२०८३ असोज २ शुक्रबार

Sep 18 2026 Friday

  • २०८३ असोज २ शुक्रबार

२०८३ असोज २ शुक्रबार

“तिज गितको नाममा अश्लीलता? ‘मायाका डल्ला’ गीतले उठायो मौलिकताको प्रश्न”

“तिज गितको नाममा अश्लीलता? ‘मायाका डल्ला’ गीतले उठायो मौलिकताको प्रश्न”

  • शनिबार, जेष्ठ ३२ २०८२

 

काठमाडौं — नेपाली लोकसङ्गीतको क्षेत्र पछिल्लो समय पुनः उठ्ने प्रयासमा देखिए पनि, यसका धार र दिशा भने विवादमा तानिन थालेका छन्। यतिबेला बजारमा आएका केही गीतहरूले लोकसङ्गीतको मौलिकतालाई नै चुनौती दिएको गुनासो दर्शक र श्रोताबाट उठ्न थालेको छ।

यस्तै एउटा उदाहरण हो — “मायाका डल्ला ओल्ला कि पल्ला” भन्ने बोलको गीत, जुन केही दिनअघि जानकी म्युजिक बाट सार्वजनिक भएको हो। गीतमा प्रयोग गरिएका शब्द, दृश्य संयोजन र प्रस्तुत शैलीका कारण यो तिज गीत हो त? भन्ने प्रश्न दर्शकहरू आफैंले उठाइरहेका छन्।

गीतमा प्रयोग भएको थेगो — “मायाका डल्ला ओल्ला कि पल्ला बरिलै के मान्नु सरम मै परे भ्रममा” — दर्शकलाई मौलिकता भन्दा पनि दिग्भ्रमित बनाएको छ। गीतमा पुरुष र महिलाको आवाज मिश्रण गरिएको छ भने भिडियोमा रितु र सन्चिता प्रस्तुत छन्। तर प्रस्तुत शैलीले तिजको सांस्कृतिक झलक दिनुभन्दा ‘विकृति’ तर्फ मोडिएको टिप्पणी सामाजिक सञ्जालमा देखिन्छ।

कतिपयले त सिधै सम्पर्क गरेर यस्तो गीत तत्काल बन्द गरिनुपर्ने माग गरेका छन्। कतै अन्तर्वार्तामा त गीतका सर्जकले “डल्ला भनेको फुटबल हो” भन्ने स्पष्टीकरण दिएका छन्। तर दर्शकले प्रतिप्रश्न गरिरहेका छन् — फुटबल माया हो त?

सांगीतिक क्षेत्रको नियमन गर्ने संस्थाहरू मौन देखिनु, मौलिक तिज गीतलाई संरक्षण गर्नुभन्दा उल्टो विकृत शैलीको प्रचारप्रसार बढ्दै जानु गम्भीर विषय बन्न थालेको छ। आधा कट्टु, ट्याटु देखाएर, अश्लील हाउभाउमा नाचेर, ‘घोडा फर्काएर’ प्रस्तुत गरिने गीतलाई के साँच्चिकै तिज गीत मान्न सकिन्छ? यो अहिलेको मुख्य बहसको विषय बनेको छ।

सांस्कृतिक झल्को कि बजारमुखी प्रयोग?
परम्परागत तिज गीतहरू — जस्तै “छमछम सारी, चुरा हल्लाएर, माइत जाने” गीतहरूले नेपाली महिलाको संस्कृति, दुःख र सामाजिक पीडा प्रस्तुत गर्ने गर्थे। तर यस्ता नयाँ गीतहरूले त्यो भावना, त्यो मौलिकता र त्यो सन्देशलाई विस्थापित गर्दै मनोरञ्जनको नाममा हल्का शैली अँगालेका छन्।

श्रोता-दर्शकहरू भन्छन् — “अब त हामी आजित भइसकेका छौं। यो मौलिकता हो कि बजारमुखी प्रयोग? हामी केलाई तिज गीत मान्ने, केलाई नमान्ने भन्ने छुट्याउने समय आएको छ।”

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij