प्रधानमन्त्री केपी शर्मा ओलीले दुई तिहाईको सरकारलाई प्रमुख प्रतिपक्षी दलले काम गर्न नदिएको आरोप लगाएका छन् । उनले सरकारलाई असफल बनाउन प्रतिपक्षी दलले जनतालाई ‘अधिनायकवादको हल्ला’ फिँजाएको आरोप लगाए । 
बिहीबार तुलसीलाल स्मृति प्रतिष्ठानले आयोजना गरेको २१ औँ तुलसीलाल स्मृति दिवस कार्यक्रममा उनले प्रधानन्यायाधीशको संसदीय सुनुवाईमा कांग्रेसले अवरोध गरेको भन्दै आक्रोश पोखे । ‘सुनुवाई समिति हो सुन्ने मात्र हो । जस्तो आयो त्यस्तै अनुमोदन गर्नुपर्छ भन्दै अवरोध भइरहेको छ,’ उनले प्रश्न गरे, ‘जस्तो आयो त्यस्तै अनुमोदन गर्ने भए किन सुनुवाई समिति चाहियो ?’
सुनुवाई समितिले प्रक्रिया पुराएर अनुमोदन गर्ने भन्दै उनले अगाडि भने, ‘सरकार सिफारिस गर्छ । सिफारिस भएका नाममाथि उजुरी संकलन हुन्छ । जनताले उजुरी दिन्छन् । त्यसको जवाफ समितिमा उनले दिनुपर्छ । अनि मात्र चित्त बुझे नाम अनुमोदन हुन्छ,’ उनले भने । जनताबाट निर्वाचित संसदको सर्वोच्चलाई मान्दिन भन्दै कांग्रसले लोकतन्त्रको समेत खिल्ली उडाएको उनले आरोप लगाए ।
प्रधानन्यायाधीशको नाम संवैधानिक परिषदमा वरिष्ठताका आधारमा पठाएको भन्दै उनले उनको नाम अनुमोदन गर्ने नगर्ने जिम्मा सुनुवाई समितिको भएको बताए ।
प्रधानमन्त्री ओलीले प्रधानन्यायाधीश प्रकरणमा कांग्रेसले छलफल नै गर्न नदिएको बताए । ‘संवैधानिक परिषद्ले आएका नाममध्येबाट वरिष्ठताका आधारमा नाम सिफारिस गर्ने प्रचलन रहेको र उहाँलाई पनि त्यही अनुसार पठाइएको हो,’ उनले भने।
प्रधानमन्त्री ओलीले सुनुवाई समितिको निर्णय सरकारले पर्खिरहेको समेत बताए ।
प्रधानमन्त्री ओलीले चुनाव अघिदेखि आफ्नो दललाई असफल बनाउन कांग्रेस लागेको बताए । ‘अहिले पनि सरकार सफल हुन नदिन र हाम्रो पार्टी एकतालाई बलियो बनाउन नदिन जनतालाई भ्रम छरिरहेका छन्, अधिनायकवाद आउँछ, यो आउँछ उ आउँछ भन्दै,’ उनले बताए ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij