ग्रिल तथा स्टिल व्यवसायी महासंघ अन्तरगत गंगबु इकाइ समितिको तेस्रो साधारणसभा तथा दोस्रो अधिवेशन सम्पन्न भएको छ । ग्रिल तथा स्टिल व्यवसायी महासंघका अध्यक्ष मोहन कटुवालको अध्यक्षतामा सम्पन्न भएको उक्त अधिवेसनमा शिवलाल श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ ।
साधारणसभाको अवसरमा ग्रिल व्यवसायलाई व्यवस्थित गर्नुपर्नेमा जोड दिइएको छ । महासंघका अध्यक्ष मोहन कटुवालले साधारणसभामा बोल्दै पछिल्लो समय ग्रिल व्यवसायको महत्व बढ्दै गएको बताए । यद्यपि यस व्यवसायमा थुप्रै समस्याहरु रहेको बताउँदै उनले ती समस्याहरु सम्बन्धित निकायमा पुगेको समेत बताए । साथै व्यवसायीहरुको अवस्था पनि बलियो बन्दै गएको बताउँदै उनले व्यवसायीहरु हार्डवेयर व्यवसाय, व्यावसायिक सहकारी हुँदै उद्योगी समेत बन्ने अवस्थामा पुगेको बताए ।
महासंघका उपाध्यक्ष ठूलोबाबु श्रेष्ठले मूल्य वृद्धि, बाहिरबाट सामान ल्याउने क्रममा आउन सक्ने समस्या, व्यवसायीहरु करको दायरामा नआएको लगायतका विषयमा रही आफ्नो धारणा राखेका थिए ।
पछिल्लो समय सरकारले मेसिनमा छुट, सहज कर्जा, प्रविधि, पूर्वाधार र भौतिक सम्पत्ति धितोमा कर्जा सुविधा लगायतका हौसलामूलक कार्यक्रम समेत ल्याएको कारण व्यवसायको निम्ति सीप र धैर्यता हुने हो भने राम्रो व्यावसायिक अवसर शुरु भएको समेत उनले धारणा राखेका छन् ।
महासंघका महासचिव लिला बहादुर खत्रीले महासंघलाई नयाँ संरचनामा लैजानु आवश्यक रहेको बताए । व्यवसायीहरु आर्थिक रुपमा कमजोर नरहेको बताउँदै उनले अब सम्बन्धित क्षेत्रको संस्थागत विकासमा सबै लाग्नुपर्ने बताए । साथै नेपालमा नै पसिना बगाउन समेत उनले आग्रह गरे ।
ग्रिल तथा स्टिल व्यवसायी महासंघ, काठमाडौंका अध्यक्ष यज्ञराज श्रेष्ठले मूल्यको एकरुपता र डिजिटल मापन प्रणालीको अनिवार्यता औंल्याए ।
उक्त कार्यक्रममा वक्ताहरुले महासंघको वेभसाइट निर्माण, सामाजिक उत्तरदायित्वको निम्ति थप जागरुकताको आवश्यकता, सदस्यता र नवीकरण शुल्कमा एकरुपता लगायतका आवश्यकता औंल्याएका छन् ।
अध्यक्ष शिवलाल श्रेष्ठले स्वागत मन्तव्य राखेको उक्त कार्यक्रममा स्थानीय समाजसेवी मनोज रानाले संस्थाको उत्तरोत्तर प्रगतिको लागि शुभेच्छा प्रकट गरे ।
साथै अधिवेसनबाट शिवलाल श्रेष्ठ अध्यक्षमा दोहोरिएका छन् । संस्थालाई गतिशिल बनाउने र व्यवस्थालाई व्यवस्थित बनाउने प्रतिवद्धता अध्यक्ष श्रेष्ठले जनाएका छन् ।
नयाँ कार्यसमितिमा गोपाल कार्की र गोपाल विक उपाध्यक्ष बनेका छन् । भीम रायमाझी सचिव रहेका छन् भने कोषाध्यक्षमा समन धमला छन् । कार्यसमिति ११ सदस्यीय छ । 
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij