२०८३ कार्तिक १७ सोमबार

Nov 02 2026 Monday

  • २०८३ कार्तिक १७ सोमबार

२०८३ कार्तिक १७ सोमबार

‘हेलो सरकार’ ह्याक गरेको रुसी ह्याकरको दाबी

‘हेलो सरकार’ ह्याक गरेको रुसी ह्याकरको दाबी

काठमाडौं, १४ चैतः एक ह्याकर समूहले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अन्तर्गत सञ्चालनमा रहेको हेलो सरकारको वेबसाइट ह्याक गरेको दाबी गरेको छ। डेटा खरिद-बिक्री हुने प्लेटफर्म ‘ब्रिच फोरम’ मा बुधबार गरिएको पोस्ट अनुसार, ‘घुद्रा’ (Ghudra) नामक ह्याकर समूहले हेलो सरकारको सिस्टममा पहुँच जमाएको दाबी गरेको हो।

उक्त समूहले आफू ‘फेन्सी बियर्स एपीटी २८’ अन्तर्गत पर्ने दाबी गरेको छ, जुन रुसी सैन्य गुप्तचर निकायसँग सम्बन्धित मानिन्छ। यो समूह सरकारी प्रणाली ह्याक गरी संवेदनशील जानकारी चोरी गर्ने र दुर्भावनापूर्ण सफ्टवेयर इन्स्टल गर्ने गतिविधिमा संलग्न रहेको बताइन्छ।

“नेपाल सरकारले हामीसँग संवाद गर्न अस्वीकार गरेकाले हामी यो डेटा बिक्री गर्न बाध्य भएका छौं,” ह्याकर समूहले आफ्नो पोस्टमा उल्लेख गरेको छ। साथै, उनीहरूले हेलो सरकारको प्रणालीको फाइल म्यानेजरको स्क्रिनशट पनि सार्वजनिक गरेका छन्, जसमा ‘https://gunaso.opmcm.gov.np/’ लिङ्क देखिन्छ।

उक्त स्क्रिनशटको अध्ययन गर्दा, प्रणालीले सुरक्षा सेटिङ, फाइल पहुँच, कन्सोल, डेटाबेस व्यवस्थापन, तथा पीएचपी कन्फिगरेसनसम्बन्धी विकल्प उपलब्ध गराएको देखिन्छ।

ह्याकर समूहले आफूहरूले हेलो सरकारको सम्पूर्ण डेटाबेसको ब्याकअप सुरक्षित राखेको दाबी गरेको छ। स्क्रिनशटमा ४९.९८ जीबी स्टोरेज क्षमतायुक्त सर्भर रहेको र त्यसमा ८.३२ जीबी मात्र खाली रहेको देखिन्छ।

उनीहरूले प्रयोगकर्ताहरूका युजरनेम, इन्क्रिप्टेड पासवर्ड, मोबाइल नम्बर तथा अकाउन्ट सिर्जना गरिएको मिति राखिएको जानकारी दिएका छन्। साथै, पेस्टबिन लिङ्क सेयर गरिएको छ, जसमा नाम, सम्पर्क नम्बर, ईमेल ठेगाना तथा गुनासोसँग सम्बन्धित पासवर्डहरू समावेश रहेको देखिन्छ।

टेकपानाले सूचीमा भएका १७ अकाउन्टहरूमध्ये केही व्यक्तिहरूसँग सम्पर्क गर्ने प्रयास गरेको थियो। तीमध्ये अधिकांशले नाम, नम्बर तथा आफू कार्यरत संस्था पुष्टि गरे पनि गुनासोसँग सम्बन्धित ईमेलबारे कुनै जानकारी नभएको बताए। फाइलमा नगरपालिकाका प्रशासन प्रमुखहरूको विवरण रहेको देखिन्छ।

हेलो सरकारसँग यस विषयमा बुझ्ने प्रयास गरिए पनि कुनै आधिकारिक प्रतिक्रिया प्राप्त हुन सकेन।

साइबर सुरक्षाका विज्ञहरूका अनुसार ह्याकरले दाबी गरेको डेटा वास्तविक हुन सक्ने सम्भावना छ। तर, उनीहरूले दाबी गरेजस्तो एक लाख प्रयोगकर्ताको डेटा उनीहरूसँग छ वा छैन भन्ने पुष्टि हुन सकेको छैन।

ह्याकर समूहले आफ्नो टेलिग्राम च्यानलको लिङ्कसमेत ब्रिच फोरममा सेयर गरेको छ। उक्त च्यानलमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको डेटामा पहुँच रहेको दाबी गरिएको छ। ह्याकरले डेटा बिक्रीका लागि १००० डलर (करिब १३ लाख रुपैयाँ) मूल्य तोकेको छ, भने लाइभ शेल एक्सेस (Live Shell Access) का लागि १३०० डलर तोकिएको छ।

गत २७ फागुनदेखि हेलो सरकारको वेबसाइट डाउन छ। सिस्टम अवरुद्ध भएपछि हेलो सरकारले सामाजिक सञ्जालमार्फत जानकारी दिएको थियो। तर, वेबसाइट नचलेको कारण भने आधिकारिक रूपमा सार्वजनिक गरिएको छैन।

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij