
सही परामर्श उपलब्ध हुन सकेको खण्डमा मानिसलाई गलत प्रवृत्तिबाट राम्रो अवस्थामा फर्काउन सकिँदोरहेछ भन्ने निष्कर्षमा पुगेर नै राणाले सक्षम नेपाल सुधार केन्द्र सञ्चालन गरेका हुन् ।
तेज शमशेर राणा पर्साको एक मध्यम परिवारमा जन्मिएका व्यक्ति हुन् । सक्षम नेपाल सुधार केन्द्र सञ्चालन गर्दै आएका उनी हाल सामाजिक जनचेतना विस्तार कार्यमा निरन्तर संलग्न रहँदै आएका छन् । राणाले विगत १० बर्ष देखिे सक्षम नेपाल सुधार केन्द्र सञ्चालन गर्दै आएका छन् ।
विगतमा आफू पनि लागु औषध प्रयोगकर्ताको रुपमा परिचत राणा परिवारको सहयोगमा सुधार केन्द्रमा बसे पश्चात् लागु औषधबाट मुक्त बन्न सफल भए । लागु औषधको प्रयोग अत्यधिक बढाउँदै गएका राणाको स्वास्थ्यमा जुनसुकै बेला जस्तोसुकै घटना पनि हुन सक्ने कुरालाई लक्षित गरेर परिवार र आफन्तहरुले सुधार केन्द्र पठाएको कारण आफू अहिलेको अवस्थामा आउन सकेकोमा राणा गर्व गर्छन् । आफू करिब १८ महिना सुधार केन्द्रमा रहँदा उनको जीवनले नयाँ मोड लियो । यसको साथै आफूमा सुधार भएको घटनामा लागु औषधमा फसेका अन्य व्यक्तिलाई समेत सुधार गर्ने कार्यमा उत्प्रेरित हुन पुगे । सही परामर्श उपलब्ध हुन सकेको खण्डमा मानिसलाई गलत प्रवृत्तिबाट राम्रो अवस्थामा फर्काउन सकिँदोरहेछ भन्ने निष्कर्षमा पुगेर नै राणाले सक्षम नेपाल सुधार केन्द्र सञ्चालन गरेका हुन् ।
कस्तो संस्था हो सक्षम नेपाल सुधार केन्द्र ?
लागु औषध, मद्यपान, दुव्र्यसन एवं कुलतमा फसेका व्यक्तिहरुलाई सुधार्ने उद्धेश्यले सञ्चालन भएको सक्षम नेपाल सुधार केन्द्र हाल मुड्खु भन्ज्याङ (ओशो तपोवन नजिकै) सञ्चालनमा छ । यस संस्थाले कुलत र दुव्र्यसनमा परेका व्यक्तिहरुलाई मनोवैज्ञानिक परामर्श, सोचविचार, खानपिन एवं लाइफस्टाइलमा परिवर्तनको माध्यमबाट बाटो विराइ विकृत अवस्थामा पुगेका व्यक्तिहरुलाई सही ट्रयाकमा ल्याउन सहयोग गर्दै आएको छ ।
हाल राणा नेतृत्वमा सञ्चालित सक्षम नेपालमा ५० जना व्यक्तिलाई सुधारको निम्ति राख्ने क्षमता भएपनि अत्यधिक चापको कारण हाल एकपटकमा करिब ७० व्यक्तिहरुले त्यस संस्थाबाट सेवा लिइरहेका छन् । लागु औषध प्रयोगकर्तालाई सुधार्दै सही बाटो दिनको लागि सक्षम नेपालमा हाल ११ जना व्यक्तिहरु निरन्तर संलग्न रहँदै आएका छन् ।
राणाको जीवनमा आएका मोडहरुः
१०-११ बर्षको कलिलो उमेरमा नै लागुऔषध एवं दुव्र्यसनीमा फसेका राणाले पढ्ने, लेख्ने र नयाँ कुरा सिक्ने उमेर लागु औषध प्रयोगमा नै बिताए । जसले गर्दा समाजलाई विभिन्न परिस्थितिबाट बुझ्ने र घुलमिल हुने अवसर मिलेन । करिब १७ बर्ष लगातार लागु औषध प्रयोग गरिरहँदा उनको साथमा रहेका अन्य थुप्रै व्यक्तिहरु पनि लागु औषध प्रयोगमा नै जोडिए । यद्यपि समयक्रम र परिस्थितिले नयाँ मोड लिँदै जीवनचक्रको तेस्रो दशकमा आफूलाई पूर्ण रुपमा सुधार गर्दै सामाजिक व्यक्तित्वको रुपमा आफूलाई स्थापित गर्न सफल भएका छन् । जीवनका तीतामिठा अनुभवलाई समेटेका राणा हाल सुधार केन्द्र सञ्चालन गरेर हजारौं व्यक्तिलाई नयाँ जीवन दिएका छन् ।
कुनै पनि व्यक्तिको जीवनलाई नयाँ मोड दिने कार्य त्यति सहज अवश्य हुँदैन । यद्यपि निरन्तरको पहलले असम्भव लाग्ने काम पनि सम्भव हुँदो रहेछ भन्ने सन्देश प्रवाह गर्न समेत हाल राणा एक प्रेरक व्यक्तिको रुपमा सुपरिचित छन् ।

राज्यबाट आफूले कुनै पनि अपेक्षा नगरेका राणा राज्यले सामाजिक दायित्व निर्वाह गर्ने उद्धेश्यले स्थापना भएका संस्थाहरुलाई काम गर्न सहज वातावरण बनाइदिन आग्रह गर्छन् । साथै नेपालमा पछिल्लो समय थुप्रै युवा जनशक्ति राष्ट्रमा उद्यमशिल र शिक्षित बन्नुपर्ने अवस्थामा गलत बाटोमा लाग्ने क्रम बढ्नु दुखद र चिन्ताको विषय रहेको बताउँदै यसलाई न्यूनीकरण गर्नको लागि राज्य मातहत समेत प्रभावकारी जनचेतनामूलक कार्यक्रमहरु सञ्चालन गर्नुपर्ने राणाको धारणा छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij