
दिल बहादुर महर्जन लामो समय देखि सहकारी क्षेत्रमा संलग्न रहँदै आएका व्यक्ति हुन् । हाल कीर्तिपुर बहुउद्धेश्यीय सहकारीका अध्यक्ष रहेका महर्जन विभिन्न सामाजिक गतिविधिमा समेत संलग्न रहँदै आएका छन् । साधारण किसान परिवारमा जन्मिएर अटोमोबाइल क्षेत्रबाट आफ्नो करियर शुरु गरेका उनी लामो समय अटोमोबाइल क्षेत्रमा रहेर काम गरे । पछिल्लो समय झण्डै २ दशक भन्दा लामो समय उनी सहकारी क्षेत्रमा संलग्न रहँदै आएका छन् ।
कीर्तिपुरको विगत बारे सम्झँदै महर्जन विगतमा कीर्तिपुर मूलतः कृषिमा नै आधारित क्षेत्र रहेको बताउँछन् । महर्जनका अनुसार त्रिभुवन विश्वविद्यालय स्थापना हुनुपूर्व यहाँका सबै जनताको आर्थिक अवस्था कृषिमा नै निर्भर तर त्रिभुवन विश्वविद्यालयको स्थापना हुने क्रममा यहाँका स्थानीयहरुको हजारौं रोपनी जग्गा त्रिभुवन विश्वविद्यालयको नियन्त्रणमा रहन गयो । जसले गर्दा कृषिमा आधारित स्थानीयहरुलाई अप्ठ्यारो परेको महर्जन बताउँछन् ।
औपचारिक रुपमा विद्यालय तह (एसएलसी)को शिक्षा पूरा गरेपश्चात् उनले अटोमोबाइलतर्फ डिप्लोमा इन्जिनियरिङ शिक्षा लिए । साथै विभिन्न आधा दर्जन बहुराष्ट्रिय कम्पनीमा काम गर्दाको अनुभव एवं सामाजिक, सांस्कृतिक तथा राजनीतिक गतिविधिहरुमा भएको निरन्तरको क्रियाशिलताले खारिएर उनी हाल सबैको लागि खुल्ला पुस्तक बन्न पुगेका छन् । महर्जनलाई अहिले लाग्छ, औपचारिक शिक्षा भन्दा अनुभव बढी महत्वपूर्ण हुँदो रहेछ ।
अटोमोबाइल क्षेत्रमा साधारण वर्कशप इन्चार्ज, म्यानेजर, मेकानिक्स, सिनियर मेकानिक्स लगायत सिनियर म्यानेजर सम्मको भूमिका निर्वाह गरे । उनले अटोमोबाइल अन्तरगत लक्ष्मी हुण्डाई, वैद्य अर्गनाइजेसन, गोल्छा अर्गनाइजेसन, एमएडब्ल्यु (यमाहा, स्कोडा, फियात) लगायतका विभिन्न कम्पनीमा काम गरेर अटोमोबाइल क्षेत्रमा महत्वपूर्ण अनुभव हासिल गरेका छन् । विभिन्न बहुराष्ट्रिय कम्पनी समेतमा लामो समय संलग्न रहने क्रममा प्राप्त गरेको अनुभवले उनलाई आफैं अटोमोबाइल व्यवसाय सञ्चालन गर्ने हौसला प्रदान ग¥यो । सोहीकारण उनी आफैंले अटो होम स्थापना गरे । साथै उनले आफ्नो व्यवसायलाई काठमाडौंका विभिन्न ठाउँमा बिस्तार समेत गरे । हाल सम्म पनि अटोमोबाइल व्यवसायलाई निरन्तरता दिएका महर्जनले अहिले आफ्नो लगानीे याकुन सिरप (खाद्य वस्तु)को उत्पादन गर्ने कम्पनी सम्म विस्तार गरेका छन् ।
महर्जनको सहकारी यात्रा
सहकारी क्षेत्रमा महर्जन वि.सं २०५६ देखि संलग्न हुन पुगेका हुन् । उनको सहकारी यात्रा विकल्प सहकारी हुँदै अघी बढेको हो । उक्त सहकारीमा २ कार्यकाल अध्यक्षको भूमिका निर्वाह गरेपश्चात् कीर्तिपुर बहुउद्देश्यीय सहकारीमा २ बर्ष सचिव, ३ बर्ष उपाध्यक्षको भूमिका निर्वाह गरेसँगै हाल तेस्रो कार्यकालको रुपमा उनले अध्यक्षको हैसियतमा काम गर्दै आइरहेका छन् ।
सांस्कृतिक, सामाजिक एवं राजनीतिक गतिविधिमा महर्जनको संलग्नता
महर्जन लामो समय देखि सांस्कृतिक, सामाजिक एवं राजनीतिक गतिविधिमा समेत संलग्न रहँदै आएका छन् । सांस्कृतिक क्षेत्रमा प्रोग्रेसिभ सांस्कृतिक मार्फत नृत्य प्रशिक्षकको रुपमा संलग्न भएका हुन् उनी । वि.सं २०४३ देखि उनी सांस्कृतिक गतिविधिहरुमा संलग्न भएका हुन् । उनले विभिन्न प्रतिष्ठित सांस्कृतिक संस्थाहरुमा संलग्न रहेर विभिन्न शोहरु प्रस्तुत गरेका छन् । उनले प्रशिक्षण दिएका थुप्रै व्यक्तिहरु हाल नृत्य प्रशिक्षकको रुपमा संलग्न छन् । सामाजिक गतिविधिमा संलग्न हुन महर्जनलाई सानै देखि चाख लाग्थ्यो । अहिले पनि उनी विभिन्न सामाजिक गतिविधिहरुमा क्रियाशिल रहँदै आएका छन् । महर्जन हाल नेपाल उद्योग व्यापार महासंघ, बाग्मती प्रदेशका अध्यक्ष समेत रहेका छन् ।
राजनीतिक क्षेत्रमा महर्जन वि.सं २०३५ तिरको आन्दोलनबाट संलग्न भएका हुन् । उनी २०४२ बाट भने नेपाल कम्युनिष्ट पार्टीको सदस्य लिएरै राजनीतिमा संलग्न हुन पुगेका हुन् । २०५४ सालमा कीर्तिपुर नगरपालिका संरचनामा बदलिएपछि उनी १६ नम्बर वडाको वडा अध्यक्ष समेत बन्न पुगे । हाल कीर्तिपुर नगरपालिकामा सल्लाहकारको भूमिकामा रहेका महर्जन हाल मङ्गल माध्यमिक क्याम्पसका आजीवन सदस्य, राराहिल फाउण्डेसनको कार्यसमिति सदस्य लगायतका विभिन्न संस्थाहरुमा विभिन्न भूमिकामा रही सामाजिक गतिविधिहरुमा समेत क्रियाशिल रहँदै आएका छन् ।
सहकारीमा किन आवद्ध भए त महर्जन ?
नेपालको वास्तविक समृद्धि समाजवाद उन्मुख अर्थतन्त्रबाट सम्भव हुने र त्यसको लागि सहकारीको भूमिका निकै महत्वपूर्ण रहन सक्छ भन्ने मान्यतालाई बुझेर महर्जन आफू सहकारी क्षेत्रमा संलग्न हुन पुगेको बताउँछन् ।
सहकारी क्षेत्रको समस्याको कारण
‘महर्जनलाई लाग्छ कि सहकारी क्षेत्र यदि आफ्ना सबै सिद्धान्तलाई अवलम्बन गरेर अघी बढ्छन् भने कुनै पनि समस्या व्यहोर्नुपर्दैन । साथै यसबाट सहकारीले समाजलाई दिन चाहेको रुपान्तरण पनि सम्भव हुन सक्थ्यो । यद्यपि नेपालमा अहिले सहकारी क्षेत्रमा समस्या सृजना हुनुमा सहकारी जुन नीति र सिद्धान्त बमोजिम चल्नुपथ्र्यो, त्यो सही ट्रयाकमा चल्न नसकेको कारण नै समस्या सृजना भएको हो । अर्थात् सहकारीलाई कम्पनीको रुपमा चलाइयो, यसमा सबै सदस्यहरुले अपनत्व महसुस गर्ने स्थिति बन्न सकेन, समस्या यहीँ नेर सृजना भयो’ महर्जन बताउँछन् ।
सहकारीमा समस्या निम्तिनुमा राज्यको भूमिका
सरकारले सहकारी प्रति जुन जिम्मेवारी लिनुपथ्र्यो, सहकारी प्रति जुन तवरले राज्यले निरीक्षण र अनुगमन गर्नुपथ्र्यो, राज्यबाट त्यो हुन सकेन । वि.सं २०७४ मा सहकारी सम्बन्धी ल्याइएको नियमावलीले राम्रोसँग काम गर्न सकेन । जसले गर्दा सहकारी क्षेत्र सेवामूलक भन्दा पनि नाफामूलक हुन गयो । विगतमा सहकारीलाई बिना नियमन खुल्ला रुपमा छोडियो । जसले गर्दा सहकारीले घरजग्गा लगायतका अनुत्पादक क्षेत्रमा जथाभावी लगानी गर्ने स्थिति बन्यो । अहिले एक्कासी सरकारले नियन्त्रणमा ल्याउने कोसिस गर्दा सहकारीमा केही समस्या सृजना हुन पुगेको हो । अहिले सहकारीमा भएको तरलता अभाव सहकारी व्यवस्थापन पक्षबाट नियतवश भएको होइन । विभिन्न क्षेत्रमा गरिएको लगानी समयमा उठ्न नसक्दा समस्या देखिएको हो ।
संविधानमा गरिएको व्यवस्था बमोजिम अपनाइएको ३ खम्बे नीति अन्तरगत हाल सम्म सरकारी र निजी क्षेत्र बलिया नै छन् । यद्यपि सहकारी भने केही कमजोर बन्न पुगेको अवस्थामा यसलाई राज्य लगायत सबै सरोकारवालाहरुले आवश्यक सहयोग गर्नु जरुरी छ ।
साथै अहिले सहकारीलाई स्थानीय तहको जिम्मेवारीमा छोडिएको छ । जुन राम्रो उद्धेश्यले गरिएको व्यवस्था भएपनि सहकारी सम्बन्धी राम्रो ज्ञान भएका व्यक्ति स्थानीय निकायमा नहुँदा पनि समस्या सृजना भएको छ ।
कीर्तिपुर बहुउद्धेश्यीय सहकारीको स्थापना
वि.सं २०५५ भन्दा पहिले कीर्तिपुर क्षेत्रमा यातायात समस्या समाधान गर्न स्थानीयहरुको सक्रियतामा सामुहिक लगानी कोष स्थापना गरी समाधानको पहल गरियो । कीर्तिपुरका जनसमुदायबाट गरिएको उक्त प्रयाश निकै प्रशंसनीय कार्य थियो । त्यस प्रयाशबाट यातायात समस्या समाधान भएसँगै कीर्तिपुर क्षेत्रका समग्र समस्या समाधानको लागि सहकारी मार्फत काम गर्नुपर्ने आवश्यकता महसुस गरेर शुरुमा १ सय ११ जना अग्रणी व्यक्तिहरुको पहलमा कीर्तिपुर वचत तथा ऋण सहकारी शुरुवात भएको हो । समयक्रममा सदस्य कसङ्ख्या बढ्दै जाँदा हाल यस संस्थामा २८ सय भन्दा बढी सदस्यहरु पुगिसकेका छन् भने ५ लाख लगानीबाट शुरुवात भएको पुँजी यस सहकारीमा हाल १ अर्ब २१ करोड बराबर पुगिसकेको छ ।
सहकारी अन्तरगत सञ्चालनमा रहेका व्यावसायिक गतिविधिहरु
शुरुमा बचत तथा ऋणको रुपमा स्थापना गरिएको यस सहकारीलाई पछि बहुउद्धेश्यीय बनाइयो । साथै व्यावसायिक उद्धेश्यले शुरुवात गरेको सहकारी पसलबाट काम शुरु गरेको यस सहकारीले बिस्तारै उक्त पसललाई सुपर मार्केटको रुपमा विस्तार ग¥यो । सहकारी पसललाई विद्यमान नियम बमोजिम बहुउद्धेश्यीय सहकारी अन्तरगत चलाउन नीतिगत बाधा सृजना भएसँगै कीर्तिपुर उपभोक्ता सहकारी पनि स्थापना गरियो । यसै गरी हाल उक्त सहकारी अन्तरगत इलोक्ट्रोनिक व्यवसाय, प्राइम फिटनेस (जिम) र पानी उद्योग सञ्चालनमा रहँदै आएका छन् । चाल्नाखेलबाट पानी प्रशोधन गरिँदै आइएको उक्त पानी उद्योगको नाम केएमसी मिनरल वाटर राखिएको छ । विगतमा कीर्तिपुरमा वाणिज्य बैंक र नेपाल बैंक मात्रै रहेको अवस्थामा यस सहकारीले कीर्तिपुरमा अत्याधिक विश्वसनीय बैंकिङ सेवाप्रदायकको रुपमा समेत यस सहकारीले स्थानीयहरुमा भूमिका खेलेको छ ।
सहकारीले भोग्दै आएका मुख्य समस्या
बहुउद्धेश्यीय सहकारी सञ्चालनमा रहँदा नीतिगत व्यवधानका कारण उपभोक्ता सहकारी दर्ता गर्नुपर्ने स्थिति, केएमसि पानी उद्योगको लागि करिब एक–डेढ दशक दर्ताकै लागि प्रक्रिया मिल्न नसक्नु लगायतका स्थिति यस सहकारीले भोगेका मुख्य समस्याहरु हुन् । साथै सञ्चार क्षेत्र मार्फत पटक–पटक आउने समाचारहरु पनि सहकारीको लागि विभिन्न समयमा बाधक बन्दै आएका छन् ।
अबको आवश्यकता
महर्जनका अनुसार सहकारीलाई व्यवस्थित गर्नको लागि सहकारीलाई साँच्चीकै सदस्यमा आधारित बनाएरै सञ्चालन हुने प्रावधान लागु गर्नुपर्छ । साथै वचत ऋणको लागि मात्रै नभएर सबै सदस्यलाई सहकारीले शेयरहोल्डरकै रुपमा सेवा दिनुपर्छ ।
सहकारी अब उत्पादनमा केन्द्रित हुनुपर्छ
‘सहकारीले अब उत्पादनमूलक क्षेत्रमा काम गर्नुपर्ने जरुरी छ । उत्पादन र उपभोक्ता दुवै लाभान्वित हुन नसकेको तर मध्यस्थकर्ता (विचौलिया) मालामाल हुने अहिलेको अवस्था अन्त्यको लागि सहकारी क्षेत्रको भूमिका अत्यन्तै महत्वपूर्ण रहन्छ । यसको लागि सहकारी आफैं उत्पादनमा संलग्न हुनुपर्ने र किसानलाई उत्पादनमा संलग्न गराउनुपर्ने जरुरी छ । साथै कृषकहरुलाई थप प्रोत्साहित गर्दै उनीहरुले उत्पादन गरेका सामानको बजारीकरणमा सहकारी प्रयाप्त काम गर्नुपर्ने आवश्यकता छ’ महर्जनले बताए ।
विकासको अर्को सम्भावना : जलविद्युत क्षेत्र
नेपालको दिगो विकासको लागि जलविद्युत अर्को महत्वपूर्ण क्षेत्र हुन सक्ने महर्जनको ठहर छ । । लामो समय पहिले उपलब्ध स्रोतसाधन र प्रविधि अनुसार नेपालमा ८३ हजार मेगावाट विद्युत उत्पादन क्षमता रहेको प्रक्षेपण गरिएकोमा हालको स्थितिमा करिब डेढ लाख मागावाट विद्युत उत्पादन हुन सक्ने स्थिति बनेको विभिन्न अध्ययनबाट देखिँदै आएको छ । यस्तो स्थितिमा उत्पादित जलविद्युतको बजारीकरण लगायतको लागि निजी क्षेत्रलाई संलग्न गराइनुपर्ने आवश्यता छ । यस किसिमको व्यवस्था हुन सकेको खण्डमा हामीले तुलनात्मक रुपमा धेरै लाभ लिन सक्नेछौं । हाल नेपालमा ५ हजार मेगावाट विद्युत पनि उत्पादन हुन सकेको छैन । यद्यपि हामीसँग राम्रो सम्भावना छ । यसलाई जतिसक्दो छिटो प्रयोगमा ल्याउन र उत्खनन् गर्न सक्छौं, त्यति धेरै छिटो हामीले लाभ लिन सक्नेछौं, महर्जनको धारणा छ ।

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij