काठमाडौं–राष्ट्रपति एमाले र सभामुख माओवादी केन्द्रले लिइसकेपछि उपराष्ट्रपति र उपसभामुख अब कसले पाउला ? बामगठबन्धनले यी दुई पदका लागि राष्ट्रिय जनता पार्टी नेपाल र संघीय समाजवादी फोरम नेपाललाई प्रस्ताव गरेका छन् । उपराष्ट्रपति राजपा नेपाल र उपसभामुख फोरम नेपालको भागमा परेको स्रोतको भनाई छ ।
प्रधानमन्त्री एवं एमाले अध्यक्ष एवं केपी शर्मा ओलीले राजपा अध्यक्ष महन्थ ठाकुरलाई उपराष्ट्रपति बन्न प्रस्ताव गरेका छन् ।
स्रोतका अनुुसार फागुन २३ गते प्रधानमन्त्री ओली र संयोजक ठाकुरबीच भएको वार्तामा प्रधानमन्त्रीबाट यस्तो प्रस्ताव आएको हो । प्रधानमन्त्रीको प्रस्तावमा ठाकुरले आफु सकरात्मक रहेको र यस विषयमा पार्टीमा छलफल गरेर जवाफ दिने बताएका थिए ।
पार्टीका नेता जिल्ला बाहिर भएकाले ठाकुरले छलफल गर्न भ्याएका छैनन् । राजपा नेपालका महासचिव एवं प्रवक्ता केशव झाले सविधान संशोधनलगायत अन्य पदको विषयमा छलफल भइरहेपनि हालसम्म कुनै टुगों नलागेको बताए ।
‘उपराष्ट्रपति र तीनवटा मन्त्रालय हाम्रो पार्टीले माग गरेको छ । तर, कुरा मिलेको छैन’ उनले रातोपाटीसँग कुरा गर्दै भने, कुराकानी भइरहेको छ, उपराष्ट्रपति दिने फाइनल भयो भने कसलाई दिने विषयमा पार्टीले टुगों लगाइनेछ ।’
राजपाका अर्का एक नेताले प्रधानमन्त्रीको प्रस्ताववारे ठाकुरले पार्टीभित्र अनौपचारिक छलफल गरिरहेको बताए । प्रधानमन्त्री ओली ठाकुरलाई नै उपराष्ट्रपति बनाउन चाहेका छन् ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij