
काठमाडौं । नेपाल राष्ट्र बैंकले विद्युतीय मुद्रा (डिजिटल करेन्सी) जारी गर्ने तयारी गरेको छ ।
केन्द्रीय बैंकका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलले हालसम्म विश्वका ११ मुलुकले विद्युतीय मुद्रा जारी गरिसकेकाले नेपालले पनि त्यसबारे अध्ययन र तयारी गरेको बताए।
वित्तीय तथा विद्युतीय साक्षरताबारे माछापुछ्रे बैंक र निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन), नेपालबीचको सहमतिपत्रमा हस्ताक्षर कार्यक्रममा कार्यकारी निर्देशक पौडेलले विद्युतीय साक्षरताबारे पुराना पाठ्यक्रम पढाएर भन्दा पनि आधुनिकताको विकाससँगै हरेक दिनका नवीन आयामलाई शिक्षक र विद्यार्थीले आत्मसात गर्नु पाउनुपर्नेमा जोड दिए ।
उनका अनुसार हाल प्रतिमहिना औसतमा ४० अर्बको विद्युतीय कारोबार हुने गरेको छ । गत वैशाखमा क्युआर कोडमार्फत ८६ लाख व्यक्तिले २६ अर्बभन्दा बढीको कारोबार गरेको भन्दै नेपालमा विद्युतीय कारोबारको प्रयोग बढ्दो रहेको बताए। राष्ट्र बैंकले चालु आर्थिक वर्षलाई विद्युतीय भुक्तानी प्रवद्र्धन वर्षका रुपमा सञ्चालन गरिरहेको छ ।
माछापुछ्रे बैंकका अध्यक्ष डा.उपेन्द्र महतोले वित्तीय र विद्युतीय कारोबारलाई बढाएर समृद्ध मुलुक निर्माणमा योगदान दिन सकिने बताए।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij