काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठकले उपाध्यक्ष वामदेव गौतमलाई प्रतिनिधिसभाको उम्मेदवार बनाउने निर्णय गरेको छ ।
शनिबार राति सम्पन्न सचिवालय बैठकले यस्तो निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
त्यस्तै, नेकपाले आगामी बैशाख २५ गते स्थायी समिति बैठक बोलाउने निर्णय पनि गरेको छ ।
त्यसअघि वैशाख २४ गते स्थायी कमिटी बैठकको लागि आवश्यक तयारीका लागि सचिवालय बैठक बोलाइएको पनि श्रेष्ठले जानकारी दिए ।
सचिवालय बैठकले स्थायी समिति बैठकको एजेण्डा तय गर्नेछ ।
बैठकका निर्णय बारे जानकारी दिदै प्रवक्ता नारायणकाजी श्रेष्ठले दुवै अध्यक्षले आत्मआलोचना गरेर अगाडी बढ्ने निर्णय भएको जानकारी दिनुभयो । ‘पार्टी वा सरकार वा सम्वन्धित क्षेत्रमा जे जति कमिकमजोरी भएका छन् ति कमी कमजोरीमा प्रधानमन्त्री एंव पार्टी अध्यक्ष केपी शर्मा ओलीले समेत आत्मआलोचना गर्नुभएको छ, आफ्नो हकको जिम्मेवारीका निम्ती’, उहाँले भन्नुभयो,‘यसैगरी कमरेड अध्यक्ष प्रचण्ड र अरु कमरेडहरुले पनि त्यही अनुसार आत्मआलोचित हुदै अगाडी बढ्ने संकल्प गर्नुभएको छ ।’
यस्तै आजको सचिवालय बैठकले पार्टी एकतालाई रक्षा गर्दे पार्टीलाई गुट उपगुटमा नलान सबैतहमा निर्देशन दिने पनि निर्णय गरेको छ । त्यस्तै सरकारलाई पार्टीको मार्ग निर्देशन र नीति निर्देशनमा सरकार संचालन गर्ने निर्णय भएको पनि प्रवक्ता श्रेष्ठले बताउनु भयो ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij