
काठमाडाै । वोजेपोखरी नागरिक समाजको आयोजनामा आर्थिक रुपमा कमजोर, असहाय र वृद्धहरुलाई लक्षित गरी ‘दीनदुखी भोजन दान कार्यक्रम’ अन्तरगत घरघरमा भोजन सामाग्री (दाल, चामल, नुन, जीरा लगायत) वितरण भइरहेको छ ।
जागरुक युवाहरु संगठित भई अहिलेको असहज परिस्थितिमा स्वतःस्फूर्त सहयोग गर्ने मान्यताले चैत्र २६ देखि दैनिक करिब ४ सय व्यक्तिहरुलाई भोजन गराउँदै आएको यस समाजले बैशाख २ सम्म सोही बमोजिमको कार्यक्रमलाई निरन्तरता दियो । अहिले भने थप सतर्कता अपनाउँदै दीनदुखीहरुको घरैमा आफ्नै सवारीबाट खाद्यसामाग्री उपलब्ध गराउन यो समाज सफल भएको छ ।
भोजन आयोजनाको निरन्तरता सँगै संस्थालाई विभिन्न व्यक्ति तथा संस्थाहरुको सहयोग समेत आउन थालेको छ । सोही कार्यक्रमबाट प्रभावित भई दोलखालीहरुको सक्रियतामा स्थापित कालिञ्चोक युवा क्लवको सहआयोजनामा सातौं दिन अर्थात बैशाख २ गते ५ सय ५१ जना व्यक्तिहरुलाई भोजन गराइयो ।
उक्त भोजन वितरण कार्यक्रममा कालिञ्चोक युवा क्लवको तर्फबाट अध्यक्ष निरेन्द्र मास्के, पूर्वअध्यक्ष प्रकाश श्रेष्ठ तथा शान्त श्रेष्ठ लगायत कार्यसमिति सदस्यहरुको संलग्नता रहेको थियो ।
समाजले निरन्तर रुपमा सामाजिक गतिविधिहरुमा संलग्न रहँदै आएको कुरालाई लक्षित गरी अहिले अन्य सहयोगी व्यक्ति एवं संस्थाहरुले समेत सहयोगी हात अघी बढाइरहेका छन् ।
कार्यक्रमको निरन्तरतालाई लक्षित गरी अहिले समाजलाई नगद तथा जिन्सी सहयोग समेत उपलब्ध भइरहेको जानकारी सेतोघर डट कमलाई प्राप्त भएको छ । राहत वितरण कार्य सहज हुन सकोस् भन्ने मान्यताले अहिले दाताहरुबाट उपलब्ध भएको रकम पारदर्शी तवरले खर्च भइरहेको समेत आयोजक संस्थाका सदस्य सुनिल मास्लले बताउनुभएको छ ।
संकटको घडीमा असहायलाई खाना खुवाउने कार्य सञ्चालन गर्दा सामाजिक दूरी र आवश्यक सुरक्षा विधि अपनाइएको समेत उहाँले बताउनुभयो । हाल बोजेपोखरी नागरिक समाजको तर्फबाट कार्यक्रमको संयोजन जय कुमार केसीले गर्नुभएको छ । यस कार्यक्रमलाई प्रभावकारी बनाउन ४० जना स्वयमसेवक परिचालन गरिएको छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij