२०८३ कार्तिक २२ शनिबार

Nov 07 2026 Saturday

  • २०८३ कार्तिक २२ शनिबार

२०८३ कार्तिक २२ शनिबार

बिमिस्टेकको चौथो सम्मेलन काठमाण्डुमा

बिमिस्टेकको चौथो सम्मेलन काठमाण्डुमा

बुहपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमिस्टेक) को चौथो शिखर सम्मेलन भदौ १४ र १५ मा काठमाण्डुमा हुने भएको छ । नेपाल चार वर्षदेखि बिमिस्टेकको अध्यक्ष राष्ट्र हो । 

‘बिमिस्टेक सम्मेलनको मिति निश्चित भएको छ’, मंगलबार परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले सञ्चारकर्मीसँग भने, ‘नेपाल आयोजक रहने चौथो सम्मेलन भदौ १४ र १५ मा हुनेछ ।’

भारतसँग सम्बन्ध चिसो भएको पाकिस्तानलाई अलग राखी सन् १९९७ मा यो अन्तर्राष्ट्रिय संगठन गठन भएको थियो । बिमिस्टेकमा नेपाल, भारत, बंगलादेश, भुटान, म्यानमार, श्रीलंका र थाइल्यान्ड सदस्य छन् । यसको पहिलो सम्मेलन सन् २००४ मा थाइल्याण्डमा भएको थियो । दोस्रो भारत र तेस्रो म्यानमारमा भएको थियो । सन् २०१४ मा तेस्रो शिखर सम्मेलन म्यानमारमा भएपछि चौथो शिखर सम्मेलन नेपालले आयोजना गर्न लागेको हो ।

म्यानमारपछि नेपालले यो संगठनको अध्यक्षता गरिरहेको छ । पूर्व निर्धारित कार्यक्रमअनुसार गत र्माच महिनामै सम्मेलन गरिसक्नु पर्ने थियो । नेपालमा भएको स्थानीय, प्रदेश एवं संघीय संसदको निर्वाचनका कारण सम्मेलन पछि सरेको हो ।

कुटनीतिक वृत्मा बिमिस्टेकलाई भारतको ‘माइनस पाकिस्तान’ रणनीतिको रुपमा पनि हेर्ने गरिन्छ । सन् २०१६ मा गोआमा सम्पन्न ब्रिक्स सम्मेलनमा दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क)लाई कुनै जानकारी दिइएन । बिमिस्टेकलाई भने आयोजक पर्यवेक्षक अतिथिको रूपमा निम्ता गरिएको थियो । पछिल्लो समय भारत सार्कलाई निस्क्रिय पारी पाकिस्तान बाहेकको विमिस्टेकलाई अघि बढाउने रणनीतिमा छ ।

त्यही भएर विमिस्टेक सम्मेलनका लागि भारतले पछिल्लो समय दवाब बढाइरहेको थियो ।

बिमिस्टेक अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली पानी जहाजको माध्यमबाट बिमिस्टेक सदस्य राष्ट्रहरु एकआपसमा जोडिनु पर्ने पक्षमा छन् । जेठको दोस्रो साता विमिस्टेक महासचिब सहिदुल इस्लामसँग भेट गर्दै उनले भनेका थिए, ‘हामी आर्थिक सामाजिक विकासमा द्रुतगतिमा दौडनु पर्दछ । बिमिस्टेक यस प्रक्रियाप्रति प्रतिवद्ध छ । हामी बंगालको खाडी वरिपरिका मुलुक भएकोले यस क्षेत्रमा पानी जहाजको माध्यमबाट एकआपसमा जोडिँदा थप सहज हुनेछ ।’

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij