काठमाडौं । वरिष्ठ आँखा रोग विशेषज्ञ डा. सन्दुक रुइतले भारतीय राष्ट्रपति रामनाथ कोविन्दबाट पदमश्री पदक पाएका छन् । कम शुल्कमा मोतीविन्दूको शल्य

क्रिया गरी एकलाख भन्दा बढी मानिसलाई ज्योति प्रदान गरेका रुइतलाई भारतले गणतन्त्र दिवसको पूर्वसन्ध्यामा पदक दिने घोषणा गरेको थियो । पूर्व घोषणाअनुरुप सोमबार आयोजित एक कार्यक्रमका बीच राष्ट्रपति कोविन्दले रुइतलाई पदमश्री पदक प्रदान गरेका हुन् । अघिल्लो वर्ष भारतले यही पदक माइती नेपालकी अध्यक्ष अनुराधा कोइरालालाई प्रदान गरेको थियो ।
पदमश्री पदक भारत सरकारले दिने प्रतिष्ठित पदकमध्ये एक मानिन्छ । तिलगंगा आँखा केन्द्रका निर्देशक रहेका उनले आफ्नै हातले एक लाखभन्दा बढीको मोतियाबिन्दुको शल्यक्रिया गरेका छन् । उनी आफैंले अहिलेसम्म झण्डै एक लाख बढी मानिसलाई आँखाको दृष्टि दिएर संसार देखाइसकेका छन् भने विभिन्न देशमा उनले दिएको तालिम र प्रविधिले झण्डै ४० लाख मानिसले आँखा देख्न सक्ने भएका छन् । यही योगदानको कदरस्वरुप सन् २००६ मा रामोन म्यागासेसे पुरस्कारबाट उनी सम्मानित भए ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij