काठमाडौं, १० चैत – राष्ट्रियसभाले सहकारी सम्बन्धी केही नेपाल ऐन संशोधन गर्न प्रस्तावित विधेयक, २०८१ स्वीकृत गरेको छ। आजको बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले पेश गर्नुभएको विधेयकमाथि छलफल भएपश्चात् बहुमतले अनुमोदन गरियो।
छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नहरूको उत्तर दिँदै मन्त्री अधिकारीले सहकारी क्षेत्रमा विद्यमान समस्याको समाधान गर्नकै लागि यो विधेयक ल्याइएको स्पष्ट पार्नुभयो। उहाँका अनुसार प्रस्तावित विधेयकले वर्तमान समस्यालाई तत्काल सम्बोधन गर्नेछ।
मन्त्री अधिकारीले सरकार प्रतिपक्ष, आम नागरिक र सरोकारवाला निकायहरूको भावना अनुरूप सहकारी क्षेत्रका चुनौती समाधान गर्न प्रतिबद्ध रहेको जानकारी गराउनुभयो।
उक्त छलफलमा सांसदहरू डा. बेदुराम भुसाल, किरणबाबु पुन, गङ्गाकुमारी बेल्वासे, इन्दिरादेवी गौतम, तुलप्रसाद विश्वकर्मा, युवराज शर्मा, उदयबहादुर बोहरा, मनरुपा शर्मा, तुलसाकुमारी दाहाल, जयन्तीदेवी राई, श्रीकृष्णप्रसाद अधिकारी, रुक्मिणी कोइराला, रेणु चन्द, राजेन्द्रलक्ष्मी गैरे र गोपीबहादुर सार्की अछामी सहभागी हुनुभएको थियो।
राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले संशोधन प्रस्ताव राख्न चाहने सांसदहरूले विधेयक शाखामा दर्ता गराउन सक्ने जानकारी गराउनुभयो।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij