काठमाडौँ, ४ चैतः प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसद प्रेम सुवालले उपभोक्ता अदालतमा पीडित उपभोक्तालाई निःशुल्क कानुनी सेवा उपलब्ध गराउन सरकारलाई आग्रह गर्नुभएको छ। उहाँले उपभोक्ता ऐन लागू भएको छ वर्षपछि बल्ल उपभोक्ता अदालत स्थापना भएको उल्लेख गर्दै, बिना बिल उजुरी दर्ता गर्न नपाइने समस्या समाधान गर्न सरकारको सक्रियता आवश्यक रहेको बताउनुभयो। साथै, उपभोक्ताका मुद्दा सरकार स्वयं लड्नुपर्ने उहाँको माग छ।
त्यसैगरी, सांसद दुर्गा राईले पूर्वविशिष्ट व्यक्तिहरूलाई आजीवन सेवासुविधा उपलब्ध गराउने प्रावधानप्रति असन्तुष्टि व्यक्त गर्नुभयो। उहाँले यौन व्यवसायलाई पर्यापर्यटनसँग जोडेर विकास गर्नुपर्ने भनाइलाई पनि अस्वीकार्य बताउनुभयो।
सांसद डोलप्रसाद अर्यालले वैदेशिक रोजगारीमा गएका नेपालीहरू अझै पनि ठगिने गरेकाले सरकारलाई तत्काल समाधानका लागि पहल गर्न आग्रह गर्नुभयो। उहाँले श्रम मन्त्रालयले श्रमिकहरूलाई सम्झौताअनुसारको सेवा तथा सुविधा सुनिश्चित गर्नुपर्नेमा जोड दिनुभयो।
सांसद तारा लामा तामाङले युवाहरूमा लागुऔषध दुव्र्यसनको समस्या बढ्दै गएकाले सरकारलाई यस विषयमा ठोस नीति ल्याउन आग्रह गर्नुभयो। सांसद दिलेन्द्रप्रसाद बडूले विपद्बाट क्षति पुगेका संरचनाहरू छिटो पुनर्निर्माण गर्न माग गर्नुभयो।
त्यस्तै, सांसद देवेन्द्र पौडेलले बाढीका कारण भत्किएका सडकहरू तत्काल मर्मत गर्न सरकारलाई आग्रह गर्नुभयो। सांसद डा. धवलशम्शेर राणाले राजतन्त्रबारे अनावश्यक टिप्पणी नगर्न सुझाउनुभयो।
सांसद धु्रवबहादुर प्रधानले बाजुरामा ढुंगाले हानेर गाई हत्या गरिएको घटनाको विरोध गर्दै दोषीलाई कडा कारबाहीको माग गर्नुभयो। सांसद निशा डाँगीले डिजिटल कारोबारलाई निःशुल्क बनाउनुपर्नेमा जोड दिनुभयो।
सांसद पुष्पबहादुर शाहले मानव-वन्यजन्तु द्वन्द्व समाधानका लागि ठोस नीति आवश्यक रहेको बताउँदै पीडितहरूलाई समयमा नै क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने माग गर्नुभयो। सांसद प्रकाश ज्वालाले लोकसेवा परीक्षामा सहभागी हुन ६ पटकको सीमा तोक्ने निर्णय संविधानको भावनाविपरीत रहेको बताउँदै यसलाई सच्याउनुपर्ने माग गर्नुभयो।
सांसद प्रतीमा गौतमले प्राविधिक तथा व्यावसायिक शिक्षालाई प्रवद्र्धन गर्न कानून निर्माण आवश्यक रहेको बताउनुभयो। सांसद प्रतीक्षा तिवारीले संविधानमा व्यवस्था नभएको कुरा आधार बनाई राजसंस्था पुनर्स्थापना गर्न सकिन्छ भन्ने भ्रम नछर्न आग्रह गर्नुभयो।
सांसद प्रभु हजरा पर्सालाई औद्योगिक क्षेत्र घोषणा गर्नुपर्ने माग गर्दै सरकारको ध्यानाकर्षण गराउनुभयो। सांसद वासुदेव घिमिरेले समृद्धिको आधार पर्यापर्यटन भएकाले यसको प्रवद्र्धनमा सरकारको सक्रियता जरुरी रहेको बताउनुभयो।
सांसद विन्दबासिनी कंसाकारले गुणस्तरीय खानेपानीको अभावबारे चिन्ता व्यक्त गर्दै पानीको गुणस्तर परीक्षण अनिवार्य गर्नुपर्ने माग गर्नुभयो।
शून्य समयमा सांसद विमला सुवेदी, पूर्णबहादुर घर्तिमगर, प्रेमबहादुर महर्जन, डा. नारायण खड्का, नारायणी शर्मा, र निर्मला काईरालाले विभिन्न समसामयिक विषयमा आफ्ना विचार राख्नुभएको थियो।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij