२०८३ असोज २ शुक्रबार

Sep 18 2026 Friday

  • २०८३ असोज २ शुक्रबार

२०८३ असोज २ शुक्रबार

उड्डयन क्षेत्र

पोखरा – छेन्दुसम्म व्यवसायिक चार्टर्ड उडान सञ्चालन हुने

पोखरा – छेन्दुसम्म व्यवसायिक चार्टर्ड उडान सञ्चालन हुने

गण्डकी, २८ फागुनः पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट पहिलोपटक चीनको छेन्दुसम्म व्यवसायिक चार्टर्ड उडान सञ्चालन हुने भएको छ। आगामी चैत ५ गते हुने यो उडान पोखराबाट अन्तर्राष्ट्रिय उडान सुचारु गर्ने दीर्घकालीन प्रयासको एउटा महत्वपूर्ण चरण हुने पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले जानकारी दिनुभयो।

पोखराबाट अन्तर्राष्ट्रिय उडान नियमित रूपमा सञ्चालन गर्न पटकपटक सम्बन्धित निकायलाई ध्यानाकर्षण गराए तापनि सफलता नआएपछि निजी क्षेत्रका पर्यटन व्यवसायीहरूले नै पहल लिएको उहाँले बताउनुभयो। नेपालस्थित चिनियाँ राजदूतावास तथा सिचुवान एयरलाइन्ससँगको सहकार्यमा पोखरा पर्यटन परिषद्ले यो उडान आयोजना गर्न लागेको हो।

चीनस्थित चाइना ट्राभल्स इन्टरनेसनल छेन्दुले प्रारम्भिक उडानहरूमा सहकार्य गरिरहेको छ भने नेपालस्थित चाइनिज ओभरसिज एसोसिएसनले संयोजनकारी भूमिका निर्वाह गरिरहेको छ। यसले पोखराको पर्यटन उद्योगलाई नयाँ गति दिने अपेक्षा गरिएको छ।

आगामी तीन महिनामा करिब १,२५० जना चिनियाँ पर्यटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गराउने लक्ष्य राखिएको छ। चिनियाँ दूतावास, सिचुवान एयरलाइन्स, र चाइना ट्राभल इन्टरनेसनल छेन्दुले संयुक्त रूपमा यो योजना अघि बढाइरहेको पोखरा पर्यटन परिषद्ले जनाएको छ।

सुरुवाती रूपमा व्यवसायिक चार्टर्ड उडानको रुपमा सुरु भए तापनि, यसलाई क्रमशः नियमित अन्तर्राष्ट्रिय उडानमा परिणत गर्ने लक्ष्य राखिएको छ। पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले अब चार्टर्ड उडान मात्रै नभई नियमित उडानको पनि आवश्यकता रहेको बताउनुभयो।

चीनबाट प्रत्यक्ष रूपमा पर्यटक भित्र्याउन सकिएमा पोखरा तथा नेपालकै पर्यटन क्षेत्रमा ठुलो योगदान पुग्ने विश्वास लिइएको छ। नेपालस्थित चिनियाँ राजदूतावासका डिसिएम वाङ सिनका अनुसार यो उडानले पोखराको आर्थिक तथा पर्यटकीय विकासलाई तीव्रता दिनेछ। साथै, नेपाल-चीन सम्बन्ध थप प्रगाढ हुने अपेक्षा गरिएको छ।

उडान तालिका अनुसार चैत ५ गते बिहान १० बजे १२७ जना चिनियाँ यात्रु लिएर विमान छेन्दुबाट पोखरा विमानस्थलमा अवतरण गर्नेछ। त्यस्तै, सोही दिन १२ बजे १२७ जना पोखराबाट छेन्दु प्रस्थान गर्नेछन्।

यो विशेष उडानमा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणिराज लामिछाने, पोखरा भ्रमण वर्ष २०२५ कार्यसम्पादन समितिका संयोजक गोपीबहादुर भट्टराई, पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारी लगायत पर्यटन क्षेत्रका विभिन्न प्रमुख व्यक्ति सहभागी हुनेछन्।

यस भ्रमणका क्रममा सात रात आठ दिनको अवधिमा सिचुवान प्रान्तका प्रमुख पर्यटकीय गन्तव्यहरू लुझेउ, इमि, लिसन, छोङछिङ भ्रमण गर्ने तथा त्यहाँको पर्यटन प्रवर्द्धनका विषयमा जानकारी लिने कार्यक्रम तय गरिएको छ। साथै, नेपाल पर्यटन बोर्डको आयोजनामा १९ मार्चमा छेन्दु र २२ मार्चमा छोङछिङमा नेपाल प्रवर्द्धन सम्बन्धी ‘नेपाल इभिङ’ र ‘सेल्स मिसन’ कार्यक्रम आयोजना गरिनेछ।

पोखराबाट अन्तर्राष्ट्रिय उडानको शुरुवाती प्रयास स्वरूप गर्न लागिएको यो चार्टर्ड उडानले पोखरासहित समग्र नेपालको पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण टेवा पुर्‍याउने पर्यटन बोर्ड पोखरा कार्यालयका प्रमुख मणिराज लामिछानेले बताउनुभयो। साथै, पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यको नेतृत्वमा लुझोउ सहरका विशिष्ट व्यक्तिहरूसँग भेटवार्ता र छलफल गरिने जनाइएको छ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएदेखि नियमित अन्तर्राष्ट्रिय उडान हुन नसकेको अवस्थामा यो चार्टर्ड उडान ऐतिहासिक उपलब्धि हुने पोखरा भ्रमण वर्ष २०२५ कार्यसम्पादन समितिका संयोजक गोपीबहादुर भट्टराईले बताउनुभयो।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij