नेपालमा इन्जिनियरिङ क्षेत्रको निकै राम्रो सम्भावना छ । म यस क्षेत्रमा रहेर काम गर्ने क्रममा यस क्षेत्रका विविध पक्षलाई नजिकबाट बुझ्ने अवसर समेत पाएको छु । मलाई पहिले देखि नै भवन निर्माण लगायतको क्षेत्रमा काम गर्न निकै नै रुचि लाग्ने गर्दथ्यो । त्यसैकारण मैले यो क्षेत्र नै रोजेको हुँ । मलाई घरपरिवारबाट समेत यस क्षेत्रमा काम गर्न सहज वातावरण सृजना भयो । मेरो बुबा आफैं पनि इन्जिनियर नै हुनुहुन्थ्यो । त्यसकारण पनि मलाई इन्जिनियरिङ क्षेत्रमा आउन सहज भएको हो ।
हाम्रो यो कम्पनी वि.सं २०५९ मा स्थापना भएको हो । मेरो बुबाले शुरु गर्नुभएको यस व्यवसायमा म अध्ययन पूरा गरेपश्चात् प्रवेश गरेको हुँ । खासगरी हाम्रो यस कम्पनीले बिल्डिङ डिजाइन, कन्स्ट्रक्सन, सुपरभिजन, सर्भे, रेट्रोफिटिङ लगायत भवन निर्माण तथा परामर्श लगायतको निम्ति काम गर्दै आएको छ ।
म यस क्षेत्रमा करिब १० बर्ष देखि संलग्न रहने क्रममा अहिले यस क्षेत्रमा ग्राहकहरुको चाहनामा समेत परिवर्तन आएको पाएको छु । मानिसहरुको चासो अहिले भवन निर्माणमा मात्र नभई त्यसलाई कसरी राम्रो तवरले सजाउन सकिन्छ भन्नेमा समेत निकै जागरुक बनेको अवस्थामा नेपालमा आर्किटेक्चर क्षेत्रमा समेत राम्रो सम्भावना छ ।
यसकारण आर्किटेक्टलाई जिम्मेवारी दिइनुपर्छ ः
घर निर्माणको क्रममा आर्किटेक्टलाई कामको जिम्मेवारी दिने हो भने घरलाई कम

खर्चमा नै विशेष सजावटपूर्वक राम्रो तवरले सम्पन्न गर्न सकिन्छ । अहिले यो कुरा नेपालको शहरी क्षेत्रका अधिकांश मानिसहरुले बुझिसकेका छन् । आर्किटेक्ट कोर्ष नै इन्जिनियरिङ अन्तरगत अध्ययन हुने भन्दा निकै धेरै विषयवस्तुहरुलाई समेटेर तयार गरिएको हुनाले उक्त कोर्ष अध्ययन पश्चात् धेरै विषयवस्तुहरुका जानकारी हुने गर्छ ।
घरलाई कसरी आकर्षित तवरले निर्माण गर्ने, घरलाई कसरी बलियो बनाउने र ग्राहकको चाहना र नक्सा बमोजिम कसरी कम लागतमा घर निर्माण गर्ने भन्ने लगायतका विषयहरुमा आर्किटेक्चरले विशेष तवरले काम गर्ने क्षमता राख्छन् । जसले गर्दा घर निर्माणको क्रममा आर्किटेक्टहरुले सहज तवरले काम सम्पन्न गर्न सक्छन् ।
नेपालमा प्रयाप्त छैनन् इन्जिनियर ः
नेपालमा अहिले पनि इन्जिनियरहरुको सङ्ख्या प्रयाप्त छैन । खासगरी ग्रामीण क्षेत्रमा इन्जिनियरहरुको उपलब्धता निकै नै कम छ । यसले गर्दा ओभरसियरहरुबाट इन्जिनियरिङ सम्बन्धी काम गर्नुपर्ने बाध्यता छ । साथै अहिले नेपालमा करिब ४ हजारको सङ्ख्यामा आर्किटेक्ट इन्जिनियरहरु छन् । बार्षिक ५सय भन्दा बढी आर्किटेक्टहरु शैक्षिक संस्थाबाट उत्पादन भइरहेका छन् ।
वास्तुमा विचार गरेर नै घरनिर्माणको अभ्यास हुँदै ः
हामीले घर निर्माणको क्रममा सम्बन्धित ग्राहकलाई शुरुमा नै वास्तुको बारेमा समेत सोधेर सोही बमोजिम नै काम अघी बढाउँछौं । नेपालमा हामीले अबलम्बन गर्दै आएको वास्तु भारतमा चलनचल्तीमा रहेबमोजिम नै छ । यद्यपि नेपाल र भारतको भौगोलिक परिस्थिति समेत फरक छ । मौसम समेत एकै किसिमको छैन । हामीले वास्तु विचार गर्ने क्रममा सम्भव भए सम्म धेरैजसो कुराहरुलाई विचार गरेर नै काम गर्नुपर्ने हुन्छ । 
के हो वास्तु ?
वास्तवमा वास्तुलाई एक किसिमको घर निर्माणको निम्ति प्रयोगमा आधारित विज्ञान भन्न सकिन्छ । कुनै संरचना निर्माण गर्दा शुरुमा नै कुन संरचना कसरी निर्माण गर्ने भन्ने सम्बन्धमा धेरै कुराहरु विचार गरिने हुँदा वास्तुमा आधारित भई निर्माण गरिएका घरमा सुख, शान्ति र खुसीयालीयुक्त वातावरण निर्माण हुने विश्वास गरिन्छ ।
मुलुकको विकासलाई गतिशिल बनाउने क्षेत्रहरु ः
मुलुक अहिले पूर्वाधार विकासको दिशामा निकै नै छोटो अवधिमा नै राम्रो प्रगति गर्न सफल छ । पछिल्लो समय मुलुकको विकासलाई तीव्र गतिमा अघी बढाउन महत्वपूर्ण भूमीका खेलका क्षेत्रहरु भनेका सूचना प्रविधि, जलविद्युत, पूर्वाधार, विद्युत, दूरसञ्चार, तथा सडक र भवन निर्माण क्षेत्र लगायत हुन् । नेपालले आगामी दिनमा पनि विकासलाई अघी बढाउन यिनै क्षेत्रलाई नै राम्रो तवरले अघी बढाउनुपर्छ । यस क्षेत्रमा दक्ष जनशक्तिको आवश्यकता धेरै नै रहेको कारण ठूलो सङ्ख्यामा जनशक्ति उत्पादन गर्नु आवश्यक छ ।
प्रतिष्पर्धात्मक बन्दैछ इन्जिनियरिङ ः
नेपालमा अहिले इन्जिनियरिङ क्षेत्रमा प्रतिष्पर्धा निकै नै बढेको छ । यद्यपि यस क्षेत्रमा गुणस्तरीयता समेत निकै नै बढेको छ । नेपालमा अहिले बर्षेनी निकै धेरै जनशक्ति शैक्षिक संस्थाहरुबाट प्रत्येक बर्ष उत्पादन हुँदै आएका छन् । यद्यपि नेपालमा उनीहरुले अध्ययन पश्चात् तत्काल कार्य क्षेत्रमा खटिएर काम गर्न सक्ने अवस्था भने छैन । नेपालमा अझै पनि राम्रो तवरले यस क्षेत्रको पहिचान हुन नसकेको कारण अध्ययन पश्चात् ठूलो सङ्ख्यामा नेपाली इन्जिनियरहरु विदेशिन बाध्य छन् ।
मापदण्डलाई मध्यनजर गरेरै भवन निर्माणमा जोड ः
अहिले नेपालमा भवन निर्माण तथा डिजाइनिङको निम्ति पछिल्लो समय मापदण्ड समेत बनाइएको छ । हामीले सोही मापदण्ड बमोजिम नै भवनको डिजाइनिङ गर्दै आएका छौं । यद्यपि नेपालमा अहिले डिजाइनिङ नक्सा पासको आधारमा नै गरिने भएपनि घर निर्माण भने नक्सामा बनाइएको उचाई भन्दा थप तला सहित निर्माण गरिने अवस्था छ ।
यसरी हुनुपर्छ अबको शहरी विकास ः
पछिल्लो समय काठमाडौं शहरमा जनङ्ख्याको उच्च विकासले गर्दा यहाँको वातावरण परिवर्तन हुँदै आएको छ । काठमाडौंमा अब निर्माण गरिने क्षेत्रमा विशेष योजना सहित भवन निर्माणमा जोड दिनु जरुरी छ । साथै अबका दिनमा जग्गाको व्यवस्थित तवरले विकास गर्ने किसिमले औद्योगिक क्षेत्र, आवासीय क्षेत्र, व्यावसायिक क्षेत्र लगायतको हिसाबले छुट्याएर सोही बमोजिम अघी बढाउनु जरुरी रहन्छ । यसको निम्ति नेपाल सरकारले विशेष चलाखीको साथ काम अघी बढाउनुपर्छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij