
काठमाडौं । श्रीमान श्रीमती सँगसँगै रहेर पनि वैवाहिक जीवन सफल बन्न नसकिरहेको परिस्थितिलाई मध्यनजर गरी रचना गरिएको गीत हो ‘छानो एउटै छ’ ।
भीम बहादुर पौडेलको शब्द, सङ्गीत, स्वर र निर्देशन जस्ता मुख्य भूमिका रहेको उक्त गीतलाई पूर्ण बनाउन स्वर मार्फत पुष्पा क्षेत्रीले महत्वपूर्ण साथ दिएकी छिन् ।
यो गीत सुरताल डिजिटलबाट रेकर्ड गरिएको हो । गीतमा नायब सुब्बा सुमन गौडेल सहित सपना, विपना, रुद्र लगायतको अभिनय रहेको छ ।
गीतमा भनिएको छ, ‘बस्ने छानो एउटै छ, खाने मानो एउटै छ, बुझ्नै सकिन मायाको मनमा के रहिछ….।’
भावना र सुखदुख साटासाट भएन भने दुई पात्रहरु सँगै भएर मात्रै आपसमा सम्बन्ध सुमधुर हुन नसक्ने कुरालाई गीतले विशेष महत्व दिएको छ । सँगै बसेर पनि आपसमा भरपर्दो वातावरण बन्न नसक्दा जीवनकालको बाँकी समय सुखद बन्न नसक्ने कुरालाई गीतमा शब्द मार्फत प्रकट गरिएको छ ।
ज्यान एक ठाऊँमा र मन अर्कै ठाउँमा हुने स्थिति सृजना हुनु वैवाहिक जीवनको लागि अत्यन्तै कठिन र घातक हुने कुरालाई यस गीतले उजागर गर्न खोजेको छ ।
समग्रमा यस गीतलाई सुखद जीवनयापनको उद्धेश्यले आपसमा जोडिएपनि अपेक्षा अनुसार जीवन सफल हुन नसकिरहेका सम्पूर्ण नेपालीको कथा बोकेको गीत भन्न सकिन्छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij