२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

परिस्थिति जस्तोसुकै होस् मनस्थिति बलियो बनाउँ

परिस्थिति जस्तोसुकै होस् मनस्थिति बलियो बनाउँ

विष्णु पराजुली

कोरोना भाइरस नेपालको लागि मात्र नभई विश्वको लागि नै एउटा ठूलो चुनौतीको रुपमा देखा परेको छ । यसले लाखौं मानिसहरुको ज्यान लिइसकेको छ । नेपालमा पनि सम्भावित कोरोना संक्रमणको महामारीलाई नियन्त्रणमा लिने उद्धेश्य सहित करिब २ महिना देखि लकडाउन गरिँदै आइएको छ । यद्यपि यसबीचमा आवश्यक सतर्कता अपनाउने कार्यमा उपयुक्त तवरले कदम चाल्न नसक्दा अहिले नै नेपालमा पनि कोरोना संक्रमण समुदायस्तरमा नै फैलिइसकेको छ । यसबाट ४ सय भन्दा बढी व्यक्तिहरु नेपालमा संक्रमित भइसकेका छन् भने २ जनाको त ज्यान समेत गइसकेको छ । यद्यपि परीक्षणको दर भने अझै न्यून छ ।
यसको अलावा लकडाउनको समयमा आर्थिक क्रियाकलाप सञ्चालन हुन नसक्दा भएको आर्थिक क्षति अर्को महत्वपूर्ण विषय बन्न सक्ला । तर अहिलेको लागि सबैभन्दा महत्वपूर्ण भनेको कोरोनाको नियन्त्रण नै हो ।

घरमा रहँदा आफ्नो फुर्सदको समयलाई आफ्नो क्षमता र दक्षता बमोजिम नयाँ कार्यमा उपयोग गरौं । नयाँ विषयवस्तुको ज्ञान हासिल गरौं । विगत आफ्नो कार्य क्षेत्रमा कुनै समस्या रहेका भए पुस्तक अथवा इन्टरनेट सञ्जाल (गुगल, युट्युव वा विशेष ज्ञानवद्धक वेभसाइट तथा अनलाइन तालिम प्रदायक कम्पनी) मार्फत त्यस बारे ज्ञान हासिल गरौं । प्रकृतिसँग साक्षात्कार गरौं । एकान्तमा रहौं । सकिन्छ भने शारीरिक व्यायाम वा योग, ध्यान गरौं । बालबच्चा अभिभावक देखि टाढिएर फेसबुक र पब्जीमा समय बिताउन चाहन्छन् भने उनीहरुका समस्या औंल्याउँदै नजिकको मित्र बनेर विस्तारै उनीहरुलाई व्यावहारिक ज्ञान प्रदान गरौं । यसको लागि सबैभन्दा पहिले अभिभावक आफैंले सुधार गर्नुपर्ने कुनै बानीव्यवहार भए त्यो सुधार गरौं ।

 

विषयवस्तु
यस सामाग्रीमा मैले कोरोनाको कारण सृजना हुन सक्ने नयाँ अवसरको बारेमा विष्लेषण गर्न खोजेको छु । साथै अहिलेको लकडाउनलाई कसरी बढी प्रभावकारी र फाइदाजनक बनाउन सकिन्छ भन्ने कुराको पनि व्याख्या गरेको छु । जसबाट कोरोना संक्रमणको मनोत्रासबाट सृजना भएका पीडादायी (भावी वास्तविकता) दृश्यहरुसँगै केही नयाँ सम्भावनाहरु पनि सृजना हुन सक्नेमा म आशावादी छु । यो सामाग्री मार्फत मैले त्यस्ता सम्भावना बारे गरिएका तथ्यपरक विषयवस्तुहरु प्रस्तुत गर्नेछु । जसले हामी मानव समुदायलाई थप आशावादी बन्दै मानसिक रुपमा कोरोनासँग लड्ने शक्ति सृजना गर्न र शारीरिक रुपमा निरन्तर कर्तव्यपथमा समेत सक्रिय रहन नयाँ ऊर्जा विकास गर्नेछ ।

दृढ निश्चय
भनिन्छ, रात पछि दिन र अँध्यारो पछि उज्यालो निश्चित छ । हृदयमा उज्ज्वल भविष्यको आशा राख्दै लकडाउनको अवधिमा जो जहाँ छौं, त्यहीँ सम्भव रहने सृजनात्मक क्रियाकलापमा संलग्न हुन सक्ने हो भने हाम्रो लागि लकडाउन जिन्दगी बदल्न सिकाउने नयाँ अवसर पनि बन्न सक्छ । कोरोनाबाट बच्नको लागि अहिलेको परिस्थितिमा एउटै उपाय छ, त्यो भनेको दृढ निश्चय र सकारात्मक भावना ।
सकारात्मक भाव सहित अघी बढाएका क्रियाकलापले निश्चय नै हामीलाई नयाँ ऊर्जा प्रदान गर्दछ । डर र निराशाले कमजोर बनाउँछ । भनिन्छ नि चिन्ताले चितामा पु¥याउँछ, यसकारण अहिले हामी जो जहाँ छौँ, त्यहीँ कुनै सृजनात्मक क्रियाकलापमा संलग्न रहौं । यही नै हाम्रो लागि बुद्धिमत्तापूर्ण कार्य हुन सक्छ । कार्यक्षेत्र जुनसुकै होस् तर सृजना र क्रियाशिलता नै हाम्रो लागि जीवनका उर्जा र जीवन सञ्चालनको लागि पाटपुर्जा बन्न सक्छन् ।

समयानुकुल परिमार्जन हुनु आवश्यक
हामीलाई भविष्यको चिन्ता छ । कोरोनाले हाम्रो अर्थतन्त्र तहसनहन हुँदैछ । यसबाट भोकमरी, बेरोजगारी, मूल्यवृद्धि, गैरकानुनी क्रियाकलापहरुमा समेत वृद्धि होला र समाज असन्तुलित र अव्यवस्थित बन्ला भन्ने चिन्ता छ । यस किसिमको चिन्ताबाट हाम्रो अवस्था सुधार नभई मानसिक रुपमा विचलित हुने अवस्था सृजना गराउन पनि सक्छ । अझै पनि मानव समुदायले सम्भावित परिस्थितिलाई लक्षित गरी वर्तमानमा मनस्थितिलाई कमजोर बनाइरहेका छन् । लकडाउनलाई नै ठूलो समस्या ठानिरहेका छन् र यसबाट मुक्त हुने प्रयाश गरिरहेका छन्, एकै ठाउँमा थुनिएर बस्नुपर्दा उकुसमुकुस भएका छन् । यसो हुनुको मुख्य कारण भनेको समयानुकुल आफूलाई परिमार्जित गर्न नसक्नु पनि एक हो कि भन्ने मलाई लाग्छ । हुनतः परिस्थिति वा प्रकृति हाम्रोे नियन्त्रणमा छैन । तर हामी भने समय र परिस्थिति अनुकुल परिमार्जित हुनैपर्छ ।

लकडाउनको सही उपयोग
घरमा रहँदा आफ्नो फुर्सदको समयलाई आफ्नो क्षमता र दक्षता बमोजिम नयाँ कार्यमा उपयोग गरौं । नयाँ विषयवस्तुको ज्ञान हासिल गरौं । विगत आफ्नो कार्य क्षेत्रमा कुनै समस्या रहेका भए पुस्तक अथवा इन्टरनेट सञ्जाल (गुगल, युट्युव वा विशेष ज्ञानवद्धक वेभसाइट तथा अनलाइन तालिम प्रदायक कम्पनी) मार्फत त्यस बारे ज्ञान हासिल गरौं । प्रकृतिसँग साक्षात्कार गरौं । एकान्तमा रहौं । सकिन्छ भने शारीरिक व्यायाम वा योग, ध्यान गरौं । बालबच्चा अभिभावक देखि टाढिएर फेसबुक र पब्जीमा समय बिताउन चाहन्छन् भने उनीहरुका समस्या औंल्याउँदै नजिकको मित्र बनेर विस्तारै उनीहरुलाई व्यावहारिक ज्ञान प्रदान गरौं । यसको लागि सबैभन्दा पहिले अभिभावक आफैंले सुधार गर्नुपर्ने कुनै बानीव्यवहार भए त्यो सुधार गरौं ।

तर हामी अधिकांशको सन्दर्भमा हाम्रो वास्तविकता भने अलि फरक पनि हुन सक्छ । समयको सदुपयोग गर्ने माध्यम नभेट्टाएका पनि हुन सक्छौं । अनलाइनको पहुँच भएकाहरुले फिल्म, युट्युव र फेसबेकलाई मात्रै समय कटाउने माध्यम त बनाएका छैनौं ? कुन उत्पादक र कुन अनुत्पादक कार्य भन्ने छुट्याउन सक्ने विवेक हामीसँगै छ । यसर्थ उत्पादक क्षेत्रमा समयको लगानी गरौं । समयमा नै सन्तुलन मिलाएर खाना खाउँ, प्रयाप्त सुतौं । सामाजिक दूरी र सुरक्षाका उपायहरु अबलम्बन गरौं । यस्तो अवस्थालाई विशेष अवसरको रुपमा लिँदै पहिले पूरा हुन नसकेका कुनै कामहरु पूरा गर्ने, नसिकेका कुराहरु सिक्ने, परिवारजनसँग नजिक हुने लगायतका क्रियाकलापको अलावा सकिन्छ भने साहित्य सृजना, लेखरचना, भावी दिनका विशेष योजना निर्माण, आर्थिक व्यवस्थापन लगायतमा पनि केन्द्रित होऔं । याद गर्नुस्, सफलता तिनकै तालुमा फल्छ जसले हरेक परिस्थितिलाई दृढतापूर्वक सामना गरेर आफूअनुकुल बनाउन सक्छन् । यसकारण लकडाउनलाई विशेष अवसरको रुपमा उपयोग गरौं ।

वर्तमानमा बाँचौं
के थाहा भविष्यमा थुप्रै व्यक्तिहरुले अकालमा ज्यान गुमाउने अवस्था पनि सृजना हुन सक्छ । अथवा हामीलाई थप सचेत बनाउन मात्रै कोरोनाले त्रसाएको पनि हुन सक्छ । सकिन्छ भने आगामी दिन थप कष्टकर बनेको खण्डमा आफूलाई कसरी तयार पार्ने भन्ने बारे सोचौं । योजना बनाऔं । त्यसको भौतिक एवं मानसिक रुपमा तयारी गरौं । त्यो सम्भव नभए पनि वर्तमानमा बाँच्न सिकौं । वर्तमानलाई सार्थक पारौं । यो पनि ख्याल गरौं, परिस्थिति जे पनि हुन सक्छ तर हाम्रो मनस्थिति भने कदापि कमजोर बनाउनु हुँदैन ।

मानवीय आविष्कार माथि प्रकृतिको चुनौती
अहिलेको अवस्था सिङ्गो पृथ्वीवासीको लागि अकल्पनीय स्थिति हो । वैज्ञानिक प्रयोग र प्रविधि र नयाँ आविष्कारको माध्यमबाट प्रकृतिलाई चुनौती दिइरहेको मानव समुदायलाई अहिले देखिएको कोरोना महामारी ठूलो चुनौती बनेको छ । विश्व समुदायको ध्यान कोरोना नियन्त्रणमा नै केन्द्रित भएपनि हाम्रा सबै मानवीय प्रयासहरु असफल सिद्ध भएका छन् । डाक्टर, वैज्ञानिक र अनुसन्धाताहरु नयाँ प्रयोग र खोजमा केन्द्रित भएपनि अहिले सम्म कोरोना भाइरस नियन्त्रणमा आउने कुनै दरिला सङ्केत देखिँदैनन् ।

यस्तो अवस्थामा भौतिकवादी बन्दै गएको मानवीय समुदायलाई यस प्रकोपले कतै भावी दिनमा पुःन प्रकृति तर्फ फर्कनुपर्नेमा पनि सचेत गराएको पो हो कि भन्ने भान मानवीय समुदायले गरिसकेका छन् । हाम्रो पूर्वीय दर्शनले समेत प्रकृतिसँग साक्षात्कार गर्नुपर्नेमा जोड दिएको छ । तर त्यसलाई बिर्सेर अहिले धन र प्रतिष्ठाको दौडमा प्रकृतिलाई नै नियन्त्रणमा लिने मानवीय होडवाजी बीच देखिएको यस कोरोना सङ्कटले हामीलाई दिने मुख्य सन्देश भनेको प्रकृति र वातावरणीय सन्तुलन कायम गर्दै सहसम्बन्धमा रहनुुपर्छ भन्ने पनि हुन सक्छ ।

मुख्य विषय
अब यस सामाग्रीको मुख्य विषय तर्फ लागौं । यस सामाग्रीको प्रमुख उद्धेश्य यस सङ्कटले केवल सङ्कट मात्र सृजना गरेको छैन, नयाँ अवसरहरु तर्फ पनि हामीलाई सतर्क गराएको छ भन्नेमा केन्द्रित छ ।
अहिले सम्म जानकारी भएअनुसार आफ्नो प्रतिरोधात्मक क्षमता बढाउनु सिवाय अर्को औषधीको सफल परीक्षण हुन नसकेको यस कोरोना महामारीले मुख्यतः मानिसहरुमा मानवीयताको पाठ सिकाएको छ । हाम्रा संस्कृति, हाम्रा रीतिस्थिति, रहनसहनका मूलभूत कुराहरुको वोध गराउन र राष्ट्रिय मात्र नभई विश्वव्यापी सुमधुर सम्बन्ध स्थापना तर्फ पनि यसले सतर्क बनाएको छ ।

कृषि
नेपालको सन्दर्भमा कुरा गर्ने हो भने एकपटक पुःन आयातमा निर्भर हुन पुगेको र अपहेलनामा परेको कृषि क्षेत्र नयाँ सम्भावनाको क्षेत्रको रुपमा विकास हुने अनुमान गर्न सकिन्छ । विगतमा कृषिप्रधान मुलुक रही स्वदेशको आवश्यकता पूरा गरेर बाह्य मुलुकमा समेत कृषिजन्य वस्तुहरु निर्यात गर्ने नेपाललाई यसपटकको लकडाउनले पुःन कृषिमा फर्कनको लागि राम्रो अवसर सृजना भएको मेरो बुझाई छ ।

अहिलेको अवस्था सिङ्गो पृथ्वीवासीको लागि अकल्पनीय स्थिति हो । वैज्ञानिक प्रयोग र प्रविधि र नयाँ आविष्कारको माध्यमबाट प्रकृतिलाई चुनौती दिइरहेको मानव समुदायलाई अहिले देखिएको कोरोना महामारी ठूलो चुनौती बनेको छ । विश्व समुदायको ध्यान कोरोना नियन्त्रणमा नै केन्द्रित भएपनि हाम्रा सबै मानवीय प्रयासहरु असफल सिद्ध भएका छन् । डाक्टर, वैज्ञानिक र अनुसन्धाताहरु नयाँ प्रयोग र खोजमा केन्द्रित भएपनि अहिले सम्म कोरोना भाइरस नियन्त्रणमा आउने कुनै दरिला सङ्केत देखिँदैनन् ।

 

स्वास्थ्य र वातावरणीय प्रदूषण नियन्त्रण
नेपाल भित्र नै काठमाडौं लगायत शहरी क्षेत्रमा अध्ययन, रोजगारी र श्रमको लागि पुगेका साथै आर्थिक उपार्जनको लागि वैदेशिक भूमिमा रहेका नेपालीहरुलाई आफ्नै जन्मभूमिको बोध समेत गराएको यस महामारीको समापन पश्चात् नेपालमा स्वास्थ्य पहुँच वृृद्धिमा समेत सकारात्मक उपलब्धि हासिल हुने अनुमान गर्न सकिन्छ । वातावरणीय प्रदूषण नियन्त्रणमा लकडाउनले अहिले नै उल्लेख्य उपलब्धि हासिल भइसकेको समेत विभिन्न अध्ययनहरुले देखाएका छन् । यसलाई पनि सकारात्मक रुपमा नै लिनुपर्ने हुन्छ ।

प्रविधिको उच्चतम प्रयोग
कोरोनाले सबैजसो क्षेत्र (शिक्षा, स्वास्थ्य, वित्त, सञ्चार लगायत)मा प्रविधिको प्रयोगमा समेत हामीलाई विशेष प्रोत्साहित गरेको छ । जुन वैज्ञानिक प्रयोग र अनुसन्धानमा आधारित छ ।

निचोड
समग्र परिस्थितिलाई हेर्दा विज्ञानको विकास र प्राकृतिक सन्तुलन एवं आत्मज्ञानलाई सन्तुलित रुपमा अघी बढाउन सकेको खण्डमा मात्र हाम्रो आगामी यात्रा सुरक्षित हुन सक्छ । यसर्थ अहिलेको परिस्थिति अभिशाप मात्र सावित हुनेछैन, मानव समुदायको लागि वरदान समेत सावित हुनेछ । यसको साथै आगामी दिनमा पूर्वीय ज्ञानको गहिराई र पश्चिमी अनुसन्धानको प्रयोगबाट मानवीय समुदायले नयाँ दिशा लिने र प्रकृतिसँगको सन्तुलनमा नै हाम्रा क्रियाकलापहरु अघी बढ्ने अपेक्षा समेत गर्न सकिन्छ ।

कोरोनाको कारण सृजना हुने अन्य अवसरहरुलाई निम्न बमोजिम बुँदागत समेत गर्न सकिन्छ ।

◊कोरोनाको कारण सृजना हुन अवसरहरु

  • शहरी क्षेत्रका जनशक्ति गाउँ फर्किइ उत्पादन वृद्धि हुन सक्छ
  • वैदेशिक रोजगारीमा रहेका नेपालीहरु स्वदेश फर्की आफूसँग भएको सीप हस्तान्तरणमा सहयोग पुग्न सक्छ
  • कृषि, फलफूल, जडिबुटी प्रशोधन एवं पशुपालन लगायतमा युवाहरुको आकर्षण बढ्न सक्छ
  • कृषि र स्वास्थ्य प्रति राज्यको लगानी र चासो बढ्ने देखिन्छ
  • नेपालमै रोजगारीका ठूला क्षेत्रको पहिचान गर्न सहयोग पुग्न सक्छ
  • पूर्वीय दर्शनले आत्मसात् गरेका कुराहरुमा समेत वैज्ञानिक अनुसन्धान हुनगई मानव उपयोगी बन्न सक्छन्
  • आत्मज्ञान प्रतिको चासो बढ्न सक्छ
  • सेवा भावमा वृद्धि हुन सक्छ
  • प्रकृतिको शुद्धिकरणमा सहयोग पुग्न सक्छ
  • एक पुस्ताको सीप अर्को पुस्तामा हस्तान्तरण गर्न सहयोग पुग्न सक्छ
  • वि.सं २०४६ पछि निजीकरणको क्रममा कमजोर बनेका उद्योगहरु पुनः सशक्त बन्ने उपयुक्त अवसर पनि बन्न सक्छ ।
  • मितव्ययी बन्न सहयोग पुर्याउँछ ।
  • स्थानीय स्रोतसाधन र परम्परागत ज्ञान, सीपमा आधारित उद्योग व्यवसाय प्रवद्र्धनमा पनि सहयोग पुग्ने हुँदा आत्मनिर्भर बन्ने तर्फ प्रोत्साहन मिल्न सक्छ
  • व्यावसायिक, सीपमूलक र प्राविधिक विषयवस्तु समेटिएका व्यावहारिक ज्ञानमा आधारित शैक्षिक कार्यक्रमको महसुस हुने हुँदा आवश्यकता बमोजिमकै शैक्षिक कार्यक्रम पाठ्यक्रममा समेटिने परिस्थिति सृजना हुन सक्छ ।
  • प्रविधिको प्रयोगमा प्रोत्साहन मिल्न सक्छ ।
  • प्रकृतिको दिगो र सन्तुलित उपयोगमा सहयोग पुर्याउँछ ।
  • सुसंस्कार, सदाचार र नैतिक ज्ञान वृद्धिमा पनि बल पुग्छ ।

यसको अलावा कोरोना सङ्कटले हाम्रो देशमा पनि थुप्रै समस्या सृजना हुन सक्ने देखिएको छ । कोरोनाको कारण नेपालको परिप्रेक्ष्यमा सृजना हुने समस्याहरुलाई निम्नानुसार बुँदागत गर्न सकिन्छ ।

◊चुनाैतीहरू

  • तत्कालिन रुपमा मूल्यवृद्धि र भोकमरीको अवस्था सृजना हुने
  • बढ्दो वेरोजगारी सँगै सुरक्षा चुनौती (चोरी, डकैटी, लुटपाट लगायतमा वृद्धि) बढ्ने
  • तरलता अभाव र पुँजीगत खर्चमा कमी हुँदा व्यावसायिक क्षेत्र संकटमा पर्ने
  • वैदेशिक रोजगारी गुम्ने र नयाँ रोजगारी सृजना नहुने
  • रेमिट्यान्स घट्दा अर्थतन्त्र चलायमान बन्न कठिन हुने
  • वैदेशिक सहायतामा कमी हुने
  • पर्यटन, पूर्वाधार, संरचना निर्माण, यातायात लगायतका क्षेत्र पनि संकटमा पर्ने
  • स्वरोजगारमूलक व्यवसायमा संलग्नलाई समस्या हुने
  • आयात निर्यातको अन्तर व्यापक रुपमा बढ्ने
  • निजी क्षेत्रबाट उपलब्ध भएको ठूलो परिमाणको रोजगारी गुम्ने
  • सरकारी दरबन्दी कटौती हुन सक्ने र नयाँ रोजगारीका अवसर सृजना नहुने
  • निजी लगानीका संस्थाहरुले आर्थिक दायित्व वहन गर्न नसक्ने अवस्था सृजना भई सङ्कट उत्पन्न हुने
  • आर्थिक मन्दी हुने
  • वैदेशिक मुद्राको सञ्चिति घट्ने
  • ठूला आयोजनाहरुको लागि पुँजीको अभाव हुने
  • विकासको गति सुस्ताउने लगायत ।

 

अन्त्यमा,
हामी आशावादी छौं, हाम्रा वैज्ञानिक, अनुसन्धाता र डाक्टरहरु छिट्टै नै कोरोनाको उपयुक्त समाधान निकाल्न सक्षम हुनेछन् । हामीले नयाँ जीवन पाउनेछौँ । अवस्था त्यति जटिल बन्नेछैन, जति हामीले सोचेका छौं । साथै यो पनि ख्याल गरौं, परिस्थिति जस्तोसुकै होस् हाम्रो मनस्थिति भने सधैं बलियो नै रहिरहनेछ ।

हामीलाई आशा छ यस सामाग्रीबाट पाठक वर्गहरुले आफूलाई जटिल परिस्थितिमा पनि धैर्यवान् र संयमित रहँदै कठिन परिस्थितिलाई आफूअनुकुल बनाई थप ऊर्जा विकास गर्न र प्रतिरक्षात्मक क्षमता बढाउन शारीरिक एवं मानसिक रुपमा तयार हुनुहुनेछ ।

लेखक पराजुली नेशनल प्याब्सन काठमाडाैंका निवर्तमान अध्यक्ष हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij