
भनिन्छ, कृतज्ञता नै हृदयको स्मरण हो ।
आज सम्म आइपुग्दा विगतका १९ दिनमा हामीले विभिन्न तवरले कृतज्ञता सम्बन्धी अभ्यास गरिसकेका छौं । यी विभिन्न किसिमले गरेका कृतज्ञता अभ्यासको एक मात्र उद्धेश्य भनेको हामी आफूलाई भित्र देखि नै सकारात्मक अनुभवमा पु¥याउन सकौं भन्ने हो । जब हामी आफू भित्र यसरी कृतज्ञता भाव विकास गर्न सक्छौं, त्यसको प्रतिफल बाहिरी संसारमा भित्री संसारको प्रतिबिम्बको रुपमा अवश्य प्राप्त गर्नेछौं ।
यदि हामी कुनै न कुनै तरिकाले लामो समय आफूलाई कृतज्ञता व्यक्त गर्नको लागि बानी पार्छौं भने त्यो कृतज्ञता हाम्रो भित्री हृदयमा स्वभाविक रुपमा अनुभुति हुन थाल्नेछ । आजको चामत्कारिक अभ्यासले हामी आफूलाई कृतज्ञताको अनुभवमा पुग्न लाग्ने समयलाई धेरै हद सम्म घटाउनेछौं । किनकि आज हामी सिधै हृदयको गतिसँग एकाकार भएर अभ्यास गर्नेछौं ।
चामत्कारिक हृदय अभ्यास किन ?
भनिन्छ, मन, वचन र कर्मबाट एकै तरिकामा गरेको संकल्पले वास्तविकता निर्माण गर्दछ । संकल्पमा शक्ति छ । तर हामीले सफलता प्राप्त गर्नको लागि हाम्रो मन हाम्रो वचन र हामीले गर्ने कर्मको मेल अर्थात सामञ्जस्यता भने हुनैपर्छ ।
संस्कृतमा एउटा श्लोक छ,
‘कायेन वाचा मनसैन्द्रियैर्वा बुद्ध्यात्मना वा प्रकृति स्वभावात् ।
करोमि यत्यत् सकल परस्मै नारायणायेति समर्पयामि ।।’
यस श्लोकले हामीले शरीर, वचन, मन, इन्द्रिय, बुद्धि, आत्मा, प्रकृति र स्वभावबाट काम गर्नुपर्ने, सबैको मेल हुनुपर्ने साथै कर्मको जस आफूले नभई भगवान् नारायण अर्थात ब्रह्माण्डीय शक्तिलाई प्रकट गर्नुपर्ने कुरामा जोड दिन्छ ।
वैज्ञानिक खोजले भन्छन् कि जब हामी आफ्नो कामलाई हृदयको गतिसँग तालमेल गराउँछौं, हामी तत्काल शान्त, आनन्द र करुणाको अवस्थामा पुग्छौं । यसबाट हाम्रो प्रतिरक्षात्मक क्षमता र स्वास्थ्यलाई थप बलियो हुने अवस्था सृजना हुन्छ । शुरुवाती चरणमा हृदयबाट नै कृतज्ञता भाव प्रकट गर्न हामीलाई केही अप्ठ्यारो हुन सक्छ, किनकि आज सम्म हामीलाई यसको अभ्यास भएको छैन । जब हामी आफ्नो अभ्यासलाई बढाउँदै जान्छौं, तब यसबाट मिल्ने परिणाम चक्रीय र गुणात्मक रुपमा वृद्धि हुँदै गएको हामीले पाउनेछौं ।
यो अभ्यास कसरी गर्ने ?
सबैभन्दा पहिले आफ्नो पूरा ध्यान आफ्नो मष्तिष्कमा केन्द्रित गरौं । केही शान्तिको अनुभव भएपश्चात् अब आफ्नो ध्यान हृदयको अवस्था बारे अनुभव गर्नमा केन्द्रित गराउँ । आँखा बन्द गरौं । आफ्नो हृदयमा उत्पत्ति हुने हरेक प्रतिक्रियाको अनुभव गर्नमा केन्द्रित बनौं । मुटुको धड्कनसँगै चामत्कारिक शब्द ‘धन्यवाद’ व्यक्त गरौं । अब धन्यवाद आवाज मुखबाट नभई हृदयबाट नै निस्किइरहेको अनुभव गरौं ।
यस अभ्यासलाई अझ बढी प्रभावकारी बनाउनको लागि आफ्नो दाहिने हातलाई हृदय क्षेत्रमा राखेर अभ्यास गर्न सक्छौं । जसबाट हाम्रो मष्तिष्कलाई त्यस क्षेत्रमा थप केन्द्रित हुन सहयोग पुग्नेछ । धन्यवाद भाव मष्तिष्कबाट नभई हृदयबाट निस्किइरहेको अनुभव गरेर आफूलाई अझ बढी आनन्दको गहिराईमा पु¥याउँ ।
थप अभ्यास
आफूले प्राप्ति गर्न चाहेका १० ओटा चाहना वा योजनाहरु डायरीमा टिपोट गरौं । जुन चाहनाहरु जादुमय तवरले पूरा हुन सकुन् । पहिले एउटा चाहनालाई लिएर त्यसलाई मनमनै (वा जोडसँग आवाज निकालेर) पढौं । अब आँखा बन्द गरेर आफ्नो मष्तिष्कलाई हृदय क्षेत्रमा केन्द्रित गराउँ । अब बिस्तारै हृदयबाट नै चामत्कारिक ‘धन्यवाद’ भाव निस्किइरहेको अनुभव गरौं । आफूले तय गरेका १० ओटै चाहनाहरुमा त्यसरी नै कृतज्ञता अभ्यास गरौं ।
यस अभ्यासले हामीलाई कृतज्ञ भावको अलावा हाम्रा योजना र चाहनाहरुलाई समेत ब्रह्माण्डीय शक्तिसँग जोड्ने काम गर्दछ । यसरी अभ्यास गर्दा हामीले ती चाहनाहरुलाई पूरा गराउनको लागि हामीले ब्रह्माण्डलाई आदेश दिएका हुन्छौं । ती आदेश अनुसार योजना पूरा गर्नको लागि हामीलाई ब्रह्माण्डले कुनै माध्यम वा घटना, परिस्थिति निर्माण गरेर हाम्रो माध्यमबाट त्यसलाई पूरा गर्ने तरिका दिन्छ । ब्रह्माण्डले हामीसँग कुरा गर्ने भाषा भनेकै सङ्केत हो । हामीले त्यस सङ्केतलाई ब्रह्माण्डीय भाषा मानेर काममा संलग्न हुनुपर्छ ।
र यो पनि….
हामीले आफ्ना चाहनाहरुलाई अझ छिटो र धेरै मात्रामा पूरा गर्नको लागि यस अभ्यासलाई अझ बढाउँदै लैजानुपर्ने हुन्छ । हामी यसलाई जुनसुकै ठाउँ र समयमा प्रयोग गरेर आफू भित्र कृतज्ञ भावलाई निरन्तर बढाउन सक्छौं । एक दिनमा धेरै पटक हामी यसलाई प्रयोग गर्न सक्छौं ।
जति हामी आफूमा अधिक कृतज्ञता भाव महसुस गर्न सक्छौं, त्यत्ति नै धेरै हामी खुसी, स्वास्थ्य र सम्पन्नताको नजिक पुगिरहेका हुन्छौं । अभ्यास बढ्दै जाँदा हामी आफ्नो शरीरमा कम्पन भइरहेको, आफ्नो हृदयमा कुनै आवाज गुन्जायमान भइरहेको, शरीर वा कुनै अङ्ग तातेको वा ऊर्जाशिल अवस्थामा पुगेको हामी महसुस गर्न सक्छौं । जसको अर्थ हामीमा कृतज्ञताको प्रभाव बढ्दै गएको ठानेर यस अभ्यासलाई अझ निरन्तरता दिँदै जाउँ ।
आजको अभ्यास
१। आज यस अघि कृतज्ञता प्रकटको लागि डायरीमा टिपोट गरेका सबै सकारात्मक बुँदाहरु एकपटक पढौं ।
२। त्यो सूचीमा कृतज्ञता प्रकट गर्नको लागि थप १० ओटा सकारात्मक बुँदाहरु थपौं । ती सबैलाई कम्तीमा एक पटक पढौं र हामी कृतज्ञ रहनुका कारणहरु सहित धन्यवाद व्यक्त गरौं ।
३। आफ्नो ध्यान हृदय क्षेत्रमा केन्द्रित गरौं ।
४। आँखा बन्द गरौं । पूरा ध्यान हृदय क्षेत्रमा केन्द्रित गरेर हृदयबाट नै हरेक धड्कनमा धन्यवाद भाव निस्किइरहेको र यसबाट आफ्नो शरीरका सबै अङ्गहरु थप स्वस्थ बन्दै गएको महसुस गरौं ।
५। आज हामी १० ओटा योजना वा चाहनाहरुलाई लिउँ । प्रत्येक चाहनालाई एक–एक गरेर कृतज्ञता बन्द गरौं । आँखा बन्द गरेर आफ्नो चाहना अनुसारको चिज आफूलाई प्राप्त भएको अनुभव गराैँ । प्रत्येक चाहना पूरा भएको र हृदयबाट नै धन्यवाद भाव निस्किइरहेको अनुभव गरौं
६। राती ओछ्यानमा सुत्नु भन्दा पहिले दोस्रो दिनको चमत्कारी पत्थर हातमा लिएर आजको दिन सुखद बनेकोमा खुसी व्यक्त गरौं । आजका दिनभरका हरेक सुखद यादहरु कम्तीमा १० ओटालाई सम्झेर खुसी र कृतज्ञ भाव सहित विश्राम लिउँ ।
हामीहरु सबैको आजको दिन शुभ रहोस् । साथै हरेक दिनहरु यसरी नै सुखद बन्दै जाउन् । हार्दिक कृतज्ञता सहित । धन्यवाद धन्यवाद ।। धन्यवाद ।।।
– कमल पन्थी
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij