मधुकर वाग्ले, प्रमुख कार्यकारी अधिकृत शुक्रपथ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडकाठमाडौंको न्यूरोड स्थित सञ्चालित शुक्रपथ बहुउद्देश्यीय सहकारी सेवाग्र्राहीहरुको आवश्यकतालाई मध्यनजर गर्दै सोहीबमोजिमका सेवा विस्तारमा आफुलाई समर्पित गर्दै अगाडि बढिरहेको सहकारी हो । हाल करिब १ सय ४१ करोड रकम लगानी रहेको यस सहकारीमा ७ जनाको सञ्चालक समिति र ३ जना लेखा समिति रहनुको अलावा कर्जा, शिक्षा तथा तालिम, युवा, सदस्य कर्जा लगायतका विभिन्न उपसमितिहरुको माध्यमबाट सहकारीले आफ्नो सेवा प्रवाहलाई विशेष प्रभावकारी रुपमा सञ्चालन गर्दै आएको छ ।
आफ्ना सदस्यहरुको आवश्यकता बमोजिम नयाँ–नयाँ योजनाहरु ल्याई आफ्नो लगानीलाई विविधिकरण गर्दै लगेको यस सहकारीमा साना तथा मझौला श्रेणीका व्यवसायीहरु संलग्न छन् । आफ्ना सदस्यहरुको वित्तीय साक्षरता, स्वरोजगारमूलक कार्यमा प्रोत्साहन, तालिम तथा उद्यमशिलता जागरणमा उनी आवद्ध रहेको यस सहकारीले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ ।
हाल यस सहकारीको कार्यकारी प्रमुखको भूमिका मधुकर वाग्लेले निर्वाह गर्दै आउनुभएको छ । उहाँ विगत ७ बर्ष देखि यस सहकारीमा जोडिनुभएको हो । सानै देखि नै सामाजिक तथा सामुहिक नेतृत्वदायी काममा रुचि राख्ने उहाँ आफू संलग्न संस्थालाई एक सक्षम र सबल संस्थाको रुपमा विकास गराई त्यसको सफल तवरले नेतृत्व गर्न पाएकोमा सन्तुष्टि महसुस गर्नुहुन्छ ।
अर्भरै १० औं बर्षमा प्रवेश गरेको यस सहकारीले हाल सम्म आइपुग्दा ७ हजार सदस्यहरुको ठूलो सञ्जाल तयार पार्न सकेको छ । हाल बाग्मती अञ्चल अन्तरगतका ८ ओटा जिल्लाहरुमा रहेर आफ्ना गतिविधिहरु सञ्चालन गर्दै आएको यस सहकारीले सदस्यहरुको सुविधालाई लक्षित गर्दै एउटा केन्द्रीय कार्यालय र ६ ओटा सेवा केन्द्र गरी यस सहकारीले ७ ठाउँबाट सेवा प्रवाह गर्दै आइरहेको छ ।
आफ्ना सदस्यहरुलाई आधारभूत रुपमा वित्तीय साक्षर बनाउन सकेको खण्डमा मात्र त्यसबाट सदस्यहरु एवं सहकारी संस्था र अन्य सरोकारवालाहरुको सामुहिक लाभ हुन सक्छ भन्ने कुरामा यस सहकारीले जोड दिँदै आएको छ । सोही बमोजिम यस संस्थाले निरन्तर रुपमा आफ्ना गतिविधिहरु सञ्चालन गरिरहेको छ । यसको अलावा वित्तीय रुपमा साक्षर सदस्यहरुबाट सहकारी समाज निर्माण गर्ने योजना समेत संस्थाले तय गरेको छ ।
सदस्यहरुको माग बमोजिम नै सेवा प्रवाह गर्ने कार्यमा प्रतिवद्ध यस सहकारीले आफ्ना सदस्यहरुबाट नै निक्षेप संकलन गर्दछ । त्यही रकमलाई सरल र सुलभ तवरले कर्जा आवश्यक पर्ने उद्यमशिल सदस्यहरुलाई लगानी गर्छ । सहकारी सञ्चालनको लागि केही रकम अलग्याएर आर्थिक व्यवस्थापनको अलावा मुख्यतः सदस्यहरुको हकहितलाई नै विशेष सम्बोधन गर्दै आफ्ना गतिविधिहरु सञ्चालन गर्न सकेको कारण यो सहकारीले छोटो अवधिमा नै सेवाग्राहीहरुमा विशेष प्रभाव जमाउन सफल भएको छ ।
सहकारीका प्रमुख कार्यकारी अधिकृत वाग्लेलाइ भेटेर सहकारीकाे महत्व र आवश्यकता सम्बन्धी कुरा गरी तयार पारिएकाे छाेटाे सामाग्री यहाँ प्रस्तुत गरिएकाे छ ।
नेपालको सन्दर्भमा सहकारीको महत्वः
नेपाल जस्ता आर्थिक रुपमा सबै जनता सबल नबनिसकेको देशमा उनीहरुको जीवनस्तर माथि उठाउने कार्यमा सहकारी क्षेत्रले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ । सदस्यहरुलाई आर्थिक रुपमा शशक्त र स्वतन्त्र बनाउन कर्जा प्रवाह, सीप तथा सीप विकास, परामर्श सेवा, उत्पादनको सहज रुपमा बजारीकरण लगायतका कामहरुको माध्यमबाट सहकारीले सदस्यहरुको आम्दानी वृद्धि र विचौलियाविहीन तवरले उपयुक्त बजारमा उनीहरुका उत्पादन बिक्री गर्ने व्यवस्था गर्न सक्छन् ।
सहकारीले वित्तीय सेवा प्रवाहको लागि बैंकहरुले भन्दा फरक तवरले सहज रुपमा कर्जा प्रवाह गर्दछन् । सहकारी प्रति सदस्यहरुको विश्वास बढ्नुमा यो एक महत्वपूर्ण पक्ष हो । नेपालको संविधानमा नै ३ खम्बे अर्थनीति अबलम्बन गरिएको छ । जसमध्येको एउटा महत्वपूर्ण खम्बा सहकारी पनि हो । यसलाई जसरी संविधानले दायरा फराकिलो बनाइदिएको छ, त्यसरी नै सहकारी क्षेत्रले देशका हरेक कुनाकाप्चामा छरिएर रहेका पुँजी एकीकृत गरी त्यस मार्फत ग्रामीण जनताको आर्थिक विकासको लागि निश्चित प्रणालीको माध्यमबाट सेवा प्रवाह गरेर ठूलो योगदान पु¥याउने काम गर्दै आएको छ । यसलाई अझ विस्तार गर्नुपर्ने आवश्यकता छ । 
सहकारी संस्थामा संलग्न सदस्यहरुको आपसी सहकार्य र सद्भावको कारण यस क्षेत्रले न्यून आर्थिक उपार्जन भएका ग्रामीण क्षेत्रका जनताहरुलाई पनि वित्तीय पहुँचमा ल्याउनको लागि ठूलो भूमिका निर्वाह गरेको छ । शेयर सदस्य एवं वचतकर्ता सदस्यहरुको पुँजी सुरक्षित गर्दै सोही बमोजिम आफ्ना प्रशासनिक कामहरु र लगानीका नयाँ क्षेत्रको खोजी गर्दै आएको यस संस्थाले अघिल्लो बर्ष लगानीकर्ताहरुलाई १५ प्रतिशत सम्म मुनाफा वितरण गर्न सफल भएको थियो ।
अहिले यस सहकारीले आफ्नो सेवा क्षेत्र विस्तारको लागि गाउँ–गाउँमा पुगेर विभिन्न समूहगत रुपमा जनताहरुलाई एकीकृत गराई सोही बमोजिम उनीहरुको आवश्यकता पहिचान गरी विभिन्न उद्यमशिल तालिमहरु समेत सञ्चालन गर्दै आइरहेको छ । ‘सबैको पहुँचमा सहकारी, गरौं आर्थिक क्रान्ति हटाउँ गरीबी र बेरोजगारी’ भन्ने नारालाई अङ्गिकार गरी सोही बमोजिम आफ्ना क्रियाकलापहरु निरन्तर रुपमा अघी बढाएको छ ।
यस सहकारीमा १ सय १६ जना कर्मचारी र पदाधिकारी समिति समेत गरी यस सहकारीमा प्रत्यक्ष रुपमा करिब १ सय २५ जना व्यक्तिहरु व्यवस्थापनमा संलग्न रहेको यस सहकारीले आगामी दिनमा थप नयाँ योजनाहरु पस्कँदै जानेमा प्रतिबद्ध छ । एउटा व्यक्तिको सोच र योजनाबाट मात्र सहकारीले लक्षित उद्देश्य पूरा गर्न नसक्ने भएकोले यसको थप प्रवद्र्धनको लागि सामुहिक भावना, एकता र सहअस्तित्व आवश्यक रहन्छ ।
अन्त्यमा,
सहकारीले सामाजिक तथा आर्थिक परिवर्तनमा निकै ठूलो योगदान दिन सक्छ । सहकारीको माध्यमबाट यसलाई अझ प्रभावकारी बनाउँदै आर्थिक रुपान्तरण, उत्पादन वृद्धि, बजार व्यवस्थापन लगायत व्यावसायिक दायित्वको अलावा सामाजिक उत्तरदायित्व समेत सहकारी क्षेत्रको मुख्य दायित्व हुने गर्छ । ‘एकको लागि सबै र सबैको लागि एक’ भन्ने मन्त्रलाई आत्मसात् गर्दै अघी बढ्दा त्यसले सबै पक्षलाई फाइदा पुग्न सक्छ भन्ने मान्यता सहकारीको रहन्छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij