शिक्षामन्त्री गिरिराजमणि पोखरेलले आमरण अनसनरत डा. गोविन्द केसीको स्वास्थ्य कमजोर भए बल प्रयोग गरेर भएपनि काठमाडौं ल्याइने बताएका छन् ।
उनले भनेका छन्, ‘त्यसबेला बल प्रयोग भनेर नलेख्नुस् ।’
डा. केसी १४ दिनदेखि जुम्लामा आमरण अनसनरत छन् । उनले काठमाडौं नआउने अडान लिनुका साथै सरकारले केन्द्रबाट पठाएको डाक्टरहरुबाट पनि उपचार लिएका छैनन् ।
शुक्रबार फेरि अर्को टोली पठाउने तयारी गरिएको शिक्षामन्त्री पोखरेलले जानकारी दिए ।
उनले मेडिकल एशोसिएनको टोलीलाई जुम्ला जान आग्रह गर्दा नमानेको भन्दै दुःख समेत व्यक्त गरे । शिक्षा पत्रकारिता पुरस्कार २०७४ वितरण कार्यक्रममा पोखरेलले भने, ‘अचम्म लाग्यो, सरकारले आग्रह गरेपछि देखाउन पनि जानुपर्छ नि तर, उहाँहरु मान्नु भएन । स्वास्थ्यसंस्था बन्द गर्न लाग्नु भएको छ ।’
सरकार वार्ता विरोधी नभएको तर, स्वास्थ्य अवस्था कमजोर भएकासँग सम्वाद नहुने बताए । पहिलो प्राथमिकता उपचार भएको भन्दै उनले भने, ‘उहाँका स्वास्थ्य सुचांककहरु कमजोर भएर गयो भने जबरजस्ती पनि गर्नुपर्ने हुन्छ ।’
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij