२०८३ कार्तिक २२ शनिबार

Nov 07 2026 Saturday

  • २०८३ कार्तिक २२ शनिबार

२०८३ कार्तिक २२ शनिबार

विदेशिने ठूलाे स‌‌ख्याका युवाहरुलाई निर्माण क्षेत्रमा नेपालमा नै रोजगारी सृजना गर्न सकिन्छ

विदेशिने ठूलाे स‌‌ख्याका युवाहरुलाई निर्माण क्षेत्रमा नेपालमा नै रोजगारी सृजना गर्न सकिन्छ

देव लामा, प्रबन्ध निर्देशक, साङ दोर्जे निर्माण सेवा

नेपालमा म करिब १० बर्ष पहिले देखि निर्माण क्षेत्रमा संलग्न रहँदै आएको छु । यो व्यवसाय मेरो बुबाले शुरुवात गर्नुभएको हो । अहिले यस व्यवसायलाई मैले नेतृत्व गर्दै आएको छु । साथै व्यवसायलाई नयाँ ढङ्गले प्रतिष्पर्धी समेत बनाउँदै लैजानको निम्ति पहल गरेको छु । हाम्रो यस कम्पनीले खासगरी ग्रामीण दुर्गम क्षेत्रलाई लक्षित गरेर भवन निर्माण सम्बन्धी कामहरु गरिरहेका छौं । नेपालमा निर्माण क्षेत्रमा निकै राम्रो सम्भावना छ । यस क्षेत्र मार्फत हामीले निर्माणको कार्य गर्ने क्रममा यस व्यवसाय मार्फत म आफू निकै सन्तुष्ट पनि छु ।

ग्रामीण क्षेत्र लक्षित छौं :
अहिले हामीले त्यस्तो क्षेत्रमा काममा कामहरुलाई प्राथमिकताको साथ अघी बढाइरहेका छौं, जहाँ अन्य निर्माण व्यवसायीहरु सहजै कामको जिम्मेवारी लिन तयार हुँदैनन् । साथै सामाजिक दायित्व समेतलाई विशेष ख्याल गरी निर्माण सम्बन्धी काम अघी बढाइरहेका छौं ।

देशको पूर्वाधार विकासको निम्ति निर्माण क्षेत्र निकै नै महत्वपूर्ण क्षेत्र हो । नेपालमा राम्रो तवरले पूर्वाधार निर्माणलाई जोड दिइने गर्ने हो भने मुलुकलाई छोटो अवधिमा नै सुविधायुक्त, व्यवस्थित र समृद्ध मुलुकको रुपमा विकास गर्न सक्छौं । नेपालमा निर्माण क्षेत्रमा काम गर्नको निम्ति निकै राम्रो सम्भावना छ । यस क्षेत्र मार्फत विदेशिने करिब २० प्रतिशत युवाहरुलाई स्वदेशमा नै रोजगारी सृजना गर्न सकिन्छ ।

कच्चा पदार्थ र निर्माण सामाग्री पुर्याउनमा समस्या :
पछिल्लो समय नेपालमा सञ्चालन गरिने प्रोजेक्टहरुमा विदेशी संस्थाहरुले पनि उल्लेख्य सहयोग गरिरहेको अवस्था छ । यस्ता प्रोजेक्टहरु ग्रामीण क्षेत्रहरुमा समेत निर्माणको लागि पहल भइरहेको छ । तर ग्रामीण क्षेत्रमा सम्पन्न गरिने यस्ता प्रोेजेक्ट निर्माणको क्रममा त्यहाँ कच्चा पदार्थको उपलब्धता र स्रोतसाधनको व्यवस्थापनमा समस्या रहने गरेको पाइन्छ । साथै अझै पनि ग्रामीण क्षेत्रमा यातायात लगायतका पूर्वाधार नपुगेको कारण निर्माण सम्बन्धी उपकरणहरु पुर्याउन समेत गाह्रो पर्छ ।

विद्यालय भवन निर्माणमा काम गरिरहेका छौं :
अहिले हामीले हामीले काभ्रेको मिल्चेमा इटालीको सहयोगमा सञ्चालित विद्यालय निर्माण सम्बन्धमी प्रोजेक्ट अघी बढाइरहेका छौं । अन्य निर्माण व्यवसायी जान नसकेको वा तयार नभएको क्षेत्रमा समेत प्राथमिकताको साथ हामीले काम गरिरहेका हुनाले स्थानीयहरुबाट समेत हामीले राम्रो साथ पाएका छौं । हामीले अहिले काभ्रेको मिल्चेमा विद्यालय निर्माण सम्बन्धी एउटा प्रोजेक्ट अघी बढाएका छौं । यातायातको सुविधा पुग्न नसकेको उक्त क्षेत्रमा हामीले भौगोलिक तथा प्राविधिक लगायतका विभिन्न बाधाव्यवधानको बीच पनि काम अघी बढाएका हौं । अघिल्लो बर्ष देखि निर्माण कार्य शुरु गरिएको उक्त प्रोजेक्ट अन्तरगत हाल करिब ८० प्रतिशत कार्य सम्पन्न भइसकेको छ भने अब करिब २ महिनामा उक्त प्रोजेक्ट पूर्ण रुपमा सम्पन्न हुनेछ ।

शुरुमा उक्त प्रोजेक्ट निर्माणको निम्ति प्रक्रिया अघी बढाउन निर्माण व्यवसायीहरुलाई आह्वान गर्दा उक्त क्षेत्रमा कार्य गर्न निकै गाह्रो हुने देखेर अन्य कम्पनीहरु उक्त कामको जिम्मेवारी लिन तयार नभएको अवस्थामा हामीले उक्त प्रोजेक्टलाई सहजै स्वीकार्दा स्थानीयहरु समेत आश्चर्यमा परेको पाएका थियौं । साथै उक्त प्रोजेक्ट निर्माणको अन्तिम चरणमा पु¥याउन सकेकोमा हामी पनि सन्तुष्ट छौं ।

यसकारण स्वीकार्याै‌ विद्यालय प्रोजेक्ट :
हामीले उक्त क्षेत्रको वास्तविकता बुझ्दा त्यहाँ विद्यालयको भौतिक पूर्वाधार बिना नै अध्ययन अध्यापनको काम हुँदै आएको पायौं । त्यस अवधि सम्म विद्यालयको कुनै भौतिक पुर्वाधार निर्माण हुन सकेको थिएन । जस्ता र बाँसको छाप्रोमा अध्ययन कार्य हुँदै आएको हामीले पायौं । यसकारण त्यहाँको दयनीय अवस्था देखेर हामीले जसरी पनि उक्त आयोजना निर्माण गर्नुपर्छ भन्नेमा हामी दृढ निश्चयका साथ हामीले उक्त प्रोजेक्टको जिम्मेवारी लिएका हौं । यस प्रोजेक्ट अन्तरगत हामीले ७ ओटा भवनहरु निर्माण गर्नुपर्नेछ । हामीले भवन निर्माणको निम्ति जिम्मेवारी लिएको यस प्रोजेक्टको लगानी प्रति भवन ३५ लाख रुपियाँ छ । सोही बमोजिम सबै कार्य निर्माणको लागि करिब साढे २ करोड रकम यसको लागत रहेको छ । यो क्षेत्र बनेपाबाट करिब १ सय ५० किलोमिटरको दूरीमा छ, जहाँ अहिले सम्म मोटरबाटो सुविधा समेत पुग्न सकेको छैन ।

कम्पनीका अन्य कार्यहरु :
हामी पछिल्लो समय नेपालमा विद्यालय भवन तथा घरहरु निर्माण सम्बन्धी काम गरिरहेका छौं । पछिल्लो समय हामीले निर्माण कार्य यस्तो ठाउँमा सम्पन्न गरिरहेका छौं, जहाँ विद्यालय निर्माण गरेका छौं, जहाँ न्यूनतम पूर्वाधार निर्माण नभई अध्ययन कार्य गरिँदै आइएको थियो । यथार्थलाई हेर्ने हो भने नेपालमा अहिले पनि अधिकांश निर्माण व्यवसायीहरु सुगम क्षेत्रमुखी नै छन् । जहाँ निर्माण कार्य नितान्त जरुरी रहन्छ, त्यस क्षेत्रमा भने कुनै पनि निर्माण व्यवसायीहरु पुग्न सकेको अवस्था छैन । दुर्गम क्षेत्रमा काम गर्दा राम्रो मुनाफा लिन गाह्रो हुने गर्छ । तर हामीले सामाजिक दायित्वलाई समेत विचार गरेर सोही बमोजिम कम मुनाफामा नै निर्माणको निम्ति काम गर्नुपर्छ भन्ने मान्यता सहित हामीले काम गरिरहेका छौं । हाम्रो मान्यता भनेको समतामूलक विकास हो । यसकारण हामीले दुर्गम क्षेत्रमा वालुवा, सिमेन्ट लगायतका निर्माण सामाग्रीहरु मानिसबाट बोकाएर नै पु¥याएर पनि काम गरिरहेका छौं ।
हामीले मिल्चेमा निर्माण सम्बन्धी कामको जिम्मेवारी लिँदा हाम्रा अन्य साथीहरुले समेत त्यस्तो दुर्गम क्षेत्रमा गएर काम नगर्न सल्लाह नदिएका होइनन् । साथै स्थानीयहरु पनि उक्त क्षेत्रमा कुनै पनि निर्माण व्यवसायी आएर कामको जिम्मेवारी लिन तयार होलान् भनेर सोचेका थिएनन् । हामी त्यस क्षेत्रमा गइसकेपछि स्थानीयबासीहरु निकै हर्षित भए ।

कम्पनीलाई हाइटेक प्रविधिमा लैजाने योजनामा छौं :
विगतमा हाम्रो कम्पनीले सानातिना कामहरु मात्र गर्दै आएको थियो । निकै कम रकम कारोवार रहँदै आएकोमा अहिले हामीले ठूलो कारोबार समेत गर्न सक्ने अवस्थामा पुगेका छौं । हाल हामीले बार्षिक २५–३० करोड बराबरको कारोवार गर्दै आएका छौं । हामीले कम्पनीलाई दिगो अवधारणा बमोजिम कसरी अघी बढाउने भन्नेमा जोड दिइरहेका छौं । आगामी दिनमा हामीले हाइटेक प्रविधिलाई अपनाएर सोही बमोजिम निर्माण कार्यलाई अघी बढाउनेछौं ।

निर्माण व्यवसायी प्रतिको धारणा सकारात्मक बन्दैछ :
विगतमा निर्माण व्यवसायीहरुलाई हेरिने दृष्टिकोण सकारात्मक बन्न सकेको थिएन । व्यवसायीहरुलाई गलत तवरले नै हेर्ने प्रचलन थियो । पछिल्लो ४–५ बर्षयता भने नेपालमा निर्माण व्यवसायीहरुलाई हेर्ने दृष्टिकोणमा समेत निकै परिवर्तन आएको छ । राम्रो तवरले काम गर्ने निर्माण व्यवसायीहरुलाई सम्मान गर्ने, हौसला दिने, सम्माननीय क्षेत्रको रुपमा व्यवहार गर्ने प्रचलन समेत विकास भएको छ । यसले हामी व्यवसायीहरुलाई थप हौसला मिलेको छ । साथै निर्माण क्षेत्रलाई दिगो अवधारणा बमोजिम अघी बढाउनुपर्छ भन्ने मान्यता सहित हामी अघी बढेका छौं ।

आगामी योजना :
नेपालमा अहिले पनि शहरी क्षेत्र भन्दा केही मात्रका बाहिरी क्षेत्रमा निर्माण व्यवसायीहरु जान तयार छैनन् । निर्माण क्षेत्रमा काम गर्ने क्रममा हामीले प्रतिष्पर्धात्मक क्षेत्रलाई भन्दा पनि राम्रो सम्भावना भएको क्षेत्रलाई विशेष महत्व दिएर सोही बमोजिम काम गरिरहेका छौं । हामी जोखिमता बीच राम्रो तवरले काम गर्न चाहन्छा्रैं । सोही बमोजिम हामी निरन्तर रुपमा निर्माण व्यवसायमा रहेर काम गरिरहेका छौं । नेपालमा निर्माण कार्य गर्ने क्रममा हामीले गरेको अर्को प्रोजेक्टलाई हेरेर नयाँ कामको जिम्मेवारी समेत पाइरहेको अवस्था छ ।
नेपालमा हामीले यस क्षेत्रमा रहेर काम गर्ने क्रममा धेरै कुराहरु सिकेका छौं । आगामी दिनमा निर्माण व्यवसायमा आधुनिक प्रविधिहरु समेत भित्र्याउनमा जोड दिनेछौं ।

नीतिहरु साना कम्पनीमैत्री हुनुपर्छ :
नेपालमा अहिलेको अवस्थामा ठूला निर्माण व्यवसायीहरुलाई काम गर्न तुलनात्मक रुपमा सहज छ । नेपालमा निर्माण व्यवसायमा कुनै कम्पनी वा फर्मले अघिल्लो पटक जुन स्तरको निर्माण कार्य सम्पन्न गरेको छ, अर्को पटक निर्माण कार्य गर्ने क्रममा सोही बमोजिम त्यो भन्दा ठूलो काम गर्ने जिम्मेवारी उक्त कम्पनीलाई दिनु जरुरी रहन्छ ।
निर्माण व्यवसायीहरुमा अहिले शुरुमा नै पेश्की उपलब्ध गराउने काम गर्छन् । यद्यपि नेपालमा निर्माण कम्पनीले कुनै जिम्मेवारी लिने क्रममा उनीहरुले उक्त प्रोजेक्टलाई राम्रो तवरले सञ्चालन गर्नको निम्ति जोड दिनु भन्दा पनि आफ्नो स्थायी उपकरणहरु खरिदको निम्ति उपयोग गर्ने गरेको समेत पाइन्छ ।

निर्माण क्षेत्रको महत्व :
देशको पूर्वाधार विकासको निम्ति निर्माण क्षेत्र निकै नै महत्वपूर्ण क्षेत्र हो । नेपालमा राम्रो तवरले पूर्वाधार निर्माणलाई जोड दिइने गर्ने हो भने मुलुकलाई छोटो अवधिमा नै सुविधायुक्त, व्यवस्थित र समृद्ध मुलुकको रुपमा विकास गर्न सक्छौं । नेपालमा निर्माण क्षेत्रमा काम गर्नको निम्ति निकै राम्रो सम्भावना छ । यस क्षेत्र मार्फत विदेशिने करिब २० प्रतिशत युवाहरुलाई स्वदेशमा नै रोजगारी सृजना गर्न सकिन्छ । यद्यपि नेपाल सरकारले हामीलाई नेपालमा नै रहेर काम गर्नको निम्ति सोही बमोजिम वातावरण भने निर्माण गरिदिनुपर्छ ।

यसकारण हामीलाई गर्व छ :
हामीले सामाजिक दायित्वलाई विशेष प्राथमिकताको साथ काम अघी बढाइरहेका छौं । अहिले हामीले नेपालमा ग्रामीण क्षेत्रलाई लक्षित गरेर काम अघी बढाएको कारण विद्यालय तहको शिक्षाको पहुँचमा नपुगेका व्यक्तिहरुले राम्रो शिक्षा लिन सकेका छन् । ग्रामीण क्षेत्र सम्म विकासको लहर छाएको छ । यसैमा हामीलाई गर्व छ । यसमा सन्तुष्ट पनि छौं । आगामी दिनमा पनि नेपाली युवाहरुलाई नेपालमा नै रहेर काम गर्नुपर्छ भन्ने मान्यता सहित हामी निरन्तर रुपमा अघी बढेका छौं ।

प्र्रयाप्त जनशक्ति छैन :
नेपालमा अहिले पनि निर्माण व्यवसायमा प्रयाप्त दक्ष जनशक्ति प्राप्त गर्न निकै गाह्रो छ । यद्यपि नेपालमा अझै पनि निर्माण कार्यहरु दु्रत तवरले अघी नबढेको कारण  कामहरु गर्ने राम्रो सम्भावना छ । आगामी दिनमा नेपाललाई तीव्र तवरले विकासको गतिमा अघी बढाउन नेपालमा रहेको जनशक्ति प्रयाप्त नहुने भएकोले आवश्यकता अनुसार ठूलो सङ्ख्यामा विदेशबाट जनशक्ति ल्याउनुपर्ने आवश्यकता छ । नेपाललाई पनि क्षमतावान बनाउनुपर्छ ।
साना व्यवसायीको हितमा निर्माण महासंघले पहल गर्नुपर्छ ।
हुनतः नेपाल निर्माण व्यवसायी महासंघ निर्माण क्षेत्रमा कार्यरत व्यवसायीहरुको हक, हित र अधिकारको लागि काम गर्दै आएको संस्था हो । यस संस्थाले राज्यलाई दबाबमूलक विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । यद्यपि उक्त संस्थाले ठूला व्यवसायीहरुको हक, हित र अधिकारको नै काम गर्दै आएको छ तर साना व्यवसायीहरुको निम्ति भने काम गर्न सकेको पाईंदैन । १० अर्ब सम्मका आयोजनाहरु नेपाली निर्माण कम्पनीलाई नै निर्माणको जिम्मेवारी दिनुपर्नेमा महासंघले आवाज उठाउँदै आएपनि साना व्यवसायीहरुलाई भने सम्बोधन गर्न नसकेको अवस्था छ ।

हामी गुणस्तरीयतामा केन्द्रित छौं :
अहिले निर्माण व्यवसायीहरुलाई हेरिने दृष्टिकोण परिवर्तन भइसकेको छ । नेपालमा निर्माण क्षेत्रमा काम गर्नको निम्ति प्रयाप्त अवसरहरु छन् । यस्तो अवस्थामा हामी निर्माण व्यवसायीहरु पनि विशेष रुपमा सचेत तवरले अघी बढ्न तयार छौं । हामी निर्माण व्यवसायीहरुलाई विगतमा राम्रो काम गर्दैनन् भन्ने आरोप लगाउँदै आइएको अवस्थामा अहिले भने कम मुनाफामा नै गुणस्तरीय काममा केन्द्रित हुँदै जिम्मेवारपूर्वक यी गतिविधिहरुलाई अघी बढाइरहेका छौं । नेपाल सरकारले पनि हामी व्यवसायीहरुलाई जुन तवरले संरक्षण तथा सुरक्षाको व्यवस्था गर्नुपर्ने हुन्छ, त्यो समेत उपलब्ध गराउनुपर्छ । निर्माण व्यवसायलाई गुणस्तरीय तवरले सम्पन्न गर्ने क्रममा हामी आफैं पनि अपडेट र अपग्रेड हुनु जरुरी छ ।

अन्त्यमा :
मुलुकलाई राम्रो तवरले विकासपथमा अघी बढाउनको निम्ति त्यसको नेतृत्व युवा वर्गले लिन सक्ने गरी अघी बढ्नुपर्छ । वास्तवमा युवाहरुमा हरेक कामलाई सही तवरले सम्पन्न गर्न सक्ने विशेष ऊर्जा हुन्छ, उनीहरुले निकै जोखिमता बीच पनि काम गर्न सहज तयार हुन्छन् । यद्यपि उनीहरुलाई सम्बन्धित निकायहरुबाट राम्रो साथ र सहयोग भने आवश्यक पर्छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij