२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

प्रधानमन्त्रि देउवाको निर्वाचन खर्च २६ लाख १२ हजार

प्रधानमन्त्रि देउवाको निर्वाचन खर्च २६ लाख १२ हजार

 

काठमाडौं। यही मङ्सिर ४ गते भएको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा भाग लिएका राजनीतिक दल र उमेदवार निर्वाचन खर्चको विवरण बुझाउन थालेका छन् ।

निर्वाचन खर्च बुझाउने क्रममा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिमार्फत चुनावी खर्च बुझाउनुभएको छ । निर्वाचन आयोगले खर्च पेस गर्न निर्देशन दिएसँगै उम्मेदवारले खर्च विवरण जिल्ला निर्वाचन कार्यालय डडेलधुरामा बुझाउन थालेका हुन् ।

प्रधानमन्त्री देउवाले आफ्ना प्रतिनिधि पार्टीका सहसचिव प्रेमबहादुर महरमार्फत खर्च विवरण पेश गर्नुभएको हो । उहाँले निर्वाचनमा रु २६ लाख १२ हजार खर्च गरेको विवरण निर्वाचन कार्यालयमा पेस गर्नुभएको सहसचिव महरले जानकारी दिनुभयो ।

प्रचार सामग्री छपाई, यातायात, खाना, सम्पर्क कार्यालय स्थापना र सञ्चालनलगायत सात शीर्षकमा उक्त खर्च भएको भन्दै विवरण निर्वाचन कार्यालयमा बुझाइएको उहाँले बताउनुभयो ।

यस्तै नेपाली कांग्रेस (वीपी) का उम्मेदवार कर्णबहादुर मल्लले रु १३ लाख आठ हजार, स्वतन्त्र उम्मेदवार कर्णबहादुर रावलले रु एक लाख १६ हजार, विक्रमबहादुर शाहीले रु दुई लाख दुई हजार एक सय ९० र राप्रपा उम्मेदवार गोविन्द खडायतले रु चार लाख ४० हजार खर्च भएको भन्दै विवरण बुझाएका छन् ।

जिल्ला निर्वाचन कार्यालयका प्रमुख करुणाकर अवस्थीका अनुसार डडेलधुरामा प्रतिनिधिसभातर्फ रु ३१ लाख, प्रदेशसभा (१)का लागि रु २१ लाख र प्रदेशसभा (२) का लागि रु १९ लाख खर्चको सीमा तोकिएको थियो ।

एउटामात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको जिल्लामा प्रतिनिधिसभामा आठ र दुई वटा प्रदेशसभामा १२ गरी २० उम्मेदवार रहेका थिए । उनीहरुमध्ये १४ जनाले निर्वाचन खर्च बुझाइसकेको निर्वाचन अधिकारी अवस्थीले जानकारी दिनुभयो । उहाँका अनुसार प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति देउवाले पनि चुनावी खर्चको विवरण प्रतिनिधिमार्फत बुझाउनुभएको जानकारी दिनुभयो ।-

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij