानिसहरुको रुचि बढ्दो छ । हामीले पनि करिब १ दर्जन भेराइटीका चियाहरु उत्पादन तथा प्रवद्र्धन गर्दै आएका छौं ।

कञ्चनजंगा टि स्टेटको विशेषता 
सहकारी मोडलमा स्थापना भएको यस कञ्चनजंगा टि स्टेटको विशेषता भनेको कामदारलाई नै मालिक बनाउने अवधारणा हो । जुन सबैले रुचाएका समेत छन् । शुरुका दिनमा यो कम्पनी स्थापनाको समयमा जग्गा उपलब्ध गराउने देखि अन्य विविध रुपले सहयोग गर्नुहुने स्थानीयहरु जनताहरुको आर्थिक अवस्थालाई माथि उठाउने मान्यता बमोजिम उनीहरुको योगदानलाई शेयरमा परिणत गरी यस उद्योगबाट उत्पादन हुने चियाको लाभमा हुने मुनाफाको हिस्सेदार कामदार र स्थानीय जनता हुन सक्ने गरी व्यवस्था मिलायौं । उत्पादन क्षेत्रको लागि यो मोडल नेपालको लागि नयाँ मोडल थियो । जुन मेरो बुबाले नै विकास गर्नुभएको थियो ।

उद्योगको अवस्था 
अहिले करिब ९५ हेक्टर जग्गामा कञ्चनजङ्गा टि स्टेट सञ्चालन हुँदै आएको छ । हाल यस कम्पनीमा करिब २ सय कामदार तथा कर्मचारीहरुले निरन्तर काम गरिरहेका छन् । यसैगरी करिब ५ सय किसानहरुसँग हामीले सहकार्यमा काम गर्दै आएका छौं । ती किसानहरुले उत्पादन गरेको चियामा अर्गानिक मापदण्ड पुगेपश्चात् हामीले अर्गानिक सर्टिफाइड गरिदिएर किसानले उत्पादन गरेका हरिया पत्तिहरुलाई हाम्रो फ्याक्ट्रीबाट प्रशोधन गर्ने कार्य गर्दै आएका छौं । यसैगरी कम्पनीबाट उत्पादित चियाको बजारीकरणको लागि करिब ३० जना व्यक्तिहरुले काम गर्दै आएका छन् । कञ्चनजङ्गा टि स्टेटबाट उत्पादित चियाको प्रवद्र्धनमा साङ्ग्रिला एग्रो वल्डले अन्तराष्ट्रिय स्तरको र बास्कोटा गु्रप अफ इण्डष्ट्रिजले स्थानीय बजारलाई लक्षित गरी काम गर्दै आएको छ ।

सचेतना जागरणको निम्ति पहल गर्नु आवश्यक |
अहिले नेपालमा अर्गानिक चिया प्रयोग गर्ने बारेमा निकै कम व्यक्तिहरु मात्र जागरुक छन् । यद्यपि नेपालमा समेत अर्गानिक चिया प्रतिको क्रेज भने बढ्दो छ । खासगरी पछिल्ला केही बर्षहरुमा नेपालमा ग्रिन टिको माग निकै नै बढेको छ । यसरी स्थानीय बजारमा माग बढ्दै जानुमा समय–समयमा आयोजना गरिने मेला तथा प्रदर्शनी एवं अन्य प्रवद्र्धनात्मक कार्यक्रमहरुले पनि विशेष भूमिका खेलेको पाउन सकिन्छ ।

चियाको वर्गिकरण 
चियालाई मुख्यतः अर्थोडक्स र सिटिसी गरी २ किसिमले वर्गिकरण गरिँदै आइएको छ । अहिले नेपालमा करिब ८० प्रतिशत चिया सिटिसी नै उत्पादन हुँदै आएको छ । बाँकी २० प्रतिशत अर्थोडक्स चिया उत्पादन भए मध्ये ठूलो हिस्सा त बाहिर नै निर्यात हुँदै आएको छ । साङ्ग्रिला एग्रो वल्र्डले पछिल्लो समय नेपालबाट करिब ८–९ ओटा देशहरुमा चिया निर्यात गर्दै आएको छ ।

 
अहिले करिब ९५ हेक्टर जग्गामा कञ्चनजङ्गा टि स्टेट सञ्चालन हुँदै आएको छ । हाल यस कम्पनीमा करिब २ सय कामदार तथा कर्मचारीहरुले निरन्तर काम गरिरहेका छन् । यसैगरी करिब ५ सय किसानहरुसँग हामीले सहकार्यमा काम गर्दै आएका छौं । ती किसानहरुले उत्पादन गरेको चियामा अर्गानिक मापदण्ड पुगेपश्चात् हामीले अर्गानिक सर्टिफाइड गरिदिएर किसानले उत्पादन गरेका हरिया पत्तिहरुलाई हाम्रो फ्याक्ट्रीबाट प्रशोधन गर्ने कार्य गर्दै आएका छौं । यसैगरी कम्पनीबाट उत्पादित चियाको बजारीकरणको लागि करिब ३० जना व्यक्तिहरुले काम गर्दै आएका छन् ।

चिया उद्योगमा कामदारको समस्या 
नेपालमा चिया क्षेत्रमा काम गर्न शिक्षित व्यक्तिहरु पाउन निकै गाह्रो छ । कामदारहरु समेत सहजै पाउन नसकिने भएको कारण उत्पादन भएको चिया (ग्रिन लिफ) समेत टिप्न सकिएको अवस्था छैन । जसले गर्दा चिया पूर्ण परिमाणमा उत्पादन हुन सकेको छैन ।

कञ्चनजङ्गा टि स्टेटमा प्राविधिक जनशक्ति 
नेपालमा कञ्चनजङ्गा टि स्टेट शुरु हुँदाका दिनमा दार्जिलिङमा चिया प्रशोधन कार्यमा संलग्न प्राविधिकलाई नेपालमा ल्याई काममा लगाएको कारण उनीहरुबाट नेपालीहरुले समेत चिया उत्पादन तथा प्रशोधन सम्बन्धी कामहरु सिक्ने अवस्था सृजना भयो । अहिले भने नेपालमा चिया उत्पादन तथा प्रवद्र्धन कार्यमा संलग्न माथिल्लो तहका जनशक्ति समेत नेपाली नै छन् । तर अहिले पनि नेपालका अन्य विभिन्न चिया गार्डेनहरुमा नेपालीहरु जनशक्तिमा प्राविधिक ज्ञानको अभाव रहेको कारण विदेशी प्राविधिक जनशक्ति नै कार्यरत छन् ।

राज्यका नीतिले पारेका अप्ठ्याराहरु 
नेपालमा चिया सम्बन्धी अहिले पनि राम्रा नीतिहरु बन्न सकेका छैनन् । साथै राज्य पक्षले पनि चियाको विकास र प्रवद्र्धन कार्यमा आफ्नो भूमिका के हुने भन्नेमा समेत खासै चासो दिएको पाईंदैन । निजी क्षेत्रका समस्याहरु के छन् र राज्यले के गर्नुपर्छ भन्ने सम्बन्धमा राज्य पक्ष पनि जिम्मेवार बन्न सकेको खण्डमा मात्र हामीले नेपालमा चियाको उत्पादन बढाउन र बाहिर निर्यात गरी विदेशी मुद्रा आर्जन गर्न सहयोग पुग्नेछ ।
यद्यपि अहिले नेपालमा कर्मचारीहरुको लागि ल्याइएको सामाजिक सुरक्षा ऐन समेत चिया बगानमा काम गर्ने कर्मचारीहरुलाई उपयुक्त हुने किसिमको छैन । यसलाई अहिले नै कार्यान्वयन गर्न सकिने अवस्था पनि छैन । शहरी क्षेत्रका कामदारलाई यो नियम कार्यान्वयन गर्न सहज भएपनि ग्रामीण क्षेत्रका कामदारको लागि भने यस्ता नीतिलाई अङ्गिकार गर्न तयार छैनन् ।

राज्यले ल्याएको अहिलेको नीतिको कारण चिया निर्यातमा समेत समस्या सृजना हुने अवस्था देखिएको छ । सामाजिक सुरक्षा नीति सँगै चिया उत्पादनमा हुने लागत ४० प्रतिशत भन्दा बढीले वृद्धि हु्ने अवस्था देखिएको छ । साथै यसबाट विदेशी मुलुकका क्रेताहरु माझ हाम्रो उत्पादन निर्यात गर्नमा समस्या सृजना हुने अवस्था समेत छ । अहिले पनि नेपालको निर्यात कम छ । यस्तो अवस्थामा राज्यबाट लागु हुने नियमका कारण पर्न सक्ने असर र त्यसको उपयुक्त विकल्प बारे पनि सोच्नु जरुरी रहन्छ । तर राज्यले यसबारेमा कुनै विचार नै नगरी नीति कार्यान्वयनमा लगेको कारण अहिले नै नेपालका थुप्रै चिया उद्योगहरु बन्द भइसकेका छन् । अब तत्काल राज्यले यसबारे उपयुक्त विकल्प दिनु जरुरी छ ।

महिला उद्यमीहरुलाई सल्लाह 
म बुबाबाट प्रभावित भएको कारण यो अवस्थामा आउन सकेकी हुँ । मलाई व्यावसायिक तवरले अघी बढ्नमा मेरा श्रीमान इन्जिनियर अर्जुन कोइरालाको पनि ठूलो सहयोग छ । समाजमा कुनै महिला सफल हुनुको पछाडि परिवार र श्रीमानको पनि ठूलो हात हुन्छ । साथै पछिल्लो समय उद्यमशिल मानसिकताका महिलाहरुलाई सहयोग गर्ने मान्यता बमोजिम नेपाल सरकारले समेत विभिन्न कार्यक्रमहरु सञ्चालन गरेको छ । यस्तो अवस्थामा अब महिलाहरु पनि जाग्नुपर्ने बेला आएको छ । व्यावसायिक रुपमा अघी बढ्न चाहेको खण्डमा आफूलाई रुचि भएको क्षेत्रमा काम गर्न कुनै फर्म दर्ता गरी घरेलु तथा साना व्यवसायी महासंघको सिफारिसमा १ लाख देखि ५ लाख सम्मका कर्जा लिन सकिने अवस्था छ । अब महिला खुम्चिएर बसेर हुँदैन । सानै लगानीबाट आफूमा भएको सीपमा आधारित व्यवसायमा अघी बढ्ने हिम्मत गर्नुस् । अवश्य सफल भइनेछ । महिलालाई उत्साहित गराउन अहिले सहयोग गर्ने धेरै निकायहरु छन् । साथै हरेक व्यक्तिले आफ्नो कामलाई सानो ठूलो नभनी आफूमा भएको सीपको आधारमा व्यवसाय शुरु गर्ने र आँट तथा दृढ विश्वास हुने हो भने अवश्य पनि सफल हुन सकिन्छ । धैर्यता भने हुनुपर्छ ।

अर्गानिक एसोसिएसन नेपालकी महासचिव समेत रहेकी शान्ता बास्काेटा काेइरालासँग गरिएकाे कुराकानीमा अाधारित

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij