२०८३ कार्तिक २१ शुक्रबार

Nov 06 2026 Friday

  • २०८३ कार्तिक २१ शुक्रबार

२०८३ कार्तिक २१ शुक्रबार

शिक्षा प्रदायक निकाय बीच समन्वय हुन नसक्नु दुर्भाग्य हो : प्रिन्सिपल दवाडीसँगकाे अन्तरवार्ता

शिक्षा प्रदायक निकाय बीच समन्वय हुन नसक्नु दुर्भाग्य हो : प्रिन्सिपल दवाडीसँगकाे अन्तरवार्ता

शिक्षाकाे स्पष्ट नीति बनेकाे छैन

काठमाडौंको नयाँ बसपार्क नजिकै माछापोखरीमा २०५३ देखि एसएस स्कुलको रुपमा सञ्चालनमा आएको शैक्षिक संस्थाले हाल एसएस कलेज (स्वाती सदन)को नाममा नर्सरी देखि स्नातक सम्मका शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आएको छ ।२०६५देखि यस कलेजको प्रिन्सिपलको जिम्मेवारीमा शिक्षामा लामो अनुभव समेट्नुभएका मदन दवाडी हुनुहुन्छ । गोर्खा स्थायी घर भई नेपालमा शिक्षा क्षेत्रमा लामो अनुभव समेट्नुभएका दवाडी हाल बालाजु एजुकेसनल फोरमका उपाध्यक्ष समेत हुनुहुन्छ । २०६६ देखि उच्च मावि सञ्चालनमा आएको र २०६७ देखि विविएस कार्यक्रम सञ्चालन गरेको यस विद्यालयका प्रिन्सिपल दवाडी नेपालमा शिक्षा नीति अस्पष्ट रहेको बताउँदै आगामी दिनमा प्रयोगात्मक र जीवनोपयोगी शिक्षामा हामी केन्द्रित हुनुपर्ने कुरामा ऊहाँ जोड दिनुहुन्छ ।

हामीले नेपालकाे शिक्षा क्षेत्र सम्बन्धमा प्रिन्सिपल दवाडीसँग कुराकानी गरेका थियाैं, प्रस्तुत छ साेही कुराकानी ः

नेपालमा लामो समय देखि शिक्षाको क्षेत्रमा संलग्न रहँदै आउनुभएको छ, तपाईंले शिक्षा क्षेत्रका समस्याहरु के–के देख्नुभएको छ ?
नेपालमा अहिले सम्म शिक्षालाई कुन संरचना अन्तरगत अघी बढाउने भन्ने सम्बन्धमा उपयुक्त नीति बन्न सकेको छैन । हुनतः शिक्षा क्षेत्र लामो समय देखि नै राम्रो नीतिको अभावमा नै चल्दै आएको थियो । तरपनि अहिलेको संघीय संरचनामा शिक्षा क्षेत्र अहिले अझ सङ्क्रमणको अवस्थामा छ । यसलाई कसरी दिगो तवरले अघी बढाउने भन्ने सम्बन्धमा राम्रो नीति बन्न नसकेको कारण हामीले विभिन्न समस्याहरु भोगिरहेका छौं ।
अहिलेकै कुरा गर्नुपर्दा नेपालमा राज्यका निकायहरुबीच आपसमा अधिकारहरु बाँडफाँड भइसकेका छैनन् । नेपालमा अहिलेको अवस्थामा त कुन संस्था मातहत कुन निकाय रहने भन्ने अवस्था समेत नभएको कारण यस क्षेत्रलाई कसरी व्यवस्थित गर्ने र हाम्रो शिक्षाको भविष्य आगामी दिनमा कसरी अघी बढ्ने भन्ने सम्बन्धमा समेत अन्यौल रहेको अवस्था छ ।

व्यावहारिक शिक्षाको अवस्था कस्तो छ ? शिक्षा क्षेत्रका समस्याहरु के देख्नुभएको छ ?
शिक्षाको ठूलो र महत्वपूर्ण समस्या भनेकै व्यावहारिक शिक्षा हो । नेपालमा अहिले सम्म भोकेसनल जीवनोपयोगी शिक्षाको अभाव छ । शिक्षा क्षेत्रलाई अब कसरी अघी बढाउने भन्ने सम्बन्धमा समेत हाम्रो शिक्षा नीतिले सम्बोधन गर्न सकेको छैन । नेपाल बहुजातीय, बहुधार्मिक र बहुसांस्कृतिक मुलुक भएपनि ती सबैलाई मिलाउन सक्ने किसिमको शिक्षा नीति अहिले सम्म बन्न सकेको छैन । आगामी दिनमा यस सम्बन्धी पनि स्पष्ट रुपमा नीति बन्नु जरुरी छ ।
सरकारी र निजी स्तरबाट सञ्चालन हुने शिक्षाको आपसी समन्वयनमा समेत निकै ठूलो खाडल देखिएको छ । अहिले सरकारको निकै ठूलो लगानी भएको शिक्षाको प्रतिफल समेत निकै कमजोर छ । पाठ्यक्रम लगायतमा समेत समस्या छ ।
यसको समाधान के हुन सक्छ ?
नेपालमा अहिले शिक्षाको क्षेत्रमा देखिएका यी समस्याहरु समाधान नै हुन नसक्ने भन्ने होइन । रहेक समस्यासँग समाधान पनि सँगसँगै हुन्छ । नेपालमा अहिलेको अवस्थामा यी समस्याहरु समाधानको निम्ति सबैभन्दा पहिले दिगो शिक्षा नीति बन्नु जरुरी छ । साथै कार्यान्वयनको क्रममा उत्कृष्ट कार्य गर्नेलाई पुरष्कार र नराम्रो काम गर्नेलाई दण्ड सजायको समेत व्यवस्था हुनु पनि त्यत्तिनै जरुरी छ । यसबाट काम गर्ने मानिसहरुलाई थप प्रोत्साहन मिल्छ ।
नेपालमा सरकारले नै चाहेको अवस्थामा निजी र सामुदायिक बीच देखिएके अहिलेको खाडल ठूलो समस्या होइन । हामीले विश्वका अन्य देशहरुमा देखेका पनि छौं । अन्य विकसित थुप्रै देशहरुमा निजी क्षेत्र र सरकारी क्षेत्र दुवैले समानान्तर रुपमा नै शिक्षा सञ्चालन गर्दै आइरहेका छन् । ती देशहरुमा शिक्षा कुन किसिमले सञ्चालन हुँदै आएको छ, त्यो अध्ययन गरेर हामी पनि सोही बमोजिम अघी बढ्नु जरुरी छ ।

अहिलेको संघीय प्रणाली बमोजिम अघी बढ्दा शिक्षा क्षेत्रमा पनि केही समस्या आउन सक्ने अवस्था रहन्छ कि ?
संघीय ढाँचामा अघी बढ्ने क्रममा शिक्षालाई थप प्रभावकारी बनाउनको निम्ति नेपालका ३ ओटै तह बीच आपसी समन्वयन हुनु पनि त्यत्ति नै जरुरी छ । नेपालमा कुन शिक्षा कहाँनेर अटाउने भन्ने सम्बन्धमा अब दिगो योजना बनाएर हामी सोही बमोजिम अघी बढ्नुपर्छ । यसको लागि प्रक्रिया अघी बढेको पनि छ । कक्षा ८ सम्मको शिक्षा स्थानीय तहबाट नै सञ्चालन हुने, ९ देखि १२ सम्म प्रादेशिक तहमा जाने र उच्च शिक्षालाई केन्द्रीय स्तरको बनाउने भन्ने किसिमले अहिले शिक्षा क्षेत्रलाई सम्बोधन गर्ने प्रयाश हुँदैछ ।

यसबाट अबका दिनमा अध्ययनका निम्ति काठमाडौं लगायतका शहरहरुमा आउनुपर्ने बाध्यता रोकिने आशा गर्न सकिन्छ त ?
रोकिनुपर्छ, अहिले विकेन्द्रीकरण, संघीयता, स्थानीय निकायलाई दिइएको अधिकार लगायतको प्रयाश गरिनु भनेको सम्बन्धित क्षेत्रका जनशक्तिलाई स्थानीय स्तरमा नै रोक्नुपर्छ भन्ने हिसाबले गरिएको पहल पनि हो । अहिलेको अवस्थामा कसैलाई पनि बाध्यकारी रुपमा रोक्न सकिने अवस्था छैन । जुन राम्रो पनि नहुन सक्छ । यसैकारण स्थानीय निकायलाई नै क्षमतावान् बनाएरै आफ्नो क्षेत्रका जनशक्ति त्यसै क्षेत्रमा रोक्नको निम्ति पहल हुनुपर्छ ।

जसरी विश्वव्यापी रुपमा प्रविधि विकास भएको छ, सोही बमोजिम हाम्रो जनजीवन विकास हुन सकेको छैन । यस्तो अवस्थामा प्रविधिको गलत प्रयोगको कारण पठनपाठन तथा अन्य कुराहरुमा समस्या देखिएको छ । विद्यार्थीको पठन संस्कृतिमा कमी आएको छ ।

अहिलेको शिक्षाको परिणाम कस्तो कस्तो पाउनुभएको छ ?
शिक्षा जीवनोपयोगी हुनुपर्छ । आफूले जहाँपनि प्रयोगमा ल्याउन सक्ने किसिमको शिक्षा हामीले दिन सक्नुपर्छ । अहिलेको अवस्थामा शिक्षा हामीले चाहे बमोजिम जीवनोपयोगी हुन सकेको छैन । नेपालमा हामीले प्रदान गरेकै शिक्षामा टेकेर हामीबाट उत्पादित विद्यार्थीहरु चलेको अवस्था निकै कम मात्र हामीले पाएका छौं । एउटा विषय अध्ययन गरेर कामको निम्ति अर्कै क्षेत्र रोज्न बाध्य हुनु, नेपालमा नभई विदेशमा रहेर काम गर्ने परिस्थिति आउनु, वेरोजगार हुनु, क्षमता बमोजिम काम नपाउनु लगायत केही हाम्रो शिक्षाका उदाहरणहरु हुन् ।
हामी चाहन्छौं, हाम्रो देश कृषिप्रधान भएको कारण कृषिमा कसरी व्यावहारोपयोगी शिक्षा दिन सकिन्छ भन्ने किसिमले हामीले अब पहल गर्नु जरुरी छ । यसको निम्ति भोकेसनल र प्राक्टिसनल शिक्षाको आवश्यकता छ । प्राविधिक शिक्षाको समेत आवश्यक छ ।

अहिले औपचारिक शिक्षामा असफल व्यक्तिहरुलाई प्राविधिक शिक्षाको निम्ति बाटो खुल्ला रहेको वा प्रोत्साहित गरिएको अवस्था छ, तर सफल व्यक्तिहरुलाई प्राविधिक शिक्षामा जान प्रोत्साहित गरिएको छैन, यसलाई कसरी लिने ?
यो हाम्रो विडम्बना हो । प्राविधिक शिक्षामा कमजोर होइन, उत्कृष्ट व्यक्तिहरु जान सक्ने वातावरण सृजना हुनुपर्छ । नेपालमा शैक्षिक संस्थाहरुलाई औपचारिक शिक्षामा मात्र सीमित नराखेर हरेक शैक्षिक संस्थामा अनिवार्य रुपमा प्रयोगात्मक शिक्षा दिन सकिने व्यवस्था हुनुपर्छ । यसको निम्ति हाम्रो पाठ्यक्रम र नीति नै परिवर्तन हुनुपर्छ । अबको समयमा सैद्धान्तिक शिक्षाले मात्र हुँदैन । नेपालमा प्रयोगात्मक शिक्षालाई सिटिइभिटीमा मात्र सीमित राख्नुहुँदैन । सिटिइभिटी भन्दा थप गुणस्तरीय व्यावहारिक शिक्षा समेत हामीले सञ्चालन गर्नु जरुरी छ ।

बालबालिका जति ठूलो हुँदै जान्छन्, त्यति राम्रो तवरले पढ्नुपर्ने हो तर यहाँ ठीक उल्टो छ । यो किन भइरहेको छ, हामी पनि अचम्मित छौं

हामी चाहन्छौं, विद्यार्थीले विहान सिकेको कुरा दिउँसो दैनिक उपयोगमा ल्याउन सक्नुपर्छ । यस्तो शिक्षा नै बढी प्रभावकारी हुन सक्छ । अर्को कुरा, सिटिइभिटीले प्रदान गर्ने शिक्षा नेपालको नीतिनियममा नै रहेर प्रदान गरिएको हो, त्यसो हो भने अन्य शिक्षालाई पनि सोही ढाँचामा लैजान नसक्ने भन्ने पनि त हुँदैन ।

अहिलेको शिक्षाबाट प्राप्त हुने नतिजाको आधारमा देखिने सफलतालाई साँच्चै नै सफल भन्न सकिने आधारहरु छन् त ?
शिक्षाबाट प्राप्ताङ्कको आधारमा निस्किने नतिजाले मात्रै पुग्छ भन्ने मलाई लाग्दैन । त्यसैकारण अहिले यस नतिजालाई यसलाई बोइलर कुखुराको संज्ञा दिने प्रचलन पनि विकास भएको छ । यस्तो नतिजामा मात्र विश्वास गर्ने जनशक्तिले विद्यार्थीहरु हाम्रो मुलुकको आवश्यकता बमोजिम जिम्मेवारी लिन तयार हुन सक्छन् जस्तो मलाई लाग्दैन ।

तपाईं त लामो समय देखि शिक्षा क्षेत्रमा तपाईं संलग्न हुनुहुन्छ, तपाईंहरुले शिक्षालाई व्यावहारोपयोगी बनाउन तुलनात्मक रुपमा केही पृथक प्रयाश गर्नुभएको पनि छ कि ?
हामी व्यावहारोपयोगी शिक्षा प्रदान गर्ने चाहना बमोजिम अघी बढेका छौं । यद्यपि हामी पनि राज्यको नीति भित्र नै रहेर शिक्षा प्रदान गर्ने हो । त्रिभुवन विश्वविद्यालयकै नीतिमा रहेर शिक्षा प्रदान गर्नु हाम्रो पनि बाध्यता हो । शिक्षा सुधारको निम्ति केही प्रयाश हामीले पनि गर्न सक्छौं । तरपनि राज्यको पाठ्यक्रम अन्तरगत नै अघी बढ्नुपर्ने भएको कारण पूर्णत परिवर्तन गर्न सक्ने अवस्था भने छैन । नेपालमा अहिले पनि मास्टर डिग्र्री अध्ययन गरेका व्यक्तिहरु समेत सम्बन्धित विषयमा न्यूनतम व्यावहारिक ज्ञान नभएको अवस्था पनि छ । कम्तीमा न्यूनतमक ज्ञान विद्यार्थीमा विकास हुनुपर्छ भन्ने हाम्रो मान्यता बमोजिम हामी अघी बढेका छौं ।

निजी क्षेत्र र सामुदायिक क्षेत्र बीच समन्वयन हुँदै समानान्तर रुपमा शिक्षा अघी बढाउनुपर्छ । यी दुवैलाई प्रतिष्पर्धात्मक समेत बनाउनु जरुरी छ । सरकारसँग निकै ठूलो साधन र स्रोत छ । जुन साधन र स्रोत खर्च भएर पनि अहिले परिणाममुखी भने हुन सकेको छैन । अब यसलाई परिणाममुखी बनाउनु जरुरी छ ।

शिक्षा क्षेत्र अबका दिनमा कसरी अघी बढ्नुपर्छ ?
निजी क्षेत्र र सामुदायिक क्षेत्र बीच समन्वयन हुँदै समानान्तर रुपमा शिक्षा अघी बढाउनुपर्छ । यी दुवैलाई प्रतिष्पर्धात्मक समेत बनाउनु जरुरी छ । सरकारसँग निकै ठूलो साधन र स्रोत छ । जुन साधन र स्रोत खर्च भएर पनि अहिले परिणाममुखी भने हुन सकेको छैन । अब यसलाई परिणाममुखी बनाउनु जरुरी छ । यससँगै माथिल्लो तहको उच्च शिक्षाले आगामी दिनमा नेपालमा उद्यमशिलता विकासको निम्ति विशेष जोड दिन सक्नुपर्छ । यसबाट नै निकै धेरै अवसर र रोजगारी सृजना गर्न सकिन्छ ।

अबको आवश्यकता के देख्नुहुन्छ ?
अबको समय विश्वभर नै सेवा उद्योगको समय हो । उत्पादन क्षेत्र भन्दा सेवा क्षेत्रबाट राम्रो लाभ समेत लिन सकिने अवस्था छ । त्यसकारण सेवा क्षेत्रको लागि दक्ष जनशक्ति हामीले उत्पादन गर्नुपर्छ । अहिले विश्वव्यापीकरणको समयमा एक ठाउँमा उत्पादन भएको प्रडक्ट अर्को ठाउँमा पुग्न समस्या पनि छैन । प्रविधिले थप सहयोग पुगेको छ ।

अहिलेकै अवस्था रहिरह्यो भने के होला ?
शिक्षामा अहिलेको अवस्था रहिरहनुहुँदैन । यस्तै अवस्था रहने हो भने नेपालमा कुनै पनि जनशक्ति बाँकी रहँदैनन् । दक्ष जनशक्ति विकसित देशहरुमा गइरहेका छन् । अदक्ष जनशक्ति श्रमको निम्ति विदेशिन्छन् । हाम्रो देश जनशक्तिविहीन बन्न पुग्छ । यसबाट आउन सक्ने खतरालाई अहिले नै विचार गरेर आफ्नै आँगनमा गरिखान सक्ने शिक्षा प्रदान गरी यहीँ अवसरका बाटाहरु देखाउनु अहिलेको आवश्यकता बनेको छ ।

अहिले नेपालको शिक्षा क्षेत्र चाहिँ कति बलियो छ ?
तुलनात्मक रुपमा नेपालको शिक्षा हलुका छैन । तर यसले हाम्रो समस्यालाई कुन हद सम्म समाधान गर्न सक्यो भन्ने कुरा महत्वपूर्ण हो । नेपालको गरीबी र पछौटेपनमा शिक्षाको महत्वपूर्ण भूमीका छ । यद्यपि नेपालको त्रिभवन लगायतका सबै विश्वविद्यालयबाट प्रदान हुने शिक्षा तुलनात्मक रुपमा राम्रै छन् । समस्या भनेको व्यावहारिक शिक्षाको हो ।

 

नेपालमा ग्रेडिङ प्रणाली लागु गर्ने क्रममा शिक्षा प्रदायक निकायहरुबीच आपसी समन्वयनको समेत अभाव देखिएको छ । अन्य विषयमा ‘सि’ ल्याएका र एक विषयमा ‘डी प्लस’ नतिजा ल्याएका विद्यार्थीलाई माथिल्लो तहको निम्ति बाटो खुला हुन्छ वा हुँदैन भन्ने कुरामा समेत सम्बन्धित निकायले जवाफ दिएको छैन । यस्तो अवस्था किन आयो ? जुन हाम्रो शिक्षाको दुर्भाग्य हो । यस्ता विभिन्न समस्याहरु आपसी सामन्जस्ताको अभावको कारण निम्तिएका हुन् । यसलाई समाधान गर्न त्रिभुवन विश्वविद्यालय, राष्ट्रिय परीक्षा बोर्ड लगायत निकाय बीच सुमधुर सम्बन्ध बन्नु जरुरी छ । यसो हुन सकेको खण्डमा मात्र शिक्षालाई प्रभावकारी बनाउन सकिन्छ ।

 

नेपालमा ग्रेडिङ प्रणाली ल्याइसकेपछिको परिणाम कस्तो हुँदै गएको छ ?
यो विश्वव्यापी रुपमा प्रचलनमा रहेको प्रणाली हो । अहिलेको प्रतिष्पर्धात्मक विश्वव्यापीकरणको समयमा गे्रडिङ शिक्षा कसरी राम्रो छ भन्ने कुरा नेपालका सबै सरोकारवालालाई बुझाउनु जरुरी थियो । तर त्यसो हुन सकेन । यसैकारण ग्रेडिङको फाइदा के हो भन्ने कुरा विद्यालय सञ्चालक, शिक्षक, विद्यार्थी कसैले पनि बुझ्न सकेका छैनन् । यसलाई बुझाउनु जरुरी छ ।
नेपालमा ग्रेडिङ प्रणाली लागु गर्ने क्रममा शिक्षा प्रदायक निकायहरुबीच आपसी समन्वयनको समेत अभाव देखिएको छ । अन्य विषयमा ‘सि’ ल्याएका र एक विषयमा ‘डी प्लस’ नतिजा ल्याएका विद्यार्थीलाई माथिल्लो तहको निम्ति बाटो खुला हुन्छ वा हुँदैन भन्ने कुरामा समेत सम्बन्धित निकायले जवाफ दिएको छैन । यस्तो अवस्था किन आयो ? जुन हाम्रो शिक्षाको दुर्भाग्य हो । यस्ता विभिन्न समस्याहरु आपसी सामन्जस्ताको अभावको कारण निम्तिएका हुन् । यसलाई समाधान गर्न त्रिभुवन विश्वविद्यालय, राष्ट्रिय परीक्षा बोर्ड लगायत निकाय बीच सुमधुर सम्बन्ध बन्नु जरुरी छ । यसो हुन सकेको खण्डमा मात्र शिक्षालाई प्रभावकारी बनाउन सकिन्छ ।

तपाईं अन्त्यमा के भन्नुहुन्छ ?
हिजोबाट यस बर्षको एसईई परीक्षा शुरु भएको छ । एसईईलाई विशेष महत्व दिई विद्यार्थीलाई मानसिक त्रास उत्पन्न गराइने तर एसईई पछि भने विद्यार्थीहरुलाई विद्यालय र अभिभावकको दायरा भन्दा बाहिर छोडिने प्रचलन छ । यसैकारण १० कक्षा सम्म विद्यार्थीलाई जुन रुपमा शिक्षा दिइएको छ, सोही बमोजिम ११ र १२ मा समेत त्यो नतिजा विद्यार्थीहरुमा परिणाममुखी देखिएको छैन ।

अर्को कुरा, अहिलेको समय प्रविधिको संक्रमणकाल समेत हो । जसरी विश्वव्यापी रुपमा प्रविधि विकास भएको छ, सोही बमोजिम हाम्रो जनजीवन विकास हुन सकेको छैन । यस्तो अवस्थामा प्रविधिको गलत प्रयोगको कारण पठनपाठन तथा अन्य कुराहरुमा समस्या देखिएको छ । विद्यार्थीको पठन संस्कृतिमा कमी आएको छ । यो पनि एउटा समस्याको रुपमा देखिएको छ । यसमा हाम्रो ध्यान जानु जरुरी छ । अर्को कुरा अहिले बालबालिका जति ठूलो हुँदै जान्छन्, त्यति राम्रो तवरले पढ्नुपर्ने हो तर यहाँ ठीक उल्टो छ । यो किन भइरहेको छ, हामी पनि अचम्मित छौं ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij