२०८३ असोज २ शुक्रबार

Sep 18 2026 Friday

  • २०८३ असोज २ शुक्रबार

२०८३ असोज २ शुक्रबार

ओम शिवपुरीको १५औं स्थापना दिवस भवन उद्घाटन सहित सम्पन्न

ओम शिवपुरीको १५औं स्थापना दिवस भवन उद्घाटन सहित सम्पन्न

 

काठमाडौं । तारकेश्वर स्थित सञ्चालनमा रहेको ओम शिवपुरी बचत तथा ऋण सहकारी संस्थाको भवन उद्घाटन सम्पन्न भएको छ ।

सहकारीको १५औं स्थापना दिवसको अवसर पारेर आयोजना गरिएको औपचारिक कार्यक्रम बीच आफ्नै नयाँ भवनको उद्घाटन समेत गरिएको हो ।

उक्त औपचारिक कार्यक्रम संस्थाका अध्यक्ष रविन्द्र केसीको सभापतित्वमा सम्पन्न भएको हो भने प्रमुख अतिथिको रुपमा सांसद एवं पूर्वशिक्षा मन्त्री शिशिर खनाल रहेका थिए । सभाको विशिष्ट अतिथिमा काठमाडौं ६ (ख)का सांसद अमन मास्के रहेका थिए ।

यसैगरी विशेष अतिथिको रुपमा तारकेश्वर नगरपालिकाका नगरप्रमुख कृष्णहरी महर्जन, राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेती, नेफस्कुनका अध्यक्ष परितोष पौड्याल लगायतका व्यक्तिहरु उपस्थित थिए ।

अतिथिको रुपमा विभिन्न प्रतिष्ठित व्यक्ति, समाजसेवी, जनप्रतिनिधि, व्यवसायी लगायतको समेत उपस्थिति रहेको थियो ।

कार्यक्रम राष्ट्रिय गान सँगै शुरुवात भएको थियो ।

उक्त कार्यक्रममा सहकारीको अवस्था सम्बन्धमा संस्थाका अध्यक्ष रविन्द्र केसीले जानकारी गराए । अध्यक्षको प्रतिवेदन समेत उनी आफैंले पेश गरेका थिए । आफूहरुले बचत एवं ऋणको माध्यमबाट अर्थतन्त्रलाई चलायमान बनाउने काम गर्दै आएको उनले बताए । सहकारीको सफलता आफ्नो पहलबाट मात्र सम्भव नभएको र सामुहिक पहलमा नै ओम शिवपुरी उत्कृष्ट सहकारी बन्न सकेको धारणा केसीले व्यक्त गरे ।

कार्यक्रममा धारणा राख्दै वक्ताहरुले सहकारी क्षेत्रमा देखिएका समस्या र यसका कारणहरु सम्बन्धमा केन्द्रित रहँदै आफ्नो धारणा व्यक्त गरेका थिए । सहकारी क्षेत्रलाई व्यवस्थित बनाउने कार्य सबै सरोकारवालाको चासोको विषय भएको बताइएको छ ।

सहकारी स्थापनाको छोटो समयमा पनि ठूलो उपलब्धि हासिल गरेकोमा वक्ताहरुले ओम शिवपुरीको नेतृत्व वर्गलाई बधाईं समेत व्यक्त गरे । आगामी दिनमा पनि सहकारीलाई व्यवस्थित तवरले सञ्चालनको लागि सुचित समेत गराएका छन् । सहकारीले सुशासनयुक्त सेवा प्रदान गर्नुपर्नेमा समेत वक्ताहरुको विशेष जोड छ ।

संक्षिप्तमा सहकारीको अवस्थाः
हाल ओम शिवपुरी बचत तथा ऋण सहकारीमा ४ करोड ८९ लाख रकम शेयर पुँजी रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ । ३१ करोड १० लाख रकम बचत संकलन र कर्जा तर्फ ६ सय २४ सदस्यहरुलाई ३७ करोड ६० लाख रकम कर्जा लगानी गरिएको बताइएको छ । भवन निर्माणको लागि निर्माण व्यवसायीसँग भएको सम्झौता रकम ६७ लाख ९३ हजार सहित हाल सम्म कुल २ करोड ६ लाख रकम लगानी भएको छ । यस सहकारीमा २५ सय भन्दा बढी शेयर सदस्यहरु छन् ।
१५ बर्ष पहिले २५ जना शेयर होल्डरबाट २५–२५ हजार रकम संकलन गरेर सञ्चालनमा ल्याइएको यस सहकारीले हाल २५ सय भन्दा बढी सदस्यहरुलाई सेवा प्रवाह गर्न सक्ने स्थिति सृजना हुनुलाई ठूलो उपलब्धिको रुपमा लिन सकिने वक्ताहरुको धारणा छ ।

प्रस्तुतीः कमल पन्थी

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij