काठमाडाैं, ४ बैशाखः कर्णालीसहित देशभरिका जैविक उत्पादन अब काठमाडौँमै सहज रूपमा प्राप्त हुने भएका छन्। जैविक कृषि उपजको प्रयोग र प्रवद्र्धनलाई प्राथमिकता दिँदै काठमाडौँको बूढानीलकण्ठ नगरपालिकाको कपन क्षेत्रमा ‘मौलिक बजार’ नामक विशेष जैविक बजार सञ्चालनमा आएको छ।
देशका ७५३ वटै स्थानीय तहबाट संकलन गरिएका जैविक उपज उपभोक्तासम्म पुर्याउने उद्देश्यले बजार स्थापना गरिएको हो। यहाँ जुम्लाको प्रसिद्ध मार्सी चामल, हुम्लाको सिमी, मुगुको कोदो, डोल्पाबाट संकलित जडीबुटी लगायतका विभिन्न क्षेत्रीय खाद्य वस्तुहरू उपलब्ध छन्।
कर्णाली क्षेत्रका किसानहरूलाई उत्पादनमा प्रोत्साहन गर्न र उनीहरूको उत्पादनलाई बजारसम्म ल्याउन यो बजार सञ्चालन गरिएको बजार सञ्चालक सुमन दाहालले जानकारी दिनुभयो। उहाँका अनुसार ‘एक स्थानीय तह, एक उत्पादन’ अवधारणाअनुसार कृषि उपजलाई ब्राण्डिङ गरेर उपभोक्तासमक्ष पुर्याउने प्रयास भइरहेको छ।
उहाँले भन्नुभयाे, “यो बजारले कर्णाली मात्र होइन, देशका सबै सातवटै प्रदेशमा उत्पादन हुने कृषिजन्य वस्तु, हर्बल सौन्दर्य सामग्री, परम्परागत मसला, अदुवा–लसुन पेस्ट, हस्तकलाका सामग्री तथा मौलिक सांस्कृतिक पहिचान बोकेका वस्तुहरूलाई प्रवद्र्धन गर्ने उद्देश्य राखेको छ।”
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij