
नेपालीहरुको कला र कौशलता निकै पहिले देखि विशेष महत्वयुक्त रहँदै आएको छ । नेपाली वास्तुविद्हरुले प्राचीनकालमा विकास गरेका कलात्मक आकृतिहरुको महत्व अहिले पनि उत्तिकै सान्दर्भिक रहँदै आएका छन् । अहिलेको आधुनिकतामा आइपुग्दा हाम्रा पुरातात्विक कलाकौशलताको महत्व अझ बढ्दै गएको छ । यद्यपि आगामी दिनमा यस्ता कलात्मक क्षेत्रमा काम गर्ने व्यक्तिहरुलाई प्रोत्साहित गर्न र सोहीबमोजिम दक्षताको पूर्ण उपयोग एवं क्षमतावान् व्यक्तिहरुको कार्यक्षमतालाई थप प्रभावकारी बनाउनको लागि राज्य पक्षबाट भने खासै पहल हुन सकेको पाईंदैन ।
आर्किटेक्चर क्षेत्रमा सम्भावना
पछिल्लो समय आर्किटेक्चर क्षेत्र विशेष चर्चाको विषय बनेको छ । कला, सीप र क्षमतामा आधारित यस क्षेत्रको अध्ययन गर्ने व्यक्तिहरुको सङ्ख्या पछिल्ला बर्षहरुमा बढ्दै गएको छ । पछिल्लो समय वास्तु प्रति साधारण मानिसहरुमा समेत चासो बढ्दै गएको अवस्था छ । दिगो महत्वका कुनै पनि योजनालाई व्यवस्थित तवरले सम्पन्न गरी कम लागतमा सम्पन्न गर्न र राम्रो लाभ लिनको लागि आर्किटेक्टर क्षेत्रले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ ।
नेपालमा आर्किटेक्चरको सम्भावना
नेपाल आफैंमा प्राकृतिक रुपमा नै सुन्दरतम देश हो । नेपालमा आर्किटेक्चर क्षेत्रको सम्भावना निकै राम्रो छ । नेपालमा पराम्परागत समय देखि नै वास्तुमा आधारित आकर्षक र कलात्मक वस्तुहरुको उत्पादन हुँदै आएको भएपनि पछिल्लो समय भने नेपालमा यस क्षेत्रलाई राम्रो तवरले बुझ्न र राज्यले प्राथमिकता दिन नसकेको कारण यो क्षेत्रले जुन राम्रो तवरले गति लिनुपर्ने थियो, त्यो लिन सकेको छैन । वास्तुलाई पर्यटनसँग जोड्ने हो भने मुलुकको अर्थोपार्जनको लागि यो राम्रो क्षेत्र बन्न सक्छ । आगामी दिनमा भने नेपालको प्राकृतिक भएको पर्यटन क्षेत्रलाई अझ विस्तार गर्दै नेपालको प्राकृतिक सौन्दर्यतालाई अझ राम्रो तवरले अघी बढाउनको निम्ति पहल गर्नुपर्ने आवश्यकता छ ।
नेपालमा वास्तु अभ्यास
नेपालमा अहिले वास्तु सम्बन्धी २ किसिमले कार्य हुँदै आएको छ । एकातिर औपचारिक रुपमा आर्किटेक्चर विधाको अध्ययन गरेका वास्तुविद् छन् भने अर्कोतिर आध्यात्मिक आस्थामा आधारित वास्तुशास्त्रीहरुले समेत वास्तु परामर्शदाताको रुपमा काम गर्दै आएका छन् ।
वास्तुको उत्पत्ति
वास्तुशास्त्रको उत्पत्ति दक्षिणी भारतबाट भएको हो । यो आफैंमा पूर्णतया वैज्ञानिक समेत मान्न सकिन्छ । नेपाल लगायतका उत्तरी क्षेत्रमा पनि दक्षिणकै भौगोलिक परिस्थिति बमोजिम वास्तु अभ्यास गरिँदा केही त्रुटिहरु पनि आउन सक्छन् । वास्तुलाई हिन्दू धर्मले पनि विशेष महत्व महत्व दिएको छ । यद्यपि विगत भन्दा अहिले वास्तु प्रति आकर्षित हुने नेपालीहरुको सङ्ख्या बढ्दै गएको भएपनि जुन तवरले वास्तु अभ्यास हुनुपर्ने हो, त्यो भने हुन सकेको छैन । नेपालको अवस्थामा वास्तुका सिद्धान्तहरु अहिले पूर्ण रुपमा लागु गर्न सकिने अवस्था पनि छैन । साथै नेपालका प्रशासनिक भवनहरुमा समेत वास्तु सिद्धान्तलाई अवलम्बन गरिएको पाईंदैन ।
वास्तु अन्तरगत जल, तेज, वायु, आकाश, पृथ्वी लगायतका पञ्च तत्वहरुलाई कसरी सुव्यवस्थित तवरले अभ्यास गर्ने भन्ने कुरामा नै ध्यान दिइएको पाइन्छ । नेपालमा पछिल्लो समय भने चीनमा विकास भएको फेनसुई र भारतबाट विकास भएको वास्तुशास्त्रलाई मिलाएर नेपालमा सोही बमोजिमको वास्तु अभ्यास हुँदै आएको पाईन्छ । नेपालमा अहिलेको अवस्थामा वास्तुलाई मानिसहरुले नयाँ चासोको साथ लिइएको र यसबाट घरमा शान्ति र खुसियाली छाएको भन्ने सुन्न पाईन्छ ।
आर्किटेक्टको पहिचान आवश्यक छ
नेपालमा अहिले सम्म पनि आर्किटेक्टको राम्रो पहिचान भने स्थापना हुन सकेको छैन । यसैकारण हामी अहिले सम्म पनि नेपालमा आर्किटेक्टहरुको पहिचान स्थापनाको लडाईंमा नै लागिरहनुपरेको छ । नेपालमा अहिलेको अवस्थामा पनि राज्यले वास्तुविद्हरुलाई सामान्य इन्जिनियरको रुपमा नै बुझ्दै आएको छ । वास्तवमा इन्जिनियर र आर्किटेक्ट एउटै होइनन् । नेपालका आर्किटेक्टहरुलाई राज्यले काम गर्नको निम्ति जुन किसिमको नीतिगत व्यवस्था गर्नुपर्ने हो, त्यो समेत हुन सकेको छैन ।
काठमाडौं शहर आफैंमा निकै राम्रो वातावरण भएको शहरको रुपमा समेत चिनिन्छ । घर निर्माणको क्रममा सबै पक्षलाई विचार गर्न सकेको खण्डमा घरमा पङ्खा समेत चलाउनुपर्ने अवस्था छैन । उपयुक्त तापक्रम, प्रकाशको उपयुक्तता, भौगोलिक अवस्थिति, वातावरण लगायतको दृष्टिकोणले समेत यो क्षेत्र निकै उपयुक्त छ । नेपालमा अहिलेको अवस्थामा पनि यस क्षेत्रलाई राम्रो तवरले व्यवस्थापन गर्न सकेको खण्डमा यस क्षेत्रको अवस्था प्रकृति अनुकुल नै छ ।
नेपालमा अहिलेको अवस्थामा काठमाडौंका घरहरुलाई कसरी राम्रो तवरले निर्माण गर्ने भन्ने सम्बन्धमा जुन किसिमले अभ्यास हुँदै आएको छ, यसले मात्र राम्रो तवरले घरहरु निर्माण हुन सक्ने अवस्था छैन । काठमाडौं लगायतका शहरी क्षेत्रमा निर्माण हुने घरहरुलाई व्यवस्थित तवरले निर्माण गर्न र शहरलाई व्यवस्थित बनाउनको निम्ति यस कार्यको जिम्मेवारी आर्किटेक्टलाई दिनुपर्ने भएपनि नेपालमा अहिले सम्म यसमा ध्यान दिइएको छैन । नेपालमा अहिले पनि शहरी क्षेत्रका अधिकांश ठूला विजनेश भवनहरु समेत इन्जिनियरहरुबाट मात्र डिजाइन भइरहेको छ । इन्जिनियरिङ कोर्षको तुलनामा ५ बर्षको फरक कोर्षको रुपमा रहेको आर्किटेक्चर अध्ययन गरेपश्चात् सम्बन्धित व्यक्ति यस क्षेत्रको बारेमा राम्रो जानकारी हासिल गर्न सक्ने अवस्थामा रहन्छन् । तर नेपालमा भने यस कुरालाई राम्रो तवरले ध्यान दिन सकिएको छैन ।
नेपालमा अहिलेको अवस्थामा आर्किटेक्टबाट घर निर्माण गरेको अवस्थामा त्यसले पार्ने प्रभाव दिगो रुपमा निकै अनुकुल हुने कुरामा स्वयं ग्राहकहरु समेत सचेत भइसक्नुभएको छ । घर निर्माणको क्रममा एउटा भ¥याङ बनाउँदा मात्रै पनि आर्किटेक्टले बनाउने र इन्जिनियरले बनाउने क्रममा शुरुमा खासै फरक महसुस नभएपनि प्रयोग गरेको एक–डेढ बर्षमा नै सेवाग्राहीले त्यसको फाइदाको बारेमा जानकारी हासिल गर्न सक्नुहुन्छ ।
हामीले कुनै काम गर्ने क्रममा त्यसको पूर्णतामा विशेष चासो राख्नुपर्छ्र भन्नेमा हामी विशेष सचेत छौं । हामीले देख्दा सामान्य लाग्ने कुराहरुमा समेत विशेष चासो राखेर काम गर्ने भएको कारण त्यसले राम्रो प्रभाव पार्ने गर्छ । कुनै भर्याङ निर्माणको क्रममा त्यसले राम्रो प्रभाव पारेको खण्डमा मात्र हाम्रो काम सफल हुन सक्छ ।
भारत र नेपालमा फरक
पञ्च तत्वहरुलाई आधार मानेर प्रयोगमा आधारित वास्तु विधा नेपालमा व्यापक रुपमा प्रयोगमा आएको लामो समय भएको छैन । मन्त्रबाट शान्ति, पिरामिड लगायतका यन्त्रको प्रयोग गर्ने कार्य वास्तुशास्त्रीहरुबाट समेत हुँदै आएको छ । आधुनिक वास्तुविद्हरुले समेत आफूले डिजाइन गरेका घरहरु वास्तुशास्त्रीबाट परामर्श लिएर मात्र उपयुक्त भएको खण्डमा काम अघी बढाउने वा केही सच्याउनुपरे वास्तुशास्त्रीको सल्लाह बमोजिम गर्ने काम समेत भइरहेको छ । यद्यपि वास्तुविद् र वास्तुशास्त्री बीच आपसी अन्तरसम्बन्ध स्थापना गर्ने सम्बन्धी विशेष कार्यशाला गोष्ठी तथा अन्तरक्रिया भने खासै आयोजना भएको पाईंदैन ।
वास्तुविद् र वास्तुशास्त्री बीचको अन्तरसम्बन्ध
वास्तुशास्त्रीको रुपमा अहिले माधव मंगल जोशी विशेष चर्चामा हुनुहुन्छ । वास्तुविद् र वास्तुशास्त्री बीच नेपालमा राम्रो अन्तरसम्बन्ध रहँदै आएको छ । वास्तु सम्बन्धी कुनै काम अघी बढाउने क्रममा वास्तु पक्ष बारे कुनै परामर्श लिनुपरेको खण्डमा मैले पनि ऊहाँबाट नै परामर्श लिने गरेकी छु । यद्यपि नेपालमा अहिले पनि निर्माण हुने ठूला व्यावसायिक भवनहरुमा समेत वास्तु पक्षलाई भने खासै विचार गरिएको पाईंदैन । यसैगरी औपचारिक शिक्षामा आधारित आर्किटेक्टहरुको सङ्ख्या नेपालमा अहिले २ हजार भन्दा बढि सङ्ख्यामा छ ।
घर निर्माणमा बढ्दो आकर्षण, राज्यको बाध्यकारी नीति आवश्यक छ
नेपालमा अहिले मुख्य राजधानी शहरको रुपमा रहेको काठमाडौंमा देशभरका अधिकांश नेपालीहरुको आकर्षण बढ्दो छ । पछिल्लो ८–१० बर्षमा काठमाडौंमा घर बन्ने क्रम समेत निकै नै बढेको छ । आफुसँग भएको जग्गामा खेतीपाती गर्नुभन्दा घर बनाएको खण्डमा राम्रो आर्थिक लाभ हुने अवस्था रहेको कारण अहिले काठमाडौंमा जुन रुपमा शहरीकरण हुनुपर्ने हो, त्यस बमोजिम निर्माण नभई अत्यधिक धेरै मात्रामा घरहरु निर्माण भएको कारण यसको स्वरुप समेत बिग्रिएको छ । आगामी दिनमा यसलाई व्यवस्थित गर्नको निम्ति राज्यले बाध्यकारी नीति ल्याउनुपर्ने आवश्यकता समेत देखिन्छ ।
पूर्वाधार निर्माणमा मापदण्डको भएन परिपालना
कतिपय अवस्थामा त दुइओटै घरको पनि एउटै साझा पिलर समेत हुने गरेको छ । यसले थप समस्या निम्त्याउन सक्छ । जुन राज्यको नीतिसँग समेत जोडिनुपर्ने विषय हो । साथै काठमाडौं उपत्यकामा नयाँ निर्माण हुने शहरी क्षेत्रहरुमा कम्तीमा ६ मिटरको बाटो हुनुपर्ने व्यवस्था गरिएको छ । यद्यपि ३ मिटर र ४ मिटरका बाटोमा घर निर्माणको लागि पनि नक्सा पास भइरहेको छ । यस्तो व्यवस्थाबाट कतै अहिले पनि खुकुलो किसिमले नै जग्गा पास गराइदिएर पछि डोजरले घर भत्काउन पाइने दाउमा नै राज्य पक्ष त छैन भन्ने प्रश्न पनि खडा भएको छ । राम्रो तवरले अहिले घर निर्माणमा विचार नगरी पछि आउन सक्ने समस्या र आर्थिक नोक्सानीमा समेत अहिले नै विचार गर्नुपर्ने आवश्यकता समेत छ ।
मानवीय गतिविधिको प्रभाव वातावरणमा
नेपालको जङ्गललाई चारकोणे झाडीको रुपमा समेत चिनिन्छ । तर अहिले सम्म आइपुग्दा हाम्रो यो पहिचान नै मासिइसकेको छ । आगामी दिनमा यस कुरामा पनि विचार गर्दै सोही बमोजिमका संरचना निर्माणमा ध्यान दिनुपर्छ । अहिले नेपालको वातावरण निकै नै परिवर्तन भइसकेको छ । फूल फुल्ने मौसम परिवर्तन भएको छ । समयमा कि त पानी नै पर्दैन कि त अधिक पर्छ । यी कुराहरुमा परिवर्तन हुनुको पछाडि हामीले निर्माण गरेका कृत्रिम संरचनाले प्राकृतिक वातावरणमा पारेको प्रभाव पनि एक मुख्य कारणको रुपमा रहेको छ । यस्तो अवस्थामा नयाँ संरचना निर्माण गर्दा आर्किटेक्टले पनि विशेष विचार गर्नुपर्छ । हामीले दिगो विकासलाई पनि विचार गर्दै आगामी विकासमा हामी केन्द्रित हुनुपर्छ । आगामी दिनमा हाम्रा शहरी क्षेत्रमा खालि खुल्ला ठाऊँ भेट्न निकै नै समस्या बन्दै गएको छ । यस पक्षलाई पनि विचार गर्दै हाम्रो आगामी विकास अघी बढाउनुपर्छ ।
युवा जनशक्तिको परिचालनमा जोड दिनु आवश्यक
पछिल्ला बर्षहरुमा सीप र क्षमताको महत्व अझ बढ्दै गइरहेको छ । कुनै विषयवस्तुको गहिरो ज्ञान भएका व्यक्तिहरुको लागि नेपालमा राम्रो सम्भावना छ । सामान्य काम गरी जीविकोपार्जनको लागि नै विदेशिनुपर्ने अवस्था अहिले छैन । नेपालमा नै रहेर काम गर्ने चाहना भएका व्यक्तिहरुको लागि पनि नेपालमा राम्रा अवसरका ढोकाहरु खुलेका छन् । यद्यपि नेपालमा नै प्रयाप्त अवसरहरु छन् भन्ने कुरामा नेपाली युवाहरुलाई जागरुक बनाउन भने सकिएको छैन । आगामी दिनमा नेपालमा नै सम्भावना रहेका तर खासै चर्चामा आउन नसकेका सीपमा आधारित क्षेत्रलाई विशेष प्राथमिकता दिनु जरुरी छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij