२०८३ कार्तिक २२ शनिबार

Nov 07 2026 Saturday

  • २०८३ कार्तिक २२ शनिबार

२०८३ कार्तिक २२ शनिबार

वायुसेवा निगमकाे वाइडवडीबाट अब ४५ हजारमै जापान उड्न सकिने

वायुसेवा निगमकाे वाइडवडीबाट अब ४५ हजारमै जापान उड्न सकिने

काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइड बडी जहाजबाट रु ४५ हजारमै जापानको यात्रा तय गर्न सकिने भएको छ ।   आगामी असार १९ (४ जुलाई, २०१९) देखि जापानको ओसाका सिधा उडान भर्ने तयारी गरेको निगमले काठमाडौँ–ओसाका उडानको भाडा निर्धारण गरेको हो । जसअनुरुप एकतर्फी ४५ हजार र दुईतर्फी भाडा ७७ कायम गरिएको छ । जापानको एभिएसनले स्वीकृत गरेको भाडादर नै लागू हुने निगमले जनाएको छ । भाडादर स्वीकृत भएपछि निगमले अन्य कागजी प्रक्रिया मिलाए छिट्टै टिकट बिक्रीको काम पनि शुरु गर्नेछ ।

जापान सिभिल एभिएसन ब्यूरो (जेक्याब) बाट उडान अनुमति पाएपछि निगमले ओसाका उडान निश्चित गरेको हो ।  जापान एभिएसनबाट उडान अनुमति पाएपछि असारको दोस्रो सातादेखि ओसाका सिधा उडान गर्ने तयारी गरिएको निगमका सहायक प्रवक्ता नवराज कोइरालाले जानकारी दिए । निगमलाई आन्तरिक तथा बजार व्यवस्थापनका लागि झण्डै ४५ दिन लाग्ने छ ।

सहायक प्रवक्ता कोइरालाका अनुसार उडान अनुमति पाएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट–ओसाका कान्साइ अन्तर्राष्ट्रिय विमानस्थलमा साताको तीन दिन सोमबार, शुक्रबार र बुधबार उडान गरिने योजना छ । निगमले काठमाडौँ–ओसाकाका लागि वाइड बढी ए–३३० जहाजमार्फत उडान गर्नेछ । काठमाडौँ–जापान उडानको समयावधि छ घण्टाको छ भने ओसाका–काठमाडौँ साढे सात घण्टाको उडान हुनेछ । वाइड बडी जहाजले पहिलोपटक लामो गन्तव्य उडान भर्न लागेको हो । गत असार र साउन महीनामा निगमले खरीद गरेका दुई वाइड बडी जहाजले पुरानै छोटो दूरीको गन्तव्यमा  पालैपालो उडान भर्दै आएका थिए । निगमले गत माघ १९ गते जापान उडानका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) बाट विमान सञ्चालनको अनुमति प्रमाणपत्र (एओसी) पाएको थियो । निगमले चीन, जापान, कोरिया र साउदी अरबमा उडान गर्ने व्यापारिक योजनाअनुसार वाइड बडी जहाज भित्र्याएको थियो  । निगमले जापानकै नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा सिधा उडान भर्नका लागि प्रक्रिया अघि बढाएको छ । यो विमानस्थलमा सातामा दुई उडान भर्ने निगमको योजना छ ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij