काठमाडौंको धर्मस्थलिमा आयोजना हुने रथ जात्रा यस बर्ष चैत २ देखि ६ गते सम्म आयोजना हुँदैछ । ५ दिन सम्म चल्ने यस जात्रालाई पाँचअरे जात्रा समेत भन्ने गरिन्छ । जात्राको तयारी शुरु भएको जात्राका द्वारे घनश्याम श्रेष्ठले सेतोघर अनलाईनलाई बताएका छन् ।

श्रेष्ठका अनुसार धर्मस्थलीमा आयोजना हुने उक्त जात्रा काठमाडौं उपत्यकामा चल्ने अन्य जात्राको तुलनामा निकै फरक छ । तर अहिले सम्म यो जात्रा काठमाडौंको शहरी क्षेत्रका मानिसहरुबाट भने अझै ओझेलमा नै छ ।
जात्रा परम्परागत रुपमा नै आयोजना हुँदै आएको छ । जात्रा सम्पन्न गर्नको निम्ति विभिन्न गुठीहरु पहिले देखि सक्रिय छन् । यसको प्रचारको निम्ति अहिले आयोजक संस्थाको नियमित आर्थिक स्रोतको माध्यम नभएको र पहिलेका सार्वजनिक गुठीहरु समेत संरक्षित हुन नसक्दा आर्थिक अवस्था कमजोर नै छ । साथै जात्रा सम्पन्न गर्न नगरपालिकाबाट निकै कम रकम विनियोजन हुने गरेको छ । नगरपालिका लगायतका विभिन्न निकायले जात्राको महत्व र संरक्षणको निम्ति प्रयाप्त पहल गर्न नसक्दा यो क्षेत्र अहिले पनि पछाडि नै परेको स्थानीयहरु बताउँछन् ।
यो जात्रा ऐतिहासिक जात्रा हो । यो जात्रा गंगा महारानीको पाला देखि नै चल्दै आएको स्थानीयहरुको विश्वास छ । काठमाडौंको मुख्य शहर भन्दा केही किलोमिटरको दूरीमा रहेको धर्मस्थली क्षेत्रमा मनाइने यस जात्राले आफैंमा विशेष अर्थ राख्ने भएपनि ओझेलबाट बाहिर आउन नसक्दा जात्रा सम्बन्धमा थप पहल हुन सकेको छैन ।
कसरी मनाइन्छ जात्रा ?

मेला अवधिको अन्तिम दिन अवलोकनको निम्ति निकै ठूलो भीड लाग्ने गर्छ । अन्तिम दिन करिब ५० हजार भन्दा बढी व्यक्तिहरु उक्त मेला हेर्नको निम्ति आउने घनश्यामको दाबी छ । हाल ५ ओटा खट रहेको यस मन्दिरमा गणेश, इन्द्रायणी (अजिमा), महाकाली लगायतको पूजा गरिन्छ । अन्तिम दिन महाकालीलाई बाटो छेक्ने प्रचलन छ । शूरुको दिन भने लुकुमहादेव (लुकेर बस्ने महादेव)को पूजा गरिने स्थानीय तीर्थ नारायण महर्जनले बताए।
कसले गर्छ मन्दिरको हेरचाह ?
अहिले सम्म यस जात्राको अवधि तथा अन्य समयमा उक्त क्षेत्रको हेरचाह तथा संरक्षणको जिम्मेवारी द्वारेलाई दिइएको छ । यस क्षेत्रलाई व्यवस्थापनको निम्ति विभिन्न गुठीहरु समेत सञ्चालनमा ल्याइएको छ । गणेश गुठी जरंखु, महाकाली गुठी, इन्द्रायणी (त्रिगुण) गुठी, जरंखु गुठी, पहरा गणेश गुठी लगायत रहेको र यसको संयोजनकारी भूमीकाको रुपमा भने स्थानीय घनश्याम श्रेष्ठले काम गर्दै आएकाछन् ।
बलि दिने प्रचलन ः
यस यस क्षेत्रमा थुम्बा, बोका र कुखुराको बलि दिने प्रचलन छ ।

रातको समयमा जात्रा विशेष रहने ः
यस क्षेत्रको जात्रा रातीको समयमा विशेष रुपमा चल्ने गर्छ । निकै रोमान्चक तवरले सञ्चालन गरिने यस जात्राले जात्राको अन्तिम दिन आमाको रुपमा महाकालीलाई बाटो छेक्ने कार्य गरिन्छ । जुन निकै रोमान्चकारी हुने गर्छ । यस पश्चात् माफी माग्दै पुःन बाटो खुला गरिन्छ । बाटो छेक्नुको समेत आफ्नै विशेष महत्व रहेकाे स्थानीय सुर्य बहादुर श्रेष्ठ बताउँछन् ।
पहिलो दिन
रथलाई थानहरुमा लगेर पूजा गरिन्छ ।
दोस्रो दिन
रथलाई गाउँ परिक्रमा गराइन्छ । यस दिन द्वारेहरु आफ्नो घरमा नपस्ने बेला सम्म उक्त रथ हेर्न निशेध गरिएको छ ।
तेस्रो दिन ः
द्वारेको घर अगाडिको रथलाई पूजा गरेर विधिवत रुपमा रथ उठाइन्छ । यसै दिन बेलुका सिन्दूर जात्रा सहित पूजा तथा नाचगान गरिन्छ ।
चौथो दिन
यस दिन रथ (खट)लाई विश्राम दिने चलन छ । साथै आफन्तहरुलाई बोलाएर भोजभतेर गर्ने प्रचलन समेत छ ।
पाँचौ दिन (अन्तिम दिन)
यस क्षेत्रमा इन्द्रायणी रथ मन्दिरमा विसर्जन गर्ने क्रममा मानिसको मृत्यु संस्कारको क्रममा बजाइने बाजाको धुन बजाएर जात्राको अन्त्य गरिन्छ ।
जात्रा प्रति जागरुकता बढ्दो ः
पछिल्लो समय धर्मस्थलीको घोडेजात्रा प्रति मानिसहरुको आकर्षण बढ्दो छ । यस जात्रालाई विशेष रुपमा लिने प्रचलन समेत बढेको छ । यसैकारण अहिले नयाँ मानिसहरु समेत यस क्षेत्रमा उत्साहपूर्वक सहभागि हुने गरेका छन् । तर यति मात्रै प्रयाप्त भने छैन ।
नगरपालिकाको सहयोग आवश्यक ः
तारकेश्वर नगरपालिकामा पर्ने यस धर्मस्थली जात्रालाई विशेष जात्राको रुपमा नगरपालिकाले संस्कृति संरक्षणमा सहयोग पुग्ने मान्यता सहित विशेष समन्वयनकारी भूमीका निर्वाह गर्नु जरुरी छ । यसो हुन सके जात्राले तारकेश्वरको मौलिक संस्कृति रक्षा तथा उत्थानमा विशेष सहयोग पुग्न सक्छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij