
आफ्नो कारणले सकभर अरु कसैलाई पनि मर्का पर्नु हुँदैन भन्ने मान्यता राख्ने कसिमले काम गर्नुहुँदैन । सकिन्छ भने सबैलाई सहयोग नै पुग्ने किसिमले काम गर्नुपर्छ भन्ने मान्यताले सामाजिक तथा व्यावसायिक क्षेत्रमा एकैपटक अघी बढिरहनुभएका नवराज पाण्डे मुलत विभिन्न सामाजिक गतिविधिहरुमा संलग्न रहँदै आउनुभएको छ ।
ऊहाँ भन्नुहुन्छ, ‘सकिन्छ भने आफूले सबैको भलो हुने गरी काम गर्नुपर्छ, सहयोग गर्न नसक्ने पनि कसैको कुभलो चिताउनुहुँदैन । अरुलाई शोषण र दमन र विरोधले आफूलाई पनि हित हुँदैन ।’
यसकारण आवश्यक रहन्छ सामाजिक उत्तरदायित्व ः
मानवीय जीवन अमूल्य छ । आफ्नो जीवनकालमा आफूले गर्न सक्ने काम तत्काल नै गर्नुपर्छ । जुन कामले आफ्नो परिचय आफू नरहँदा पनि जीवित नै रहन सक्छ । समाजले स्मरण गर्ने सबैभन्दा महत्वपूर्ण कुरा भनेको उक्त व्यक्तिले समाजको निम्ति पुर्याएको योगदान निकै महत्वपूर्ण हुन्छ ।
व्यवसायिक र सामाजिक यात्रा एकैपटक सम्भव छ ः
हाल होटल तथा रेष्टुरेन्ट व्यवसाय, मिनिमार्ट, अक्सिजन ग्यास, सिसा व्यवसाय, गार्मेन्ट उद्योग लगायतका विभिन्न क्षेत्रमा उनले लगानी विस्तार गर्नुभएको छ । साथै सामाजिक यात्रामा समेत ऊहाँको महत्वपूर्ण भूमीका रहँदै आएको छ । आफूले व्यावसायिक क्षेत्रबाट कमाएको रकम मध्येबाट केही रकम सामाजिक कार्यको निम्ति पनि खर्च गर्नुपर्छ ।
आफ्नो सानो प्रयाशले विकट र कमजोर आर्थिक अवस्थाका व्यक्तिहरुलाई अघी बढ्न सहयोग मिल्छ भने त्यस्तो कार्य गर्न आफू पछि हट्न नहुने मान्यता साथ अघी बढ्नुभएका पाण्डे नेपालका युवाहरुलाई नेपालमा नै प्रयाप्त अवसरहरु भएको तर ती अवसरहरुबारेमा युवाहरुलाई जानकारी हुन नसकेको अवस्थामा नेपालमा नै सम्भावनाहरु खोज्नुपर्ने तर्फ केन्द्रित हुनुपर्नेमा जोड दिनुहुन्छ ।
शक्ति फाउण्डेसनको स्थापना ः
पछिल्लो समय शक्ति फाउण्डेसन नामक सामाजिक संस्था समेत सञ्चालन गरिरहेका छन् । शक्ति फाउण्डेसनमा अध्यक्षको जिम्मेवारी सम्हालिरहनुभएका पाण्डे हाल यस संस्थाबाट महिला तथा बालबालिकाहरुको निम्ति आफूहरुले विभिन्न कार्यहरु गर्दै आएको बताउनुहुन्छ ।
यस संस्थाको नियमित आर्थिक स्रोत नभएपनि विभिन्न कार्यको निम्ति नजिकका अर्थातका चिनजानका व्यक्तिहरुको सहयोग यस संस्थाले पाइरहेको छ । सामाजिक भावनाबाट उत्प्रेरित व्यक्तिहरुको सहयोग पाएको कारण नै यस संस्थाले आफ्ना गतिविधिहरु निरन्तर रुपमा सञ्चालन गर्दै आइरहेको छ । विभिन्न व्यक्तिहरुका विवाह, ब्रतबन्ध लगायतका शुभकार्यको क्रममा समेत केही रकम सामाजिक कार्यको निम्ति विनियोजन गर्नको निम्ति समेत संस्थाले प्रोत्साहित समेत गर्दै आउनुभएको छ ।
शक्ति फाउण्डेसनका अध्यक्ष पाण्डे को हुन् ? कस्तो थियो पारिवारिक पृष्ठभूमी ?
नुवाकोटको एक मध्यम आर्थिक अवस्था भएको कृषक परिवारमा नै जन्मिनुभएकाे थियाे नवराज पाण्डे । समाजमा आइपर्ने विभिन्न समस्याहरुमा बुबाले समेत सक्रिय रुपमा काम गर्नुहुन्थ्याे । बुबाकाे बानीव्यवहारबाट छाेरा नवराज समेत प्रभावित हुनुभएको कारण समेत अहिले पाण्डेकाे सम्पूर्ण परिवार नै सामाजिक गतिविधिहरुमा सक्रिय तवरले लाग्दै आएको अनुमान गर्न सकिन्छ ।
जीवन र सफलता बारे के भन्छन् पाण्डे ?
सकारात्मक सोचले काम गर्ने हो र आफूले काम गरिरहेको क्षेत्रमा निरन्तर रुपमा लागिरहने हो भने आफूले रोजेको क्षेत्रमा सफल हुन सकिँदो रहेछ । आफ्नो जीवनकालमा पाण्डेले यही सिकेका छन् ।
सफलताको निश्चित मापदण्ड नभएपनि तुलनात्मक रुपमा यसलाई हेर्न सकिन्छ । यस्ता तुलनाहरु विभिन्न हुन सक्छन् । आफ्नो विगत र वर्तमानको तुलना । आफ्ना समकक्षीहरु र आफू बीचको प्रगति अवस्था । सामाजिक प्रतिष्ठा र विचार तथा दृष्टिकोणमा आएको परिवर्तन लगायतका विषयहरु नै सफलताका सूचकहरु हुन सक्छन् ।
पाण्डेको काठमाडौंमा प्रवेश र व्यावसायिक यात्रा ः
काठमाडौं प्रवेश गरेपश्चात् पाण्डेले शुरुवातका दिनमा एउटा गार्मेन्ट कम्पनीमा पनि काम गरे । पछि आफूलाई व्यवसाय सञ्चालन बारे धेरै कुराहरुको जानकारी भइसके पश्चात् बुबाको सहयोग र सल्लाहमा आफ्नै व्यवसायमा संलग्न हुनुभएको हो । अहिले ऊहाँको व्यवसाय विभिन्न क्षेत्रमा विविधिकरण हुँदै गएको छ ।
जीवनकालमा आएको उतारचढाव ः
मान्छेको जीवनकालमा विभिन्न आरोहअवरोहहरु पनि आउँछन् । ती मध्ये कतिपय आफ्नै कारणले आइपर्छन् भने कतिपयमा अन्य व्यक्तिको समेत प्रभाव परेको हुन्छ । पाण्डेको जीवनमा पनि केही बर्ष कुलतको कारणले आर्थिक, सामाजिक तथा व्यावसायिक रुपमा केही अप्ठ्यारो नपारेको होइन तर समयमा नै उक्त समस्याबाट टाढिन सकेको कारण त्यसले ठूलो नोक्सानी हुन सकेन ।
व्यावसायिक तथा आर्थिक रुपमा ऊहाँ सफलताको सिँढी चढ्दै हुुनुहुन्थ्यो । तर त्यही समयमा नै उनी कुलतमा समेत पर्नुभयो । जसले गर्दा आर्थिक अवस्थामा समेत निकै ठूलो धक्का पुग्यो । शरीर समेत कमजोर हुँदै थियो । आर्थिक रुपमा ठूलो क्षति भइरहेको थियो । सामाजिक रुपमा समेत मानिसहरुको बुझाईमा नकारात्मक भावनाको विकास हुँदै थियो । तर नयाँ संकल्पको साथ अघी बढ्ने हो भने आइपर्ने यस्ता समस्याहरुलाई सहजै पार लगाउन सकिने रहेछ भन्ने कुराको राम्रो अनुभव समेत पाण्डेले सङ्गाल्नुभएको छ । जसले गर्दा ऊहाँलाई पहिलेको अवस्थामा आउन सहज भयो ।
अहिले पाण्डे समाजमा अरुलाई बदल्नुपर्ने मान्यता राख्दैनन् तर आफू भने बदलिनुपर्ने कुरामा विशेष सतर्क रहँदै आएका छन् ।

वाराही मन्दिरको निर्माण र माछामासु परित्याग ः
सामाजिक गतिविधिमा अघी बढ्ने क्रममा नै वाराही मन्दिर समेत निर्माण गरे । उनले माछामासुबाट समेत टाढा रहने प्रण गर्नुभयो । वाराही मन्दिरमा अहिलेकाे अवस्था सम्म ल्याउने क्रममा नवराज पाण्डेले नेतृत्वदायी भूमीका निर्वाह गर्नुभयाे भने यसकाे निम्ति उहाँलार्इ निकै धेरै व्यक्तिहरूकाे सहयाेग समेत प्राप्त भयाे ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij