
नेपालबाट बाहिर तरकारी निर्यात गर्ने क्रममा भारत सँगको प्रतिष्पर्धा ठूलो चुनौती बनेको छ । भारतले निर्यात प्रवद्र्धनमा राज्य पक्षबाट नै निकै ठूलो सहयोग पाउँदै आएको छ । तर नेपालमा यस्तो व्यवस्था छैन । नेपाल सरकारको समेत साथ हुने हो भने हामीले नै दैनिक १० टन कृषि उत्पादन विदेशमा निर्यात गर्न सक्छौं । अहिले हामीले कतारलाई लक्षित गरी यी उत्पादनहरु निर्यात गर्दै आएका छौं । वहराइन लगायतका छिमेकी मुलुकहरुले कतारलाइ सहयोग उपलब्ध नगराएको अवस्थामा कतारमा तरकारीको निर्यातमा हामीले राम्रो सम्भावना देखेका छौं । हाल ४ जनाको सामुहिक पहलमा तरकारी विदेश निर्यातमा हामी सक्रिय बनेका हौं । हामीले तरकारी निर्यातको पहल शुरु गरेपश्चात् अन्य युवाहरु पनि यस कार्यमा जागरुक बनेको हामीले पाएका छौं ।
उत्पादन वृद्धिमा जोड दिनु आवश्यक 
अहिले पनि कृषि क्षेत्र बुढाबुढीहरुको भरमा नै छोडिएको छ । अहिले अधिकांश युवापुस्ता सहज माध्यमबाट पैसा कमाउने चाहनामा छन् । यसैकारण उनीहरु आफूभित्र के क्षमता र सम्भावना छ भन्नेमा केन्द्रित नभई सिधै विदेशिएका छन् । नेपालमा भएकाहरु समेत विभिन्न अनुत्पादक क्षेत्रमा केन्द्रित छन् । यद्यपि नेपालमा नै रहने क्रममा पनि यदि हामील उत्पादक क्षेत्रमा केन्द्रित हुने हो भने नेपालमा नै आर्थिक अवस्था माथि उठाउन र दिगो लाग प्राप्त गर्न सकिने अवस्था सृजना हुन सक्छ ।
नेपालमा अहिलेको अवस्थामा सम्भावना रहेका क्षेत्रहरुम यहीँ नै काम गर्ने र सम्भव नहुने वस्तुहरु मात्र हामीले विदेशबाट आयात गर्ने परिपाटी विकास गर्नु जरुरी छ । यसो हुन सकेको खण्डमा नेपाललाई आत्मनिर्भर बनाउँदै मुलुकको विकासको अवस्थालाई अझ माथि उठाउन निकै सहज हुनेछ ।
उद्यमशिल सोच भएकालाई काम गर्ने वातावरण निर्माण हुनु जरुरी
उत्पादनमूलक क्षेत्रमा युवाहरु आकर्षित नहुनुमा नेपाल सरकारको समेत कमजोर्री छ । नेपाल सरकारले पनि अहिले सम्म उत्पादन क्षेत्रलाई विशेष प्राथमिकतामा राखेको पाईंदैन । जसले गर्दा नेपालमा नै रहेर उद्यमशिल सोच भएका व्यक्तिहरु समेत यहाँको वातावरणमा रहेर जोखिम वहन गरेर काम गर्न चाहँदैनन् । बरु उनीहरु विदेश गई कुनै झण्झट नलिई सहज रुपमा आफ्नो र परिवारको जीविकोपार्जन गर्ने चाहना राख्छन् । यसो हुनुमा राज्यले नेपालमा नै रहेर काम गर्ने सोच भएका व्यक्तिहरुलाई लक्षित गरी सोही बमोजिम उचित तवरले आवश्यक लगानी, पुर्वाधार, प्रविधि तथा अन्य आवश्यक सहयोग तथा हौसला उपलब्ध नगराउनु र उत्पादन वृद्धि भएमात्र मुलुकले दीर्घकालिन लाभ लिन सक्ने कुरालाई विशेष महत्व नदिनु हो । सोहीकारण अबका दिनमा युवा जनशक्तिलाई विशेष स्थान दिनु जरुरी छ ।
कृषि प्रविधि भित्र्याउनमा जोड दिउँ
मुलुकको उत्पादन वृद्धिको लागि यहाँ सम्भव भएका कुराहरुमा पूर्ण रुपमा हामीले यहीँकै स्रोतहरुको आधारमा हाम्रा गतिविधिहरु सञ्चालन गर्ने र सम्भव नभएका क्षेत्रहरुमा विदेशी कच्चा पदार्थ एवं प्रविधि भित्र्याउनको लागि समेत विशेष ध्यान दिँदै हाम्रा गतिविधिहरु अघी बढाउनु निकै महत्वपूर्ण हुने गर्छ । उत्पादन वृद्धि हुन सकेको खण्डमा मात्र नेपालमा पनि ठूलो परिमाणमा रोजगारी सृजना गर्न सकिने अवस्था रहन्छ । यस्तो कुरालाई मनन गर्दै राज्यले आफ्नो तर्फबाट उपलब्ध गराउनुपर्ने सुलभ कर्जा तथा अनुदान एवं प्र्राविधिक सहयोग लगायतका सहयोगहरु उपलब्ध गराउँदै सामुहिक लगानी अवधारणालाई थप प्रोत्साहित गरी कृषि क्षेत्रका जागरुक युवा एवं शैक्षिक जनशक्तिलाई आकर्षित गर्नु जरुरी छ । यस्ता जनशक्ति कृषि क्षेत्रमा संलग्न भएको खण्डमा उत्पादन वृद्धिमा समेत उल्लेख्य सफलता हासिल गर्न सहज हुनेछ ।
उत्कृष्ट छन् नेपाली कृषि उत्पादन
अहिले पनि नेपालमा हामीले उत्पादन गर्ने कृषि उत्पादनको गुणस्तर विदेशी बजारको लागि राम्रो छ । बाहिरबाट हेर्दा आकर्षित नभएपनि हाम्रा उत्पादन स्वस्थकर र स्वादिला भएका कारण आगामी दिनमा नेपालमा उत्पादित तरकारीहरुको बजार माग बढ्ने सम्भावना अझ राम्रो देखिएको छ । यद्यपि अबका दिनमा राज्यले नै निर्यातलाई लक्षित गरी उत्पादन बढाउनको लागि कृषि क्षेत्रलाई प्राथमिकतायुक्त क्षेत्रमा राखेर काम गर्ने सहज वातावरण तयार गर्नु जरुरी छ ।
|उच्च हिमाली कृषि उत्पादनको माग उच्च
बाह्य बजारमा नेपालको उच्च चिसो हिमाली भेगमा उत्पादन भएका कृषिजन्य वस्तुहरुको माग निकै उच्च छ । साथै यस्ता उत्पादनहरुमा उच्च मूल्य कायम गरेर समेत विक्री गर्न सकिने अवस्था रहन्छ । हुनतः अहिले टर्की तथा भारत लगायतमा उत्पादित तरकारी आकर्षित देखिन्छन् । तर गुणस्तरीय भएको कारण नेपालका हिमाली चिसो क्षेत्रमा उत्पादन भएका वस्तुहरु विदेशीहरुले निकै नै रुचाएका छन् । यद्यपि अहिले नेपालमा उत्पादन कम छ । एकपटकमा दैनिक न्यूनतम ५ टन सम्म वा सो भन्दा बढी परिमाणमा तरकारीहरु निर्यात गर्न सकेको खण्डमा यसबाट किसानहरुले समेत राम्रो आर्थिक उपार्जन गर्न सक्ने अवस्था देखिएको छ ।
विचौलियाविहीन कृषि बजारीकरणको अवधारणा
अहिलेको अवस्थामा कृषि क्षेत्रमा समेत विचौलिया निकै ठूलो समस्या बनेको छ । हामी प्रत्यक्ष रुपमा किसानहरु सँगै जोडिएर ऊहाँहरुको उत्पादन सिधै हामी मार्फत निर्यात गरी किसानलाई राम्र्रो मुनाफा दिने चाहनामा भएपनि अहिलेको बजार अवस्थामा हामीलाई यसरी किसानबाट सिधै लिई निर्यात गर्ने कार्य समेत त्यति सहज नभएको हामीले पायौं । यद्यपि दीर्घकालिन रुपमा भने हामी आफैंले सबै तरकारीहरु सङ्कलन गर्नेछौं ।
|राज्यबाट हुनुपर्ने अनुदान तथा पहल
अहिले नेपालमा उत्पादन भएका वस्तुहरु प्रतिष्पर्धी दरमा निर्यात गर्न ाज्यले ३० देखि ४० प्रतिशत अनुदान दिनु जरुरी रहन्छ । यसको लागि राज्यले व्यावसायिक कृषिको लागि ३÷४ सय रोपनी क्षेत्रफलमा कृषि गर्न सकिने अवस्था सृजना गर्नु जरुरी छ । यसबाट दैनिक एउटै फार्मबाटै हजार देखि पन्ध्र सय किलो तरकारी उत्पादन गर्न सकिने अवस्था बनोस् । यस्ता थुप्रै फार्महरु नेपालमा सञ्चालन गर्नका निम्ति किसानहरुलाई कसरी प्रोत्साहित गर्नुपर्ने हो, त्यो काममा सरकारले विशेष भूमिका निर्वाह गर्नुपर्छ । यसको अलावा अहिले कृषि क्षेत्रको लागि निकै ठूलो अनुदान रकम खर्च गरिएको छ, यसरी खर्च गरिने अनुदान रकम कति सही उपयोग हुन सकेको छ भन्ने सम्बन्धमा पनि राज्यले विशेष ध्यान केन्द्रित गर्नु जरुरी छ । कतै यसरी कृषि सम्बन्धी काम गर्ने केही प्रोजेक्टहरुले गलत तवरले राज्य कोष आफ्नो पक्षमा त पारिरहेका छैनन् ? यसमा पनि विचार गर्नु जरुरी छ । 
वास्तविक कृषक पहिचान आवश्यक |
यदि वास्तविक किसानहरुले अहिलेको अनुदान पाउने हो भने यसबाट नेपालको कृषि क्षेत्रको अवस्था निकै नै कायापलट भइसकेको हुने थियो । यसको अलावा नेपालमा निर्यात गर्ने व्यवसायीलाई समेत सहुलियत दिनु जरुरी छ । चीनले इन्सेन्टिभ १७ प्रतिशत सम्म दिएको छ । नेपालमा भने अहिले पनि व्यवस्था हुँदाहुँदै पनि यसको सही तवरले प्रयोग नगरी कागजपत्र मात्र मिलाएर रकम लिएको कारण हाम्रो अवस्था माथि उठ्न सकेको छैन । यसरी सही किसानको पहिचान भई उनीहरुले सहुलियत पाएको खण्डमा नेपाली उत्पादनलाई समेत विदेशी कम्पनीहरुसँग प्रतिष्पर्धा गर्न कठिन हुँदैन । यसको साथै सरकारबाट सेवा लिने क्रममा सामान्य कृषकहरुलाई कागजपत्र मिलाउने काम झण्झटिलो बनाइनु हुँदैन ।
साथै नेपालमा अहिले निर्यातको तुलनामा आयात गर्ने व्यक्तिहरुले राम्रो नाफा कमाइरहेका छन् । यद्यपि आयात गर्दा त्यसले मुलुकको अवस्थालाई माथि उठाउनको लागि ठूलो भूमिका निर्वाह गर्न सक्दैन । साथै आफैं उत्पादन गर्दा ठूलो मात्रामा विभिन्न तहमा रोजगारी उपलब्ध समेत हुन सक्छ ।
हाम्रो आगामी योजना |
अहिले हाम्रो कार्यालय सातदोबाटोमा छ । अब हामी ग्रामीण क्षेत्रमा केन्द्रित हुँदैछौं । हामीले किसानलाई सहज तवरले हामीसँग कारोबार गर्नको लागि चरिकोटमा शोरुम तथा स्टोर निर्माण गरी त्यहाँबाट बजारीकरण गर्ने योजना बनाएका छौं । मल, बिउ विक्री, ट्याक्टर, कुटो कोदालो विक्री, कृषि उत्पादन संकलन तथा कृषि ऋण उपलब्ध गराउने लगायतका सबै कामहरु हामीले नै गरी ढुक्क तवरले कृषि वस्तुहरु उत्पादनको निम्ति किसानहरुलाई परिचालन गर्ने सम्बन्धी हामीले विशेष कार्यक्रम सञ्चालन गर्न लागेका छौं । यसबाट किसान बजार बारे निश्चिन्त हुँदै आफ्नो उत्पादनमा केन्द्रित भए पुग्ने अवस्था सृजना हुनेछ । यस्ता कार्यक्रम अन्य जिल्लाहरुमा समेत राज्य मातहत नै सञ्चालन हुनु जरुरी देखिन्छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij