कमल पन्थी, सम्पादक, ज्ञानसन्देश द्वैमासिक
अबको समाज सभ्य, सुसंस्कृत, दिगो र समृद्ध हुनुपर्दछ । जहाँ सबैका चाहना, भावना र आवश्यकताहरु परिपुर्ति हुन सकुन् । यस समाजमा सबै व्यक्तिहरूलाई समान अवसर र अधिकार प्राप्त हुन सकोस् । सबैले सुशासनको प्रत्याभुति गर्न सकुन् । कोही निषेधित हुन नपरोस् । यसको लागि क्षमता विकास, सामाजिक न्याय, सुशासन र उत्तरदायित्वको अवधारणा अत्यन्त महत्वपूर्ण हुन आउँछ । भविष्यका यी विशेषताहरूलाई सुनिश्चित गर्न यो आवश्यक छ कि हामीले विद्यालय शिक्षामा नै सबैको पहुँच, न्यायको प्रत्याभूति, अवसरको समान वितरण, कानूनी राज्यको अनुभूति र पृथक क्षमताको प्रोत्साहनको विषयमा ध्यान केन्द्रित गर्न सक्नुपर्छ भन्ने यस लेखको उद्देश्य रहनेछ ।
विद्यालय शिक्षामा सबैको समान पहुँच आवश्यक
समाजको आधारशिला शिक्षामा हुन्छ । यदि हामी शिक्षामा समान पहुँचको कुरा गरिरहेका छौं भने यसले समाजमा समान अवसर र विकासको मार्ग खोल्ने काम गर्दछ भन्ने बुझ्न सक्नुपर्छ । विद्यालय शिक्षामा सबैको पहुँच भन्नाले कुनै पनि वर्ग र समुदायका बालबालिकाहरूलाई समान शिक्षा प्राप्त गर्नको अवसर दिनु हो । अहिले पनि ग्रामीण क्षेत्रका थुप्रै बालबालिकाहरू निर्धन परिवारका सदस्यहरू र लैंगिक, जातीय वा सामाजिक भेदभावका कारण शिक्षा प्रणालीबाट बाहिर रहनुपरेको छ । ती सबै व्यक्तिहरुलाई शिक्षाको मूलधारमा ल्याउनुपर्दछ । यसका लागि सरकार, निजी क्षेत्र एवं दातृ संस्थाहरुले शैक्षिक संस्थाहरूको लागि आवश्यक भौतिक पूर्वाधार निर्माण, पाठ्यपुस्तक, प्राविधिक सामाग्रीहरु, पोषक खाद्य पदार्थ, कपडा, शिक्षकहरूको क्षमता विकास एवं आवश्यकता अनुसार बजेट व्यवस्थापन एवं पाठ्यक्रममा परिमार्जन गर्दै अघी बढ्नुपर्ने आवश्यकता देखिन्छ ।
सामाजिक न्याय
सामाजिक न्याय भनेको सबैलाई समान अवसर र अधिकार दिनु हो । अहिलेको समाजमा धेरै ठाउँमा सामाजिक भेदभाव, वर्गीय भेद, जातीय भेद र लैंगिक भेदको कारणले मानिसहरूले पूर्ण रूपमा न्याय पाउन नसकेको अवस्था छ । यसलाई सुधार गर्नका लागि न्यायपूर्ण र समान कानूनी संरचना सहितको समतामूलक समाज निर्माण गर्नु अत्यन्त महत्वपूर्ण हुन आउँछ । यस्तो समाज, जहाँ सबैलाई न्यायको प्रत्याभूति हुनेछ, त्यहाँ अपराध र भ्रष्टाचार कम हुनेछ । न्यायालयले सबैको हक र अधिकारको रक्षा गर्ने, असमानता र भेदभावका विरुद्ध संघर्ष गर्ने र नागरिकको हितमा निर्णय लिने काम गर्न सक्नुपर्छ । यसको अलावा न्याय प्राप्तिको कानूनी प्रक्रियालाई सरल, सुलभ, सहज र द्रुत बनाउनुनपर्ने जरुरी समेत छ ।
सबैलाई उचित अवसर
समाजमा सबै व्यक्तिहरूलाई उचित अवसरको प्रदान गर्नको लागि केवल समान आर्थिक, शैक्षिक र सामाजिक अधिकारहरू मात्र प्रयाप्त हुँदैनन् । यसले हरेक व्यक्तिमा रहेको व्यक्तिको पृथक क्षमता र सृजनात्मकतालाई पनि प्रतिनिधित्व गर्न सक्नुपर्दछ । अहिलेको नेपाली समाजमा विशेषगरी महिलाहरू, बालबालिकाहरू, अपाङ्गता भएका व्यक्तिहरू र अन्य सामाजिक रूपमा पछि परेका वर्गका लागि समान अवसरहरू सुनिश्चित गर्नुपर्छ । यस्ता व्यक्तिहरूलाई विभिन्न क्षेत्रहरूमा आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर दिइनुपर्छ ।
कानूनी राज्यको अनुभूति
कानूनी राज्य भनेको त्यस्तो समाज हो, जहाँ कानूनी संरचनाहरू र नीतिहरूले प्रत्येक नागरिकको अधिकारको रक्षा हुन सकोस् । यस अवधारणाले कुनै पनि व्यक्तिको अधिकार सम्बन्धमा भेदभाव गर्दैन र कानूनी प्रक्रियामा सबैलाई समान व्यवहार गर्दछ । नेपालको जस्तो विकासशील देशका लागि, कानूनी राज्यको अवधारणा अत्यन्त महत्वपूर्ण छ । जब मानिसहरूले कानून र शासन व्यवस्थामा विश्वास गर्न थाल्छन्, तब मात्र समाजमा शान्ति र समृद्धि स्थापना गर्न सकिन्छ । कानूनी राज्यले अन्याय र अपराधलाई कम गर्छ र यसले सुशासन सहितको न्यायपूर्ण एवं समृद्ध समाजको निर्माणमा सहयोग पुर्याउँदछ । यसका लागि, संविधान र कानूनको पालना अनिवार्य बनाउन, भ्रष्टाचार र अन्य अनियमितताहरूलाई रोक्न, र नागरिकका अधिकारहरूको संरक्षण गर्न आवश्यक छ ।
पृथक क्षमतालाई प्रोत्साहन
अबको समाजमा सबै व्यक्तिहरूलाई आफ्नो क्षमता र सीप अनुसार प्रोत्साहन दिइनुपर्छ । प्रत्येक व्यक्तिमा फरक प्रकारको क्षमता हुन्छ, र त्यसलाई सही तरिकामा मार्गदर्शन र प्रोत्साहन गर्न सकियो भने हामीले महत्वपूर्ण उपलब्धि हासिल गर्न सक्छौं । यदि कुनै व्यक्तिले विशेष क्षमतामा रुचि राख्छ भने उसलाई सो क्षेत्रको शिक्षा र तालिम प्राप्त गर्नको लागि आवश्यक अवसर उपलब्ध गराउनुपर्छ । सतही रुपमा बुझ्दा यसले केवल व्यक्तिगत विकासमा मात्र मद्दत पु¥याउने देखिएला, दिगो तवरबाट विचार गर्ने हो भने यसले समग्र समाजको प्रगतिमा धेरै ठूलो भूमिका खेलेको हुन्छ । यसकारण हामीले शैक्षिक, सांंस्कृतिक र व्यावसायिक क्षेत्रमा क्षमता विकासका लागि योजनाबद्ध कार्यक्रमहरू सञ्चालन गर्नु आवश्यक छ ।
अन्त्यमा,
आजको समाज पृथक दिशा र दृष्टिकोणको आवश्यकता राख्दछ । क्षमता विकास, सामाजिक न्याय, सुशासन र उत्तरदायित्वलाई प्रोत्साहन गर्ने समाजले मात्र भविष्यका चुनौतीहरूको सामना गर्न सक्छ । अबको समाज शिक्षामा सबैको पहुँच, न्यायको प्रत्याभूति, उचित अवसरहरूको वितरण, कानूनी राज्यको अनुभूति र पृथक क्षमताको प्रोत्साहन गर्ने समाज हुनुपर्छ । यी सबै तत्वहरू मिलेर एक सशक्त, समृद्ध र समान समाजको निर्माण हुनेछ । नेपाल भारत मैत्री संघले यस किसिमका गतिविधिहरुलाई प्रोत्साहित गर्नको लागि काम गरिरहेको छ । आगामी दिनमा यी गतिविधिहरुलाई प्रोत्साहित गर्नको लागि थप प्रभावकारी रुपमा काम गर्न सक्नेछ भन्ने अपेक्षा गर्दछु ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij