२०८३ कार्तिक २२ शनिबार

Nov 07 2026 Saturday

  • २०८३ कार्तिक २२ शनिबार

२०८३ कार्तिक २२ शनिबार

सोनाको पहलमा राष्ट्रिय सम्मेलन आयोजना गरी पर्यटन प्रवद्र्धनमा पहल गरिने

सोनाको पहलमा राष्ट्रिय सम्मेलन आयोजना गरी पर्यटन प्रवद्र्धनमा पहल गरिने

सोसाइटी अफ नेप्लिज आर्किटेक्ट (SONA) को आयोजनामा यही डिसेम्बर २० र २१ मा काठमाडौंमा भव्य रुपमा आर्किटेक्ट (वास्तुविद्)हरुको राष्ट्रिय सम्मेलन आयोजना गरिने भएको छ ।

पर्यटन प्रवद्र्धनमा थप टेवा पुर्याउने मान्यता सहित आयोजना गर्न लागिएको विशेष कार्यक्रम अन्तरगत प्रदर्शनी तथा सम्मेलन मुख्य रहनेछन् । प्रदर्शनीमा कलात्मक दृश्यहरु झल्किने फोटोग्राफी, विभिन्न भौगोलिक संरचना तथा इन्जिनियर एवं आर्किटेक्टबाट डिजाइन गरिएका महत्वपूर्ण प्रोजेक्टहरुको डिजाइन लगायत रहनेछन् । उक्त प्रदर्शनी पाटन दरबार क्षेत्र र ठमेलको छाया सेन्टरमा आयोजना गरिनेछ ।

Architectural Responses to Tourism in Nepal भन्ने नारा सहित आयोजना हुन लागेको उक्त सम्मेलनले पर्यटन प्रवद्र्धनमा आर्किटेक्चर क्षेत्रले खेल्न सक्ने भूमिका बारे पर्यटन व्यवसायी एवं राज्य मातहतका व्यक्तिहरुलाई विशेष जागरुक बनाउने अपेक्षा गरिएको छ ।

सोही बमोजिम उक्त सम्मेलनमा आर्किटेक्ट, शहरी योजनाविद्, इन्जिनियर, निर्माण व्यवसायी, नेपाल सरकार मातहतका मन्त्रालयका सचिव एवं मन्त्री, परामर्शदाता कम्पनीका प्रतिनिधिहरु, दातृ निकायका प्रतिनिधि, निर्माण सामाग्री उत्पादक तथा सप्लायर्स, पर्यटन व्यवसायी, विज्ञ लगायत विभिन्न क्षेत्रमा संलग्न व्यक्तिहरुको सहभागिता रहनेछ ।

उक्त सम्मेलनमा भाग लिन चाहने व्यक्तिहरुले पहिले नै आफ्नो नाम दर्ता गराउनुपर्नेछ । नाम दर्ताको लागि बुकिङ खुल्ला भएको सोनाले जनाएको छ ।

सम्मेलनमा नयाँ शहरको परिकल्पना, उत्थानशिल विकासको निम्ति भएका अभ्यासहरु, विभिन्न प्रोजेक्टहरुको सम्भाव्यता बारे छलफल, आगामी दिनमा नेपालमा धार्मिक तथा सांस्कृतिक पर्यटनको महत्व र आवश्यकता लगायतका विषयहरु समेटेर विज्ञहरुले आ–आफ्ना कार्यपत्र प्रस्तुत गर्ने र प्यानल डिस्कसन सहित अबको कार्यदिशा कस्तो हुने भन्ने बारे निचोडमा पुग्ने सोनाको कार्ययोजना छ ।

कस्तो संस्था हो सोना ?
नेपालमा कार्यरत आर्किटेक्टहरुको हक, हित र अधिकारको लागि काम गर्दै आएको संस्था हो सोना । यस संस्थाले समय–समयमा आर्किटेक्टहरुको क्षमता अभिवृद्धिको लागि काम गर्दै आएको छ भने राज्य पक्षसँग समेत सहकार्य गर्दै आवश्यक नीति निर्धारण तथा अन्य विविध विषयहरुमा काम गर्दै आइरहेको छ ।

आर्किटेक्टहरुको पहिचान स्थापनाको लागि समेत काम गर्दै आएको यस संस्थाले समय–समयमा विभिन्न तालिम, गोष्ठी लगायतका कार्यक्रम आयोजना गरी कला संस्कृतिको जगेर्ना गर्दै नयाँ तवरले यसको अध्ययन तथा अनुसन्धान गरी समयानुकुल परिष्कृत गर्दै लैजानेमा समेत विशेष जोड दिँदै आएको छ । पछिल्ला बर्षहरुमा यस संस्थाले लामो समय देखि आर्किटेक्ट काउन्सिलको समेत माग गर्दै आएको छ ।

सम्मेलनको महत्व
सन् २०२० लाई नेपाल सरकारले भ्रमण बर्षको रुपमा मनाउन लागेको परिवेशमा हाल सोनाबाट आयोजना गर्न लागिएको यस सम्मेलनले पर्यटन प्रवद्र्धनको लागि पुर्याउन सक्ने भूमिकालाई विशेष महत्वको साथ हेरिएको छ ।
नेपाल प्राकृतिक रुपमा नै सौन्दर्यताले भरिपुर्ण रहेको र यहाँका प्राकृतिक संरचनाहरुको प्रवद्र्धनको अलावा विभिन्न मानवीय संरचनाहरु निर्माण गर्न सकेको खण्डमा नेपालमा विदेशी पर्यटकहरुको आवागमनलाई निकै नै वृद्धि गर्न सकिने अवस्था समेत छ ।

यसरी हाम्रो आवश्यकता बमोजिमका मानवीय संरचनाहरुको अध्ययन, पहिचान एवं निर्माण गर्ने कार्यमा आर्किटेक्टको भूमिका निकै महत्वपूर्ण रहने कुरालाई आत्मसात् गर्दै सोही बमोजिम हाम्रा संरचना निर्माण गर्न सकेको खण्डमा तुलनात्मक रुपमा कम लागतमा नै हाम्रा संरचनाहरुलाई दिगो र बहुउपयोगी बनाउन सकिनेमा सोनाले पछिल्लो समय सरोकारवाला निकायहरुलाई समेत सचेत गराउँदै आएको छ

कार्यक्रमकाे बारेमा थप जानकारीकाे लागि याे लि‌ंक क्लिक गर्नुहाेला ।

Invitees Brochure

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij