म्युजिक इन्डष्ट्रि एसोसिएसन नेपाली गीतसंगीत र चलचित्र क्षेत्रसँग सम्बन्धित व्यक्तिहरु संलग्न रहेको संस्था हो । हाल यस संस्थामा ८ सय ७५ सदस्य छन् । यसको नेतृत्व सूर्य बहादुर मगरले गर्नुभएको छ । पछिल्ला दिनहरुमा पूर्ण रुपमा करको दायित्वमा आएको र ठूलो राजस्व संकलन हुने क्षेत्रको रुपमा गीतसंगीत क्षेत्र विकास हुँदै गएको बताउनुहुन्छ सूर्य बहादुर मगर । लकडाउनको समयमा गीतसंगीत दिन कटाउन सबैभन्दा सजिलो र प्रभावकारी माध्यम समेत बनेको बताउनुहुने मगर सँग गरिएको संक्षिप्त कुराकानी यहाँ प्रस्तुत गरिएको छ ।
गीतसंगीत एवं चलचित्र क्षेत्रमा लकडाउनको असर कस्तो छ ?
अहिले लकडाउनको कारण सबै क्षेत्र बन्द हुँदा यसको असर गीतसंगीत एवं चलचित्र क्षेत्रसँग निर्भर व्यक्तिहरुलाई पनि परेको छ । यस क्षेत्र अन्तरगत विभिन्न तवरले काम गर्ने मानिसहरु जोडिएका हुन्छन् । कम्पोजर, मोडल, प्राविधिक, निर्देशक, संगीतकर्मी लगायत । यस क्षेत्रमा दैनिक ज्यालादारीमा काम गर्ने व्यक्तिहरु पनि यतिबेला कामबाट वञ्चित भएका छन् ।
गीतसंगीत क्षेत्रमा निर्भर व्यक्तिहरुको हितलाई लक्षित गरेर केही कल्याणकारी कार्यहरु पनि संघबाट सञ्चालन गर्नुभएको छ कि ?
अहिले नेपालमा गीतसंगीतलाई आधार बनाएर जीविकोनिर्वाह गर्दै आएका व्यक्तिहरुले ठूला संख्यामा रोजगारी गुमाएका छन् । जसले गर्दा थुप्रै आश्रित व्यक्तिहरुको अवस्था कमजोर बन्दै गएको छ । यस परिस्थितिमा निकै कमजोर अवस्थामा पुगेका र वेखर्चीहरुलाई हामीले राहत पनि वितरण गरिरहेका छौं ।
अहिले नेपालमा गीतसंगीत क्षेत्रको अवस्था चाहिँ कस्तो छ ?
अहिले नेपालमा गीतसंगीत क्षेत्र पनि नयाँ उद्योगको रुपमा विकास भएको छ । राज्यले समेत यस क्षेत्रलाई उद्योगको मान्यता दिएको छ । अहिले नेपालमा सञ्चालनमा रहेका उद्योग व्यवसाय मध्ये पारदर्शी रुपमा अत्यधिक राजस्व संकलन हुने क्षेत्र समेत गीतसंगीत क्षेत्र बन्न पुगेको छ ।
कारोबार कस्तो छ ?
गीतसंगीत क्षेत्रको कारोबार अहिले दिनानुदिन बढ्दो छ । करोडौं लगानी भएको चलचित्रको तुलनामा कम लगानीमा नै निर्मण हुने गीतसंगीत अहिले आर्थिक उपार्जनको लागि राम्रो माध्यम समेत बनिरहेका छन् ।
विधागत विविधिकरणलाई कसरी हेर्न सकिन्छ ?
अहिले गीत संगीत क्षेत्रको दायरा निकै नै फराकिलो बनिसकेको छ । विगतमा गीतसंगीत र चलचित्र क्षेत्रलाई फरक क्षेत्रको रुपमा हेरिन्थ्यो । तर अहिले गीतसंगीत र चलचित्रलाई आपसमा सम्बन्धित र परिपूरक क्षेत्रको रुपमा हेरिँदै आइएको छ । पछिल्लो समय गीतसंगीत हाम्रो मौलिकता, संस्कार, पर्यटन, समाज लगायत विभिन्न क्षेत्रसँग जोडिएको पाइन्छ । कलासंस्कृतिको संरक्षणमा पनि गीतसंगीत क्षेत्रले निकै नै महत्वपूर्ण योगदान पुयाउँदै आएको छ ।
विगतको तुलनामा लकडाउनमा गीतसंगीत प्रति दर्शक र श्रोताको आकर्षण कस्तो रहेको पाउनुभयो ?
गीतसंगीत भनेको मनोरञ्जनात्मक माध्यम पनि हो । समय कटाउनको लागि मात्र नभई सिर्जनशिल बन्नको लागि समेत गीतसंगीत क्षेत्रले विशेष भूमिका निर्वाह गर्छ । गीतसंगीत प्रति दर्शक र श्रोतालाई यस लकडाउनले अझ नजिक बनाइदिएको छ । यतिबेला पुराना र मौलिकता बोकेका गीतहरु प्रति आकर्षण बढेको पाइएको छ । गीतसंगीत हाम्रो सृजना सँग जोडिने विषय पनि हो । यसले हाम्रो जीवनलाई नै सिर्जनशिल समेत बनाइदिन्छ । गीतसंगीत सूचना, शिक्षा र सन्देशको वाहक पनि हो । अहिलेको अवस्थामा यो मानिसको अभिन्न अङ्ग जस्तो बनेको छ ।
गीतसंगीत नभएको भए के हुन्थ्यो होला ?
गीतसंंगीतले मानिसलाई लयवद्ध बनाएको छ । संगीत नभएको भए अहिलेको जटिल परिस्थितिमा मानिसको जीवन शायद थप पीडादायी हुन्थ्यो होला ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij