उपचारको क्रममा वीर अस्पतालमा मृत्यु भएका नुवाकोट सुर्यगढी नगरपालिका वडा नम्बर ३ का १६ बर्षिय कुमार सुचिकारलाई कुटपिट गरी वेहोस पार्ने कार्यमा संलग्न ९ जना अभियुक्तहरुलाई महानगरीय प्रहरी वृत्त बालाजुले पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको छ ।
गंगबुको गणेश हिमाल वोर्डिङ स्कुलमा अध्ययन गरिरहेका कुमारलाई माघ २७ गते विहान ५ बजेको समयमा तारकेश्वर नगरपालिकाको वडा नम्बर ४ अन्तरगतको गोलढुंगा स्थित फुलबारी गेट नजिकै अचेत अवस्थामा फेला पारिएको थियो । उनको टाउकोमा गहिरो चोट समेत लागेको थियो । उनको उपचारको क्रममा वीर अस्पतालमा माघ २९ गते मृत्यु हुन गयो । उनी माथि कुटपिट भने अघिल्लो दिन २६ गते साँझ नै भएको बुझिएको छ ।
शुरुमा फेला पर्दा ती व्यक्तिको साथमा आधिकारिक परिचय खुल्ने कुनै पनि कागजपत्र थिएनन् । जसले गर्दा उनको थप अनुसन्धानमा केही समस्या उत्पन्न भयो । प्रहरीले ती व्यक्तिको उचाई ५ फिट ७ इन्च रहेको आधारमा उमेर २०÷२५ बर्ष हुनुपर्ने अनुमान लगायो । साथै सबैतिर खबर गर्दा पनि उनको बारेमा कोही पनि सम्पर्कमा आएनन् ।
यसरी भयो परिवारसँगको सम्पर्कः
उनको बारेमा परिवार र आफन्तलाई जानकारी पुर्याउन प्रहरीले विभिन्न माध्यमहरुको प्रयोग गर्यो । सम्पर्कमा ल्याउने अभिप्रायले वेवारिसे व्यक्तिको फोटो सहितको सन्देश प्रहरी कार्यालयले फेसबुक पेजमा पोष्ट समेत गरियो । यद्यपि ती व्यक्तिको बारेमा कसैले पनि सम्पर्क गरेन ।
मृतककी आमा सम्पर्कमा त आइन् तर प्राप्त सूचना नमिल्दा झन् कठिन…
यसै क्रममा मृतककी आमा राधा सुचिकार आफन्त सहित फागुन २१ गते प्रहरीको सम्पर्कमा आइ आफ्नो छोरा फागुन १ को साँझ साढे ६ बजे देखि सम्पर्क विहीन रहेको बताइन् । साथै आफ्नो छोरा १६ बर्षको भएको समेत बताइन् । तर ती महिलाबाट प्राप्त सूचना र प्रहरी अनुमान तथा निमित नमिलेको कारण वेवारिसे अवस्थामा फेला परी उपचारको क्रममा मृत्यु भइसकेका व्यक्तिमाथि कुनै शंका नै गरिएन । जहाँ प्रहरीले अनुमान गरेको उमेर तथा छोरा सम्पर्कविहीन भएको मिति मिलेको थिएन ।
मोबाइल फोनले यसरी खुलायो परिचय ः
ती हराएका भनिएका व्यक्तिले प्रयोग गरेको मोबाइल नम्बरमा सम्पर्क गर्दा ती पहिले नै मृत्यु भइसकेका व्यक्ति अर्थात राधा कुचिकारका छोरा नै रहेको प्रहरीले पत्ता लगायो । पछि फोटो परिक्षण, हराएको समय, मोबाइल नम्बर तथा फोन सेट लगायतको आधारमा ती हराएका व्यक्ति कुमार सुचिकार नै रहेको बारे आधिकारिक पुष्टि भयो ।
हाल सम्म ९ जना पक्राउ ः
प्रारम्भिक अनुसन्धानको क्रममा हाल सम्म भेट्न बोलाउन १ जना केटी सहित १० जना फरार व्यक्तिहरु प्रहरीको सम्पर्कमा आएका छन् । ती सबै तारकेश्वरको पुरानो गुहेश्वरी क्षेत्रमा नै बस्दै आएका व्यक्तिहरु रहेको समेत पाइएको छ । पक्राउ पर्ने पहिला व्यक्ति विक्की पुतुवार (१६ बर्ष) थिए । उनले उपलब्ध गराएको जानकारी अनुसार अन्य व्यक्तिहरु पक्राउ परेका हुन् । पक्राउ पर्नेहरुमा सुजन महर्जन (१६ बर्ष), निर्मल महर्जन (१८ बर्ष), दिनेश नगरकोटी (१६ बर्ष), विशाल पुतुवार (१६ बर्ष), समिर महर्जन (१८ बर्ष), आइसिंह तामाङ (१७ बर्ष), राजन मगर (१६ बर्ष) र पेमा गेल्मे शेर्पा (१६ बर्ष) रहेका छन् ।
घटनाको प्रकृति ः
घटनाको कारण निकै आश्चर्यजनक लाग्न सक्छ । हाल पक्राउ परेका व्यक्तिहरुले फेसबुकमा पुरानो गुहेश्वरी एजी गु्रप सञ्चालन गरिरहेकोमा डेभिल भन्ने १ व्यक्ति गु्रपको निम्ति अपरिचित समेत जोडिएको पाइएको छ । ती डेभिड भन्ने व्यक्तिले फेसबुक गु्रपका साथीहरुलाई रिमुभ गरी आफ्ना साथीहरुलाई एड गरेको कारण उक्त गु्रपका अन्य व्यक्तिहरु आक्रोशित भएको बुझिएको छ । त्यसैकारण ती डेभिड भन्ने व्यक्तिलाई भेट्नको निम्ति फेसबुक गु्रप टिमले एक जना केटीको प्रयोग गरेको पाइएको छ । ती केटीले बेलुका करिब ७ बजे ती व्यक्ति (डेभिड) लाई फुलबारी गेटमा भेट्न बोलाइन् । त्यसै क्रममा ग्रुपका अन्य व्यक्तिहरु समेत साथमा आइ डेभिड भन्ने कुमार सुचिकारलाई इटा, ढुंगा, लाठी, लात्ती लगायत प्रहार गरी वेहोश बनाएर आ–आफ्नो घर फर्के । जसले गर्दा ती घाइते व्यक्तिले समयमा उपचार पाउन सकेनन् । अर्को दिन विहान मात्र अन्य व्यक्तिहरुको सम्पर्कमा आएको कारण उनलाई बचाउन सकिएन ।
घटनाले दिने डरलाग्दाे सन्देश ः
पछिल्लो समय फेसबुकबाट आउन सक्ने समस्या निकै नै गम्भीर समेत हुने अवस्था आएको यसै घटनाबाट समेत बुझ्न सकिन्छ । विगतका दिनमा पनि फेसबुकबाट परिपरिवार, श्रीमान श्रीमती, प्रेमी प्रेमिका लगायतमा समस्या आएकोमा अहिलेको यस घटनाले फेसबुकको माध्यमबाट अझ डरलाग्दो दुर्घटना तर्फ हाम्रो समाजलाई डोहोर्याइरहेको प्रति समेत चित्रण गरेको छ । यसैकारण खासगरी विद्यालय तहमा अध्ययन गर्ने आफ्ना बाबुनानीहरुले सामाजिक सञ्जाललाई कसरी प्रयोग गरिरहेका छन् ? कतै बाबुआमाबाट पूर्ण स्वतन्त्र तवरले फेसबुक गलत कार्यमा प्रयोग त गरिरहेका छैनन् भन्ने तर्फ थप सचेत हुनुपर्ने महानगरीय प्रहरी वृत्तका डिएसपी विश्वराज खड्का बताउँछन् ।
पक्राउ पर्ने व्यक्तिहरु थपिन सक्ने ः
हाल ९ जना र १ केटी गरी १० जना व्यक्तिहरु पक्राउ परेकोमा वयानको आधारमा अन्य व्यक्तिहरु समेत थपिन सक्ने अवस्था छ । पक्राउ परेका व्यक्तिहरुलाई थप अनुसन्धानको निम्ति म्याद थप गरिएको छ ।
यस घटनामा पक्राउ पर्ने व्यक्तिहरुलाई पक्राउ गर्न पनि बालाजु वृत्त निकै सफल देखिएको छ । पक्राउ परेका व्यक्तिहरु मध्ये ८ जना व्यक्तिहरुलाई १० घण्टामा नै पक्रन प्रहरी टिम सफल भएको हो । यसबाट पनि प्रहरी कार्यालयको सक्रियता निकै प्रभावकारी रहेको बुझ्न सकिन्छ ।
महानगरीय वृत्त वालाजु तुलनात्मक रुपमा सफल वृत्त ः
साथै पछिल्लो समय महानगरीय प्रहरी वृत्त बालाजुले विभिन्न घटनाहरुमा निकै छिटो आफ्ना गतिविधिहरुलाई प्रभावकारी रुपमा सम्पन्न गरेको छ । अधिकांश चोरी, लुटपाट, सुन तस्करी लगायतका घटनामा संलग्न व्यक्तिहरु पक्रन समेत प्रहरी टीम सफल देखिन्छ । साथै आगामी दिनमा पनि जनतालाई सचेत र सुरक्षित गर्ने कार्यमा जस्तोसुकै कदम चाल्न पनि आफू पछि नपर्ने डिएसपी खड्का बताउँछन् ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij