काठमाडौं, ३ चैतः बाँकेको जयन्दु बाल सुधारगृहमा शनिबार भएको अशान्ति र त्यसका कारणबारे सांसदहरुले सरकारको ध्यानाकर्षण गराएका छन्। उनीहरूले बाल सुधारगृहमा विभिन्न उमेर समूहका बालबालिकालाई एउटै ठाउँमा राख्दा पटक–पटक तनाव उत्पन्न हुने गरेको भन्दै यसको सुरक्षित र व्यवस्थित व्यवस्थापनको माग गरेका छन्।प्रतिनिधि सभाको आकस्मिक बैठकमा बोल्दै सांसद रोशन कार्कीले सरकारले बाल सुधारगृहलाई सुधार केन्द्र बनाउन खोजेको हो कि ‘बाल बिगार केन्द्र’ ? भनेर प्रश्न गरिन्।
महिला तथा सामाजिक मामिला समितिले महिला मन्त्रालय र सरोकारवालाहरूसँग छलफल गरी आवश्यक निर्देशन दिए पनि सरकारले हालसम्म कुनै ठोस कदम नचालेको उनले बताइन्। देशभरका बाल सुधारगृहको अवलोकन गर्दा न्यूनतम मापदण्ड पालना नगरिएको, लागुपदार्थ सेवन हुने गरेको तथा खानाको गुणस्तर अत्यन्तै कमजोर रहेको पाइएको भन्दै उनले यस समस्याको समाधान आवश्यक रहेको उल्लेख गरिन्।
नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले जेलका कैदीबन्दीहरूको स्वास्थ्य अवस्थाबारे सरकारको जवाफ माग गरे। ‘हाल २९ हजार ५०० कैदीबन्दीमध्ये १८ हजार ५०० जना बिरामी रहेको तथ्य बाहिर आएको छ। यसबारे सदनमा सम्बन्धित निकायले स्पष्ट पार्नुपर्छ,’ उनले भने।सांसद दीपा शर्माले बाल सुधारगृहमा १० वर्षदेखि ३० वर्षसम्मका बालबालिकालाई एउटै स्थानमा राख्दा झगडा तथा तनाव उत्पन्न हुने गरेको बताउँदै उनीहरूलाई छुट्टाछुट्टै व्यवस्थापन गर्नुपर्ने माग गरिन्।
सांसद शान्ति श्रेष्ठले पनि बाल सुधारगृहमा शान्ति तथा सुव्यवस्था कायम राख्न सरकारको ध्यानाकर्षण गराइन्।शुक्रबार होलीको विषयलाई लिएर दुई पक्षबीच भएको विवाद शनिबार तनावमा परिणत भएको थियो। बाँकेको डुडुवा स्थित जयन्दु बाल सुधारगृहका बालबन्दीहरूले गेट तोडेर बाहिर निस्किएर प्रहरीमाथि आक्रमण, पसलमा लुटपाट तथा स्थानीयको परालको टौवामा आगजनी गरेका थिए।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij