
अम्बिका श्रेष्ठ एक सङ्घर्षशिल महिला हुन् । उनले दार्जिलिङबाट अध्ययन गर्ने अवसर पाइन् । दार्जिलिङमा अध्ययन गर्ने समय देखि नै उनमा राम्रो अनुशासन र आफूमा रहेको क्षमता प्रस्फुटनको निम्ति जस्तोसुकै दुःखकष्ट सहनुपर्छ भन्ने कुरा सिक्ने अवसर पाइन् । निकै कडा अनुशासनका बीच हुर्केकी उनले राम्रो संस्कार सिक्ने अवसर समेत पाइन् । संस्कारयुक्त पृष्ठभूमीकै कारण उनलाई आफ्नो जीवनमा जस्तोसुकै परिस्थिति आएपनि सहजै स्वीकार्दै आगामी यात्रा तय गर्नुपर्ने मानसिकता विकास भयो । त्यसैको परिणाम नै अहिले अम्बिका श्रेष्ठ नेपालमा निकै प्रतिष्ठित बन्न पुगेकी हुन् ।
सानै देखि राम्रो तवरले अध्ययन र अनुशासनसँगै जीवन र कला बारे समेत सिकेकी उनलाई विवाह पश्चात्को कडा बन्देजमा बस्नुपर्ने अवस्था आयो । उक्त बन्देजले आफूलाई अघी बढ्न दिँदैन भन्ने कुरा पनि उनले राम्रोसँग बुझेकी थिइन् । त्यसैकारण श्रीमानसँगको सल्लाहमा घरबार त्यागेर नयाँ अवसरको खोजीमा बिना विकल्प निस्कने योजना बनाइन् उनी ।
अम्बिकाले विवाहपूर्व माइतीघरमा छँदा देखि नै बुबाकाट मेहनत गर्नुपर्छ भन्ने सिकेकी थिइन् । बुबा फ्लोरिष्ट हुनुहुन्थ्यो । ऊहाँ एउटा फूलको बीजलाई अर्कै फूलसँग हाइब्रिड गराई नयाँ प्रजाति उत्पन्न गर्ने काममा समेत निकै सिपालु हुनुहुन्थ्यो । यसबाट पनि अम्बिकालाई सानै उमेरमा सृजनशिलता विकास हुनको निम्ति निकै सहयोग मिल्यो ।
उनका श्रीमान द्वारिका प्रसाद श्रेष्ठ । ऊहाँ आर्टिष्ट हुनुहुन्थ्यो । अहिले अम्बिका नेतृत्वमा सञ्चालनमा रहेको होटल द्वारिकाज् पनि श्रीमानकै नामबाट नामाकरण गरिएको हो । अम्बिका र द्वारिका दुवै हकि स्वभावका । श्रीमान द्वारिका प्रसाद बडि बिल्डर पनि हुनुहुन्थ्यो । ऊहाँले ज्याठा चोकमा व्यायाम मन्दिर स्थापना गरी व्यायाम पनि सिकाउनुभयो । ऊहाँले शुरु गरेको व्यायाम मन्दिर अहिले पनि सञ्चालनमा छ ।
हेरिटेज कन्जर्भेसनको सोचले बन्यो द्वारिकाज् होटल :
द्वारिका प्रसादले एकदिन बाटोमा हिँड्दै गर्दा बुट्टेदार काठहरु एक हुल व्यक्तिहरुले बालेर र काटेर नोक्सान गरिरहेका थिए । त्यो देखेर द्वारिका प्रसादले विचार गरे कि यी कलात्मक काठहरु यसरी नष्ट गर्नुहुँदैन । यसबाट सुन्दर आकितृका ढोकाहरु बनाइ भावी पुस्ताको लागि समेत स्मरणीय बनाउन सकिन्छ । त्यससँगै द्वारिकाले काठको गलत प्रयोग गरिरहेकाहरुलाई अरु नै काठ उपलब्ध गराई बुट्टेदार काठहरु आफूले लिनुभयो । पछि आफूले भेटेसम्मका काठहरु संकलन गरेर त्यसबाट सुन्दर वर्कशप बनाउन शुरु गर्नुभयो ।
तर त्यस समयमा रकमको अभाव थियो । काम रोक्न मिल्दैनथ्यो । आर्थिक स्रोत जुटाउने उपयुक्त माध्यम के हुनसक्छ भन्ने समेत आइडिया थिएन । पछि मात्र काम गर्ने क्रममा त्यसलाई होटलको संरचनामा लैजाने सोच आयो । जसबाट परिस्थितिले साथ दिए विदेशबाट समेत थुप्रै पर्यटकहरु आकर्षित गर्न सकियोस् ।
नेपालमा अहिले नयाँ–नयाँ अवसरहरुका बाटाहरु खुलिरहेका छन् । तर नेपालीहरुमा एकजनाले जे काम गरेको छ, अरुले पनि त्यही काम नै गर्ने प्रचलन छ । तर आफूले काम गरिरहेको क्षेत्रमा कुनै नयाँपन ल्याउने चाहना गर्ने हो भने नेपालमा निकै राम्रो सम्भावना छ । वास्तवमा हाम्रो अवस्था कमजोर होइन, तर हाम्रो मानसिकता दरिद्र भयो । नेपालीहरुमा हरेक काम गर्न सक्ने क्षमता छ, नेपालीहरु विदेश नै जानुपर्छ भन्ने छैन । हामीले हामीसँग के छ र त्यसलाई कसरी प्रयोगमा ल्याउन सकिन्छ भन्ने कुरालाई महत्व दिन नसकेको कारण अहिले हाम्रो अवस्था जहाँको तहीँ रह्यो ।
शुरुमा होटलको एउटा कोठा बनाउन पनि निकै गाह्रो थियो । त्यसलाई बढाएर ५ कोठे बनाइयो । त्यसको धेरै बर्ष पछि मात्र १० कोठे होटल बनाउन आफूहरु सफल भएको अम्बिकाको अनुभव छ । उक्त होटलको निर्माण शुरुवात सन् १९६८ बाट भएको हो । तर १९७३ देखि अलि राम्रो भयो भने १९७७ मा होटलको विधिवत् दर्ता गरियो । आफूसँग पैसा नभएको बेला होटल चल्ने हो कि होइन भन्ने द्विविधामा आफूहरु रहेको र होटलले गति लिन थालेपछि मात्र आफूहरुले होटलमा आकर्षक रुपमा लगानी विस्तार गरेको अम्बिका बताउँछिन् । होटललाई विस्तार गर्ने क्रममा पछि १६ कोठा सहितको अर्को विल्डिङमा समेत होटल विस्तार गरियो । होटल अन्तरगत अर्को ५ कोठाहरु पनि थिए । सन् १९९२ मा श्रीमान द्वारिकाको मृत्यु भयो ।

व्यावसायिक हिसाबले नेपालमा पर्यटन क्षेत्रबाट यात्रा अघी बढाएकी अम्बिका होटल एण्ड रिसोर्ट क्षेत्रमा समेत अग्रणी कम्पनी सञ्चालन गर्न सफल भएकी छिन् । अम्बिका श्रेष्ठले होटल शुरु गर्नुपूर्व देखि नै ट्राभल क्षेत्रमा लामो समय काम गरिसकेकी थिइन् । उनी नेपालमा सबै तिर सम्भावना नै सम्भावना देख्छिन् । उनका अनुसार नेपालमा प्रयाप्त अवसरहरु छन् । सबैतिर सम्भावना नै सम्भावनाहरु छन् । खोज्ने हो भने सबै तिर निकै नै राम्रा अवसरहरु भेट्न सकिन्छ । हामीले नेपालमा गर्न चाहने हो भने बजार पनि राम्रो छ । हाम्रा छिमेकी मुलुकहरु भारत र चीनमा नेपालमा उत्पादन भएका हरेक वस्तुहरु निर्यात गर्न सकिने प्रचुर सम्भावना छ ।
आफू जुन समयमा नेपालमा केही गर्नुपर्छ भनेर आफू बाहिर आइन्, त्यस समयमा नेपालमा रहेर काम गर्नु महिलाको लागि निकै नै गाह्रो परिस्थिति रहेको अम्बिकाको अनुभव छ । अहिले भने नेपालमा समय बदलिएको छ । नेपालमा महिलाहरु खुला हृदयले काम गर्न सक्ने अवस्था आएको छ । बाहिरी दबाब खेप्नुपर्दैन ।
पर्यटन क्षेत्रका समस्याहरु :
नेपाललाई अहिले पनि पर्यटकीय मुलुकको रुपमा विकास गर्नको निम्ति पूर्वाधार ठूलो समस्याको रुपमा रहेको छ । नेपालमा ठूलो एयरपोर्ट तथा सडक लगायतका पूर्वाधारहरु नभएको कारण नेपालको निम्ति निकै राम्रो सम्भावना रहेको उद्योगको रुपमा पर्यटन उद्योग हुँदाहुँदै पनि त्यसलाई व्यावहारिक रुपमा राम्रो उद्योगको रुपमा विकास गर्न सकिएको छैन । नेपालमा पर्यटकहरुको सङ्ख्या बढाउनको निम्ति पूर्वाधारको सुधारमा विशेष ध्यान दिनुपर्ने अम्बिकाको धारणा छ ।
नेपालमा बाहिरबाट आउने पर्यटकहरुलाई अहिले स्तरीय सुविधा दिन नसकेको कारण त्यसले उनीहरुमा नेपाल प्रतिको दृष्टिकोणमा कतिपय अवस्थामा नकारात्मक धारणा समेत विकास हुने अवस्था छ । यद्यपि नेपालमा राम्रो अवसर नभएको भने होइन । पछिल्लो समय नेपालमा आउने पर्यटकहरु काठमाडौंलाई भन्दा पनि बाहिरी क्षेत्रहरु पोखरा, चितवन लगायतलाई रुचिमा पार्ने गरेका छन् । नेपाल प्राकृतिक रुपमा नै सुन्दर देश हो । हाम्रा संस्कृति तथा प्राकृतिक सुन्दरता र रीतिस्थिति नै पर्यटक आकर्षणका माध्यमहरु बनाउन सकिन्छ । यस्तो अवस्थामा नेपालमा पर्यटन तथा होटल क्षेत्र नेपाललाई विकासको निम्ति समेत निकै राम्रो सम्भावनाका क्षेत्रहरु हुन् ।
नेपालमा नै छन् अवसर :
नेपालमा अहिले नयाँ–नयाँ अवसरहरुका बाटाहरु खुलिरहेका छन् । तर नेपालीहरुमा एकजनाले जे काम गरेको छ, अरुले पनि त्यही काम नै गर्ने प्रचलन छ । तर आफूले काम गरिरहेको क्षेत्रमा कुनै नयाँपन ल्याउने चाहना गर्ने हो भने नेपालमा निकै राम्रो सम्भावना छ । वास्तवमा हाम्रो अवस्था कमजोर होइन, तर हाम्रो मानसिकता दरिद्र भयो । नेपालीहरुमा हरेक काम गर्न सक्ने क्षमता छ, नेपालीहरु विदेश नै जानुपर्छ भन्ने छैन । हामीले हामीसँग के छ र त्यसलाई कसरी प्रयोगमा ल्याउन सकिन्छ भन्ने कुरालाई महत्व दिन नसकेको कारण अहिले हाम्रो अवस्था जहाँको तहीँ रह्यो ।
कस्तो होटल हो द्वारिकाज् ?
हामीले सञ्चालन गरेको द्वारिकाज् होटल वास्तवमा होटल नभई हामी सबै नेपालीहरुको हेरिटेज (सम्पत्ति) हो । हाम्रो सम्पत्ति बचाउनुपर्छ भन्ने मान्यताले नै हामीले यस होटलको निर्माण गरेका हौं । अहिले पनि नेपालमा आउने विदेशीहरु हाम्रा कला, कौशल र प्राकृतिक संरचना हेर्न आउने हुन् । हामीले यस होटलमा सजाएका कलाकृतिहरुले नेपालीहरुको कलाकौशलता र क्षमताको प्रतिनिधित्व गर्छन् । त्यसैकारण हामीले यसलाई बचाउनुपर्छ । हामीसँग भएका सम्पदाहरु पछिल्लो समय नष्ट हुने क्रममा छन् । ती कलाकौशलहरु नष्ट भए भने हाम्रो देशमा विदेशी पर्यटकहरु किन पो आउँछन् र ? त्यसैकारण हाम्रो सम्पदाको संरक्षणमा हामी लाग्नैपर्छ । यसैले नै हाम्रा आगामी पुस्ताले समेत हामीलाई स्मरण गर्न सक्नेछन् । हाम्रो विगत के थियो र हामी अहिले कहाँ छौं भन्ने स्पष्ट ऐनाको रुपमा समेत हेर्न सकिने यस्ता सम्पदा र कलाकौशलहरुको हामीले संरक्षण नगरे कसले गर्ने ?
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij