काठमाडौं-कोरोनाको कहरलाई मध्य नजर गर्दै नेपाल टेलिकमले विद्यालय तथा विश्व विद्यालयलाई लक्षित गर्दै सस्तो मूल्यमा ई-शिक्षा प्याकेज ल्याएको छ । ई-शिक्षा प्याकेज अन्तर्गत २ सय ६० रुपैयाँमा ६ जीबी ५ सय रुपैयाँमा १५ जीबी डाटा २८ दिनभित्र उपयोग गर्न सकिने गरी उपलब्ध हुनेछ। यसका साथै २ सय ६० रुपैयाँमा प्राप्त हुने कुल ६ जीबीमध्ये ३ जीबी डाटा बिहान ५ बजेदेखि बिहान १० बजेसम्म प्रत्येक दिन जम्मा ५ घण्टा प्रयोगमा ल्याउन सकिने छ भने बाँकी ३ जीबी डाटा जुनसुकै समयमा प्रयोग गर्न सकिनेछ ।
५ सय रुपैयाँमा २८ दिनसम्म उपलब्ध हुने १५ जीबी डाटामध्ये ६ जीबी डाटा बिहान ५ बजेदेखि बिहान १० बजेसम्म प्रत्येक दिन जम्मा ५ घण्टामात्र प्रयोग गर्न सकिनेछ । बाँकी ९ जीबी डाटा जुनसुकै समयमा प्रयोग गर्न सकिनेछ ।
ई–शिक्षा प्याकेज नेपाल टेलिकमले प्रदान गर्ने सबै प्रकारका जीएसएम मोबाइल डाटा सेवा (टुजी, थ्रीजी र फोरजी) मार्फत प्रयोग गर्न सकिनेछ । निजी तथा सरकारी शैक्षिक संस्थाहरुसँगको परामर्शमा यो लकडाउनमा शिक्षा क्षेत्रकाे प्रवर्द्धकाे लागि यस्ताे विशेष प्याकेज ल्याइएकाे हाे ।
याे सुविधा प्राप्त गर्न कम्पनीले उपलब्ध गराएको इमेल ठेगानामा विश्वविद्यालय तथा विद्यालयहरुले प्याकेज प्रदान गर्नुपर्ने नम्बरहरुको सूचीसहित सिफारिस पठाउनु पर्नेछ ।
सिफारिस प्राप्त भएका नम्बरहरुलाई *१४४१# डायल गरी प्याकेज खरिद गर्नको लागि कम्पनीले एसएमएसमार्फत सूचित गर्नेछ । एसएमएस प्राप्त भएपछि तिनै नम्बरहरुबाट *१४४१# डायल गरी उपलब्ध दुईमध्ये कुनै एक प्याकेज खरिद गर्न सकिनेछ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij