लकडाउनको कारण यतिबेला विद्यालय तहमा अध्ययन गर्ने बालबालिकाहरुले औपचारिक शिक्षा लिन विद्यालय जान पाएका छैनन् । यस अवस्थालाई धेरै व्यक्तिहरुले समस्याको रुपमा लिएका छन् । यद्यपि हरेक समस्यामा नयाँपन चाहने र सकारात्मक भावमा रमाउने व्यक्तिहरुले भने समस्या भित्र नै सम्भावना पनि अवश्य भेट्याउँछन् ।
यस पटकको लकडाउनलाई कसरी बालबालिकाले अवसरको रुपमा अपनाउन सक्छन् भन्ने सम्बन्धमा नेशनल मोडल इङ्गलिस स्कुलका प्रिन्सिपल डिएन अधिकारीले निम्न बुँदाहरु मार्फत आफ्नो सन्देश प्रवाह गर्नुभएको छ ।
क) विद्यार्थीहरु लामो लकडाउनको कारण अभिभावकसँगै रहने अवसर प्राप्त भएको छ । जसले गर्दा पहिलो कुरा त घरपरिवारसँग निकटतम सम्बन्ध विकास हुन सहयोग पुग्छ ।
ख) यसबाट बालबालिकाहरुमा व्यक्ति व्यक्तिबीच कुराकानी गर्ने क्षमताको विकासमा सहयोग पुग्छ ।
ग) समाजका समस्याहरुको तर्कसङ्गत विश्लेषण गर्ने अवसरको रुपमा यसलाई अपनाउन सकिन्छ ।
घ) यस बेलामा मनोरञ्जनको अलावा सन्देशमूलक भिडियोहरु हेरेर व्यावहारिक ज्ञान समेत हासिल गर्न सकिन्छ ।
ङ) ग्रामीण परिवेश एवं पारिवारिक वातावरणको महत्व बारे जानकारी लिन सक्ने सुअवसरको रुपमा समयको उपयोग गर्न सकिन्छ ।
च) आफ्नै घरमा उपलब्ध स्रोतसाधनको प्रयोगबाट बालबालिकाहरुले सीपमूलक दक्षता हासिल गर्न सक्छन् । जस्तै रोटी बनाउन, तरकारी पकाउन आदि ।
छ) परिवार नै राम्रो संस्कार सहितकाे शिक्षा सिक्ने उपयुक्त गञ्तव्य बन्न सक्छ, भनिन्छ घर विद्यार्थीको लागि पहिलो पाठशाला हो ।
ज) अहिलेको जटिल परिस्थितिले उनीहरुलाई जिन्दगीभर जस्तोसुकै जटिल परिस्थितिलाई पनि सहजै स्वीकार गर्दै त्यसलाई सामना गर्ने क्षमता विकास गर्ने कार्यमा महत्वपूर्ण सहयोग पुर्याउन सक्छ ।
झ) बालबालिका प्रतिको माया र सौहाद्रताले उनीहरुले समाजमा आफूहरु सम्मानित व्यक्ति भएको अनुभुति गर्न सक्छन् ।
ञ) अहिले विद्यार्थीहरु भौतिक रुपमा विद्यालय जान नसकेपनि मिडासको एजुकेशन एप्स डाउनलोड गरेर निःशुल्क पढ्न सक्ने अवसर छ । जुन निकै प्रभावकारी छ ।
ट) टेलिफोन तथा विभिन्न अनलाइन माध्यमबाट आफ्ना शिक्षकशिक्षिकासँग अन्तरक्रिया पनि गर्न सकिन्छ । अन्य अनलाइन तथा युट्युबबाट ज्ञान हासिल गर्न सक्छन् ।
ठ) विद्यार्थीहरुले आफूले विकास गर्न चाहेका विभिन्न क्षमता विकासको लागि प्रयाप्त अभ्यास गर्न सक्छन् । जस्तै हस्तलेखन, वाककला, कथा लेखन, चित्रकला, गणित र विज्ञानको अभ्यास लगायत ।

अहिले मुलुक भौतिक रुपमा लकडाउन भएपनि हाम्रो लागि अन्य थुप्रै सम्भावनाहरु पनि छन् । बालबालिकाहरुले यसलाई नयाँ अवसरको रुपमा अपनाउन सक्छन् । जतिसक्दो सृजनशिल र मनोरञ्जनयुक्त बनाउन सक्छन् । यसमा अभिभावकको महत्वपूर्ण भूमिका रहने गर्छ । साथै अभिभावकले पनि बुझ्नुपर्छ कि यस्ता महाविपत्तिहरु पृथ्वीमा समय–समयमा आइरहेका छन् । यस परिस्थितिबाट मुक्ति पाउनको लागि सावधानी र सहनशिलता नै महत्वपूर्ण रहन्छन् । यसकारण जो जहाँ छौं, त्यहीँ सुरक्षित रहौं । खुसी रहौं, स्वस्थ रहौं । सबै अभिभावक र विद्यार्थीहरुलाई यही सन्देश दिँदै नयाँ बर्ष २०७७ को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij