नेपालमा लामो समय पहिले देखि मेसिनरी क्षेत्रमा रहेर काम गर्दै आउनुभएका महेश पौडेल हाल सितापाइला स्थित कालिका अर्थमुभर्स नामक कम्पनी सञ्चालन गर्दै आउनुभएको छ । हाल ऊहाँ नेपाल हेभी इक्युपमेन्ट व्यवसायी महासंघका सचिव समेत हुनुहुन्छ । सुर्खेतमा डोजर, स्काभेटर, लोडर लगायतका विभिन्न सामानहरु भित्र्याएर हेभी इक्युपमेन्टको क्षेत्रमा प्रवेश गर्नुभएका ऊहाँले यस क्षेत्रलाई नजिकबाट बुझ्नुभएको छ ।
हेभी इक्युपमेन्टमा जोडिनुभन्दा पहिले चिनियाँ मेसिनहरुबाट ठेक्कापट्टाको काम गर्दै आउनुभएका ऊहाँ आफ्नै बुबाबाट नै यस क्षेत्रमा लाग्नको निम्ति प्रोत्साहित हुनुभएको हो । विगतमा सावेल र कुटोकोदालोबाट हुने निर्माण कार्यको समेत अनुभव समेट्नुभएको छ ।
पौडेलका अनुसार पछिल्लो समय यो व्यवसाय निकै नै महँगो बनिसकेको छ । यसकारण व्यवसायमा लाग्नको निम्ति निकै ठूलो लगानीको समेत आवश्यकता पर्छ । पार्टसहरु आयात गर्ने क्रममा निकै ठूलो लगानीको आवश्यक पर्ने भएको कारण व्यवसायमा आउने क्रममा नयाँ व्यक्तिले विशेष सोचेर मात्र व्यवसायमा लाग्नुपर्ने आवश्यकता रहेको देख्नुहुन्छ सचिव पौडेल ।

हेभी इक्युपमेन्ट व्यवसायी महासंघका गतिविधिहरु ः
हेभी इक्युपमेन्ट व्यवसायी महासंघ पनि निकै सक्रियतापूर्वक यस व्यवसायलाई व्यवस्थित गर्नको निम्ति अघी बढेको छ । पछिल्लो समय महासंघले ५ नम्बरको भेला सम्पन्न गरी बसन्त भुसालको नेतृत्वमा नयाँ कार्यसमिति गठन गरेको छ । तत्काल धनगढी तथा सुर्खेत लगायतका विभिन्न क्षेत्रहरुमा आफ्ना भेलाहरु आयोजना गर्न लागेको छ ।
पष्छिल्लो समय संगठन विस्तारमा नै केन्द्रित रहेको यस महासंघले सरकारसँग नेपालमा यस व्यवसायको निम्ति निश्चित दररेट दिनुपर्ने कुरा उठाउँदै आएको छ । अहिले ७२ घण्टे पुर्जी काटेर व्यवसायको रेट बिगारिएको भन्दै दररेट तोकिएपछि भने व्यवसाय व्यवस्थित हुने बताउनुहुन्छ । साथै नेपालमा स्थानीय तहबाट मेसिन भित्र्याउने कार्य समेत खास प्रभावकारी हुन नसक्ने पौडेलको धारणा छ । विगतमा निकै जागरुकताको साथ आवाज उठाएसँगै अहिले हेभी इक्विपमेन्टको लाइसेन्सको कुरा भने अहिले मिलेको छ ।
सम्भावना बोकेको क्षेत्र ः
यस व्यवसायलाई व्यवस्थित गर्न सकेको खण्डमा यो व्यवसाय निकै नै राम्रो सम्भावना बोकेको क्षेत्र हो । नेपालमा मनमोहनको पाला देखि सामान आयात शुरु भइ अघी बढेको यो व्यवसायले ०६२÷६३ देखि गति लिन शुरु गरेको हो । विगत ३ बर्ष देखि भने नेपालमा निकै नै धेरै मात्रामा यस व्यवसायमा सामानहरु आयात भइरहेका छन् ।
महासंघका आगामी दिनमा जनशक्तिमा केन्द्रित हुनुपर्छ ः
नेपालमा हाल महासंघले आफैं ट्रेनिङ सेन्टर सञ्चालन गर्दै आएकोमा आगामी दिनमा उक्त ट्रेनिङ सेन्टरलाई थप व्यवस्थित बनाउँदै नेपालमा यस क्षेत्रको निम्ति दक्ष जनशक्ति उत्पादन गर्ने कार्य गर्नुपर्ने आवश्यकता छ । राम्रो तवरले काम गर्न चाहने हो भने नेपालमा यस क्षेत्रमा निकै राम्रो अवसर भएको कारण जनशक्तिको दक्षता विकासमा काम गर्नुपर्ने आवश्यकता देखिएको हो ।
महासंघका आगामी योजना ः
ठेक्कापट्टालाई थप व्यवस्थित बनाउँदै व्यवसायलाई थप प्रभावकारी रुपमा अघी बढाइने, सबै जिल्लाहरुलाई संगठित गर्दै नीतिगत रुपमा व्यवसायलाई व्यवस्थित गर्ने लगायतका योजना साथ अघी बढेको यस महासंघले १ बर्ष भित्रमा नै जग्गा र महासंघको आफ्नै भवन निर्माण गर्ने लक्ष्य लिएको छ ।
युवालाई सचिव पौडेलको सन्देश ः
नेपालमा काम गर्न चाहने हो भने निकै राम्रो अवसर छ । तर नेपालमा युवाहरु काम गर्न चाहने अवस्था भने छैन । नेपालमा पछिल्लो समय पूर्वाधार निर्माणको निम्ति निकै धेरै कामहरु अघी बढ्ने क्रममा छन् । यसकारण यो हेभी इक्विपमेन्ट व्यवसायमा निकै राम्रो अवसर छ । नेपालमा ह्वाङसी शिवम् सिमेन्ट, अपर कर्णाली, पोखरा विमानस्थल, मुक्तिश्री सिमेन्ट
लगायतका थुप्रै ठूला आयोजनाहरु अघी बढ्न लागेको अवस्थामा नेपालमा हेभी इक्विपमेन्ट क्षेत्रको भविष्य निकै नै राम्रो छ । यद्यपि यस क्षेत्रमा दक्ष जनशक्ति भने उपलब्ध हुन सकेको छैन । यसकारण नेपालका युवाहरु सीप र दक्ष बन्ने हो भने नेपालमा नै प्रयाप्त अवसरहरु छन् । पछिल्लो समय यस व्यवसायको क्रममा मेसिनहरु पुरानो भएपश्चात् सामानहरु मर्मत गर्ने क्रममा आवश्यक पार्टसपुर्जाहरु उपलब्ध हुन नसक्ने अवस्था छ ।
हेभी इक्विपमेन्ट सम्बन्धी मेसिनहरुको मूल्य ः
हाल नेपालमा आयात हुने मेसिनहरु मध्ये स्काभेटर ८० लाख देखि १ करोड १५ लाख सम्ममा उपलब्ध छन् । ब्याकलो ३५ देखि ४२ लाख सम्मका छन् । डोजर तथा क्रेनहरु पनि विभिन्न क्षमता र मूल्यमा उपलब्ध छन् ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij