राजधानी शहर काठमाडौंको मुटु न्यूरोडको गेट भन्दा थोरै अगाडि बायाँ पट्टि एउटा बोर्डमा देखिन्छ, अवतार ज्वेलर्स । ३ बर्ष देखि त्यस ठाउँमा स्थापित अवतार ज्वेलर्सको यात्रा निकै रोचक छ । पाल्पामा जन्मिएका चन्द्रमान मल्ल ‘अवतार’ले उक्त ज्वेलर्स सञ्चालनमा ल्याएका हुन् । २५ बर्ष पहिले पाल्पाबाट शुरुवात भएको ‘अवतार ज्वेलर्स’को अर्को शाखा बुटवलमा पनि छ । अझ भन्नुपर्दा पाल्पाबाट बुटबल हुँदै काठमाडौं सम्म यो व्यवसाय विस्तार हुन सकेको हो ।
चन्द्रमान आफ्नो परिवारबाट व्यवसायमा जोडिने पहिलो व्यक्ति हुन् । जन्म देखि बाल्यकाल पाल्पामा नै बिताएका उनले पाल्पाकै त्रिभुवन बहुमुखी क्याम्पसबाट उच्च शिक्षा हासिल गरे ।
टर्निङ प्वाइन्ट
आफ्ना चिनजानका अधिकांश साथीहरु यसै व्यवसायमा थिए । यसै पनि सुनचाँदीको कामलाई व्यक्तिगत प्रतिष्ठासँग समेत जोडेर हेर्ने गरिन्छ । सुनचाँदी व्यवसायमा यत्तिकै संलग्न त कहाँ पो हुन सकिन्थ्यो र ? रुचि हुनु एउटा कुरा हो, व्यवसायमा हाम फाल्नु अर्को कुरा हो । यद्यपि जब रुचि आफूमा विकास हुन्छ, त्यो रुचि विकसित हुँदै जाने क्रममा त्यसलाई सार्थक बनाउने मार्गहरुलाई पनि खोल्दै र स्पष्ट बनाउँदै लैजानुपर्ने हुन्छ । चन्द्रमानलाई ज्वेलरी व्यवसायमा संलग्न हुनको लागि तालिमले सहयोग पुर्याउन सक्छ भन्ने लाग्यो । यसकारण उनी तालिम लिनको लागि पोखरा तर्फ लागे । त्यहाँबाट सुनचाँदीका कलात्मक गरगहना निर्माण सम्बन्धी ६ महिना लामो तालिम लिए ।
तालिमले एकातिर प्राविधिक ज्ञान दिलायो, त्यसकाे अलावा तालिमले नै उनलाइ ज्वेलर्स क्षेत्रमा संलग्न हुनको लागि आत्मविश्वास समेत विकास गरायो । जसले गर्दा उनी ज्वेलर्स व्यवसायमा संलग्न हुनकाे लागि हाैसिए । २०५५ को दशक सम्म नेपालमा सुनचाँदी धेरै महँगिसकेको थिएन । एक तोला सुनको मूल्य त्यस बेला ८–१० हजारको हाराहारीमा पथ्र्यो । गाउँमा सुनचाँदी व्यवसाय गर्नको लागि अहिले जस्तो ठूलो रकम आफैंले अग्रिम लगानी गर्नुपर्दैनथ्यो । जुन ग्राहकले कुनै गहना निर्माणको लागि अर्डर दिनुहुन्थ्यो, सुन ऊहाँ आफैंले लिएर आउनुभएको हुन्थ्यो । केबल २–३ लाख रकम लगानीबाट उनले पसल सेटअप गरे । त्यति बेलासम्म सुनचाँदी मूलतः सीपमा आधारित व्यवसाय थियो । ५–७ बर्ष पाल्पाबाट नै व्यवसाय चलाइसकेपछि उनी बुटबल झरे र त्यहाँबाट व्यापार गर्न थाले । बुटबल पाल्पा, गुल्मी, अर्घाखाँची लगायतका पहाडी जिल्लाको लागि व्यापारिक केन्द्रको रुपमा रहँदै आएको थियो । बुटबलमा व्यापार अझ फस्टाउँदै गयो । १५ बर्ष सम्म त्यहीँबाट व्यापार चलाई राम्रो आधार तयार गरेपछि विगत ३ बर्ष पहिलेबाट उनी काठमाडौं समेत आफ्नो व्यापारिक सञ्जाल बिस्तार गर्न सफल भए ।
चन्द्रमानलाई ज्वेलरी व्यवसायमा संलग्न हुनको लागि तालिमले सहयोग पुर्याउन सक्छ भन्ने लाग्यो । यसकारण उनी तालिम लिनको लागि पोखरा तर्फ लागे । त्यहाँबाट सुनचाँदीका कलात्मक गरगहना निर्माण सम्बन्धी ६ महिना लामो तालिम लिए ।
सफलताको आधार
मल्लले जुन समयमा व्यवसाय शुरु गरे, त्यस समय सम्म अहिले जस्तो ठूलो शोरुम चलाएर सुनचाँदीको कारोबार गर्नुपर्दैनथ्यो । त्यतिबेलाका ग्राहकहरुमा धैर्यता हुन्थ्यो । केवल ग्राहकको विश्वास भने जित्न सक्नुपथ्र्यो । सफलता प्राप्तिको लागि सेवाको गुणस्तर निकै महत्वपूर्ण हुन्छ । आफ्नो गञ्तव्यलाई फराकिलो बनाउँदै लैजानुपर्छ भन्ने उनलाई लाग्दै गयो । साधारण अवस्थाबाट सञ्चालनमा आएको पाल्पा जस्तो साँघुरो बजारमा समेत १५–२० जना व्यक्तिलाई काममा लगाउने तयार गर्नु चानचुने कुरा थिएन । बुटबलमा झरेपश्चात् पनि व्यवसायले राम्रो प्रभाव पार्न सफल भयो । मानिसहरुबाट एक पटक विश्वास प्राप्त गरेपश्चात् त्यसले व्यावसायिक सफलतामा दीर्घकालिन प्रभाव पार्दोरहेछ । पछि सुनचाँदी व्यवसायलाई ब्राण्डिङ गर्ने क्रम शुरु भयो । मल्ल आफ्नो व्यवसायलाई पनि राष्ट्रिय ब्राण्डको रुपमा विकास गर्न सकियोस् भन्ने मान्यताले काठमाडौं प्रवेश गरेका हुन् । सुनको शुद्धताको कारण अहिले अवतार ज्वेलर्स एक राष्ट्रिय ब्राण्ड बन्न सकेको हो ।

सुनचाँदीमा विचारणीय पक्ष
सुन निकै महँगो धातु हो । यस क्षेत्रमा काम गर्ने व्यक्ति माथि ग्राहक वर्गको विश्वास महत्वपूर्ण हुन्छ । ग्राहकलाई गुणस्तर र परिमाणमा कत्ति मर्का नपर्ने गरी व्यवसायीले काम गर्नुपर्छ । प्राविधिक पक्ष बारे अधिकांश ग्राहकहरुलाई थाहा हुँदैन । यसकारण आफ्नो सेवाको गुणस्तरलाई सेवाप्रदायकले नै सुनिश्चित गरिदिनुपर्छ ।
राज्यसँग अनुरोध
अहिले नेपालमा सुनचाँदी व्यक्तिले सिधै किन्न पाउने प्रावधान छैन । बाणिज्य बैंकहरु मार्फत सुनचाँदी महासंघ र जिल्ला संघहरुबाट व्यवसायीलाई सुन वितरण गर्ने प्रचलन छ । सुन संस्थाबाट लिनुपर्दा व्यवसायीले सहज रुपमा आफूलाई आवश्यक पर्ने सुन प्राप्त गर्न नसक्ने अवस्था छ । सुनमा सहज पहुँच नहुँदा व्यवसायीले सुन प्राप्ति गर्न कठिनाई भोग्नुपर्छ । कहिले सुन प्रशस्त प्राप्त हुन्छ त कहिले अत्यन्तै हाहाकार । सुन प्राप्तिमा रहेको सिण्डिकेट हटाउनको लागि राज्यले विशेष पहल चाल्नु जरुरी छ ।
सुन व्यवसायमा अहिले पनि मिसावट, तौलमा कैफियत लगायतका समस्या पनि विगतमा यदाकदा नदेखिने गरेका होइनन् । सस्तोमा सुन उपलब्ध गराउने नाममा अप्रत्यक्ष रुपमा ग्राहकलाई नोक्सान पुर्याउने मान्यता राख्ने व्यवसायीबाट ग्राहक ठगिने सम्भावना पनि रहन सक्छ । यस कुरामा स्वयं ग्राहक पनि सचेत हुनुपर्छ ।
पैसा कसरी कमाउने ?
३–४ लाखको प्रारम्भिक लगानीबाट अघी बढेको मेरो व्यावसायिक बिस्तार अहिले १५–२० करोड भन्दा माथि बिस्तार भएको छ । यो सफलता मेरो २५ बर्ष लामो धैर्यता, विश्वास र तपस्याबाट प्राप्त भएको हो । ग्राहकवर्गको विश्वास, इष्टमित्रको साथसहयोग र इश्वरको आशिर्वादले मलाई यो सफलता दिलाएको हो । व्यवसायमा संलग्न हुने व्यक्तिले भविष्य राम्रो भएको व्यवसाय छनौट गर्न सक्नुपर्छ । व्यवसायमा प्रतिष्पर्धा सँग डराउनुहुँदैन । तथापि बजारमा स्वस्थ प्रतिष्पर्धा भन्दा अस्वस्थ प्रतिष्पर्धा हाम्रो लागि ठूलो चिन्ताको विषय बन्दै गएको छ । व्यवसायमा संलग्न व्यक्तिले आफूले कमाएको रकमलाई पुनः त्यहीँ लगानी गर्दै व्यवसायको आकारलाई बढाउँदै लैजानुपर्छ । आवश्यकता अनुसार व्यवसाय बिस्तारको लागि बैंकबाट कर्जा पनि लिनुपर्छ । एउटै क्षेत्रमा निश्चित रणनीति सहित अघी बढेर नै हामी व्यवसायलाई माथिल्लो उचाईमा उठाउन सक्छौं ।

ज्वेलर्स व्यवसायको अहिलेको अवस्था
ज्वेलर्स व्यवसाय पछिल्ला दिनहरुमा अलि जटिल मोडमा छ । यस व्यवसायमा बैंकबाट कर्जा लिएर लगानी गर्ने व्यक्ति धानिनै नसक्ने अवस्था छ । लगानीको हिसाबले यो व्यवसाय निकै महँगो बनिसकेको छ । ज्वेलर्स व्यवसायमा राम्रो तवरले सतर्क नगरी काम गर्ने व्यक्ति विस्थापित हुनुपर्ने अवस्था समेत मैले देखेको छु । अवस्था यस्तै रहने हो भने स्वपुँजी नभई कर्जा लिएर चलेका थुप्रै ज्वेलर्स व्यवसायीहरु छिट्टै विस्थापित हुने स्थिति छ ।
नेपालमा सुनचाँदी व्यवसायमा अहिले नेपाली कामदार पाउन मुस्किल छ । यस व्यवसायमा संलग्न अधिकांश कालिगढहरु भारतीय नागरिक छन् । अहिले मेरो व्यवसाय मार्फत सबै गरी करिब ५० कामदारहरुले जागिर उपलब्ध गराएको छु । करोडौं लगानी गरेर पनि अहिलेको अवस्थालाई विचार गर्दा आफ्नो व्यवसायलाई पुस्तान्तरण गर्नु निकै चुनौतीपूर्ण छ ।
समस्या
नेपालमा सुनचाँदी व्यवसायमा अहिले नेपाली कामदार पाउन मुस्किल छ । यस व्यवसायमा संलग्न अधिकांश कालिगढहरु भारतीय नागरिक छन् । अहिले मेरो व्यवसाय मार्फत सबै गरी करिब ५० कामदारहरुले जागिर उपलब्ध गराएको छु । करोडौं लगानी गरेर पनि अहिलेको अवस्थालाई विचार गर्दा आफ्नो व्यवसायलाई पुस्तान्तरण गर्नु निकै चुनौतीपूर्ण छ । सुनचाँदीमा रहेको सिण्डिकेटलाई अन्त्य नगर्ने हो भने यस व्यवसायमा काम गर्न निकै कठिन छ ।
सामाजिक आबद्धता
मल्ल सामाजिक कार्यमा पनि रुचि राख्ने व्यक्ति हुन् । यद्यपि अन्य साथीहरुसँग सल्लाह गरेर सञ्चालनमा ल्याएको एउटा संस्थाबाट उनले राम्रै धोका पनि पाएका छन् । जसबाट उनले धेरै सिके । आफूले कमाएर मात्र हुँदैन, आफ्नो तर्फबाट समाज र राष्ट्रको लागि केही योगदान पुग्न सक्नुपर्छ । मुलुकको विकासको पक्षमा काम गर्ने व्यक्तिहरु संगठित भएर कुरीति, विकृति र विसङ्गतिको विरुद्धमा लड्नुपर्ने मान्यता सहित आफ्ना कामहरु अघी बढाउने उद्धेश्य सहित उनी अघी बढिरहेका छन् ।
अन्त्यमा
व्यक्ति एक जना सफल हुँदैमा समग्र अर्थतन्त्र र राष्ट्र प्रतिको दृष्टिकोण बदलिन्छ भन्ने हुँदैन । यसकारण मल्ल मुलुकको समग्र स्थिति नै सुध्रियोस् भन्ने चाहन्छन् । यसकाे लागि हाम्रो संसदीय प्रणालीमा नै सुधार हुन सकोस् भन्ने उनी चाहन्छन् । उनी नेपाललाई विश्वले नै हेर्ने दृष्टिकोणमा कसरी बदलाव ल्याउन सकिन्छ भन्ने मान्यता सहित काम गर्नुपर्ने बताउँछन् । विगतको गौरवमय इतिहासलाई सम्झने हो भने अहिले हाम्रो अवस्था अत्यन्तै कमजोर बन्दै गएको छ । मुलुकको उत्पादकत्व घटेको छ । हामी आयातमा निर्भर छौं । युवा पलायन बढ्दो छ । सुशासन कमजोर बन्दै गएको छ । यस्तो अवस्थामा समृद्धिको बोक्रे नाराले मात्रै पुग्दैन । अबका दिनमा सबै नेपालीहरु आफ्नो देशलाई समृद्ध र सुसंस्कृत बनाउनको लागि काम गर्नुपर्छ । त्यस काममा आफूले युवाहरुलाई आह्वान गरेर केही प्रयत्न गर्नुपर्ने मान्यतामा छन् मल्ल ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij