२०८३ कार्तिक २२ शनिबार

Nov 07 2026 Saturday

  • २०८३ कार्तिक २२ शनिबार

२०८३ कार्तिक २२ शनिबार

जनार्दन शर्मा भन्छन्, भ्रष्टहरुलाई एकछिन पनि पदमा बस्ने अधिकार छैन

जनार्दन शर्मा भन्छन्, भ्रष्टहरुलाई एकछिन पनि पदमा बस्ने अधिकार छैन

रुकुम– रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाले आधुनिक ल्याब तथा एक्स–रे सेवा सञ्चालनमा ल्याएको छ । सो ल्याब र एक्स–रे सेवाको प्रतिनिधिसभाका सांसद एवं नेकपाका नेता जनार्दन शर्माले एक कार्यक्रमबीच शनिबार उद्घाटन गरे । उनले चुनावको बेला जनतासमक्ष गरेका प्रतिबद्धतामध्ये एउटा प्रतिबद्धता पूरा भएको बताए। “हामीले चुनावमा गरिएका धेरैमध्ये एक प्रतिबद्धता पूरा गरेका छौँ”, उनले भने, “अब यहाँका नागरिकले ल्याब र एक्स–रे सेवाका लागि टाढा जानुपर्ने र यसकै लागि धेरै पैसा खर्च गर्नुपर्ने बाध्यताको अन्त्य भएको छ, अब हाम्रो मुख्य काम भनेको शिक्षा, स्वास्थ्य र उत्पादनमा जोड दिने हुनेछ ।”

गाउँपालिकावासीलाई स्थानीय तहमै भरपर्दो स्वास्थ्य सेवा दिने अभियानअन्तर्गत ल्याब र एक्स–रे सेवा सञ्चालनमा ल्याइएको गाउँपालिकाले जनाएको छ । गाउँपालिका अन्तर्गतको सिम्ली स्वास्थ्य चौकीमा आधुनिक ल्याब तथा सादा एक्स–रे सेवा शुरु भएको गाउँपालिकाका स्वास्थ्य संयोजक लोकेन्द्रबहादुर डाँगीले जानकारी दिए ।  गाउँपालिकाको रु १५ लाख बजेटबाट ल्याब र एक्स–रे सेवा सञ्चालनमा ल्याइएको हो । 

यसैगरी सांसद शर्माले भ्रष्टहरुलाई एक छिन पनि पदमा बस्ने अधिकार नभएको बताएका छन् ।
रुकुम पश्चिमका जनप्रतिनिधि र कर्मचारीहरुसँगको भेटमा उनले जनताका आकाङ्क्षाअनुसार काम नगरेर कुनै किसिमको अड्को थाप्ने काम जनप्रतिनिधि र कर्मचारी जसले गरे पनि त्यो सह्य नहुने चेतावनी दिए ।

उनले रुकुम पश्चिमबाट समाजवादको अभ्यास गर्न आफूहरु लागिपरेको र गन्तव्यमा पुग्न स्थानीय सरकारको महत्वपूर्ण भूमिका रहेकाले जनताको हरेक मागअनुसार कुशलतापूर्वक काम गर्न स्थानीय सरकार तदारुकताका साथ लागि पर्न निर्देशन दिए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij