नेपालमा नटराज पेन्सिलको मार्केटिङ क्षेत्रमा लामो समय देखि काम गर्नुभएका निरज पौडेल हाले नेपालबाटै कागजबाट पेन्सिल उत्पादन कार्यमा संलग्न हुनुहुन्छ । ऊहाँले आफू मात्र नभई नेपालका अन्य युवाहरुलाई पनि नेपालमा नै रहेर पेन्सिल उत्पादन मार्फत स्वदेशमा नै स्वरोजगार बन्न र नेपालको निम्ति आवश्यक पेन्सिल नेपालमा नै उत्पादन गर्ने योजनाको साथ जागरुक युवाहरुलाई प्रशिक्षण समेत दिँदै आउनुभएको छ ।
काम गर्ने चाहना हुने हो भने नेपाली युवालाई नेपालमा नै अवसरहरु सृजना गर्न सकिन्छ भन्ने मान्यता बमोजिम यो कम्पनी निकै प्रोत्साहित छ । हाल यस कम्पनीले हाल १० जना स्थानीय गृहिणी महिलाहरुलाई पार्टटाइम रोजगारीको अवसर सृजना गरेको छ ।
विगतमा आफूमा काठको पेन्सिल उत्पादन गर्ने योजना भएपनि वन विनाश हुने कारण देखाउँदै नेपाल सरकारले काठको पेन्सिल उत्पादनको निम्ति स्वीकृति नदिएको कारण यसको विकल्प खोज्ने क्रममा हाद कागजबाट पेन्सिल उत्पादन गर्न आफू सफल रहेको पौडेलले बताउनुभयो । यद्यपि यस क्रममा निकै लामो समय लाग्यो ।

भारतबाट मेसिन भित्र्याएर कागज पेन्सिल उत्पादन शुरु
शुरुमा यस कम्पनीले कागजको पेन्सिल उत्पादन गर्ने मेसिन भित्र्याउनको निम्ति निकै ठूलो रकम चुकाउनुपरेको छ । यस क्रममा आफूले झण्डै १७ लाख रकम ऊहाँले खर्च गर्नुपरेको कम्पनीका प्रब्रन्ध निर्देशक निरज पौडेलले बताउनुभयो । अहिले सोही मेसिन नेपालमा आफैंले उत्पादन गरी ६ लाखमा नै उपलब्ध गराइरहेको समेत ऊहाँ बताउनुहुन्छ ।
आगामी योजना
नेपाली बजारमा स्वदेशमा नै निर्मित पेन्सिलले आयात प्रतिस्थापन गर्नुपर्छ भन्ने मान्यता बमोजिम यो कम्पनीले काम गरिरहेको छ । साथै यसै कम्पनीले मेसिन उत्पादनको अलावा तालिम तथा प्रविधि हस्तान्तरणको काम समेत गर्दै आएको छ । समय–समयमा आयोजना हुने मेलामा समेत यस कम्पनीले स्टल लिई मेसिनबाट पेन्सिल उत्पादन बारे युवाहरुलाई जागरुक बनाउने काम समेत गर्दै आएको छ ।
स्वदेशी उत्पादनलाई प्राथमिकता दिनुपर्छ
पेन्सिल उत्पादनको लागि सिद्धि साइबाबा पेन्सिल उद्योग र पेन्सिल मेसिन उत्पादन गर्न सिद्धि साइबाबा मेटल उद्योग सञ्चालन गर्दै आउनुभएका निरज पौडेल नेपालमा उत्पादित वस्तु नै राज्यले विशेष प्राथमिकता रहनुपर्ने धारणा व्यक्त गर्नुहुन्छ । अहिले सम्म भने आफूहरुले उत्पादन गरेका पेन्सिलहरु नेपालमा निकै कम मात्र उपभोग भएको र अधिकांश बाह्य मुलुकमा नै निर्यात भइरहेको समेत पौडेले बताउनुभयो । यद्यपि आगामी दिनमा भने यहाँ उत्पादित पेन्सिल स्थानीय बजारमा नै विक्री गर्नको लागि स्थानीय निकायसँग समेत सहकार्य गर्दै अघी बढ्नुपर्ने पौडेलले महसुस गर्नुभएको छ ।
पेन्सिल उत्पादक मेसिनको बढ्दो माग
सिद्धि साइबाबा मेटल उद्योगले लामो खोजी, प्रय्रत्न र प्रयोग पश्चात् वि.सं २०७१ मा पहिलो पटक पेन्सिल उत्पादनको डेमो मेसिन बनाउन सफल भएको हो । पछि उक्त मेसिन ‘ओमन्स ड्रिम’ नामक संस्थालाई विक्री गरियो । सोही बर्ष पहिले उत्पादन भएको मेसिनको स्वरुपमा थप परिमार्जन र सुधार सहित अटोमेटिक प्रविधिमा आधारित अर्को मेसिन उत्पादन गरियो । उक्त मेसिन डायमण्ड ह्याण्डिक्राफ्ट नामक कम्पनीलाई विक्री गरियो । अहिले पनि यस कम्पनीले बजारको माग बमोजिम मेसिन उत्पादन गरी विक्री तथा प्रविधि हस्तान्तरणको क्षेत्रमा काम गर्दै आएको छ । पेन्सिल उत्पादनको लागि अन्य कम्पनीहरुलाई समेत आवश्यक टेक्निकल सपोर्ट समेत काम आफूहरुले गर्दै उपलब्ध कम्पनीका प्रबन्ध निर्देशक निरज पौडेल बताउनुहुन्छ ।
पेन्सिलको बजारीकरण
हाल सिद्धि साइबाबा पेन्सिल उद्योगबाट उत्पादित पेन्सिलहरु कम्पनीले विक्रेताहरु मार्फत बजारीकरण गर्दै आएको छ । कम्पनीबाट उत्पादन भएका पेन्सिलहरु अधिकांश अहिले विदेशमा नै निर्यात हुँदै आएका छन् । तर नेपालमा विक्री कम हुनुमा अहिले पनि नेपालमा उत्पादित सामानको गुणस्तरीयता कमसल रहन्छ भन्ने भावना कायम रहँदै आएको हुनाले नेपालीहरुको प्राथमिकतामा पर्न नसकेको गुनासो कम्पनीकी सञ्चालक ऊमा बताउनुहुन्छ ।
सङ्घर्षपूर्ण शुरुवात
नेपालमा शुरुमा यो काम शुरु गर्ने क्रममा निकै नै सङ्घर्ष गर्नुपरेको थियो । काम शुरु गर्ने क्रममा टेक्निकल सर्पोट पाउन नसक्दा निकै गाह्रो तवरले कम्पनीले काम अघी बढि बढाउनुप¥यो । साथै नेपालमा कागजको पेन्सिल उत्पादन गर्ने सिद्धि साइबाबा नै सम्भवतः पहिलो कम्पनी हुनुपर्छ । हाल यस सिद्धि साइबाबा पेन्सिलको उत्पादन तथा बजार व्यवस्थापन कार्य श्रीमती ऊमा आचार्यले गरिरहनुभएको छ । ऊहाँले महिला उद्यमीको रुपमा कम्पनीलाई माथि उठाउन ठूलो जिम्मेवारी निर्वाह गर्दै आउनुभएको छ भने नेपालमा विभिन्न शहरी तथा ग्रामीण क्षेत्रमा पुगेर आवश्यक तालिम समेत उपलब्ध गराइरहनुभएको छ ।
वैदेशिक रोजगारी जाने केही युवालाई अवसर
अहिले पनि नेपालीहरु रोजगारीको निम्ति वैदेशिक रोजगारीलाई राम्रो क्षेत्रको रुपमा अपनाउँदै आएका छन् । यद्यपि नेपालमा नै रहेर पनि काम गर्न सकिन्छ भन्ने सम्बन्धमा नेपालीहरुमा जुन जागरुकता वा जानकारी गराउनसके स्वदेशी भूमीमा नै रहेर काम गर्नको निम्ति यो क्षेत्र उपयुक्त माध्यम हुन सक्छ । यसको लागि युवाहरुलाई आवश्यक तालिम र सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न नेपाल सरकारले पनि प्रभावकारी रुपमा काम गर्नु जरुरी रहन्छ ।
कम्पनीको उत्पादन क्षमता
अहिले यस कम्पनीले आफूहरु सँग उपलब्ध रहेको मेसिन दैनिक ८ घण्टा सञ्चालन गरी ८ हजार देखि १० हजार पिस पेन्सिल
उत्पादन गर्दै गरेको छ । १ किलो पत्रिकाबाट ३ सय ६५ ओटा पेन्सिल उत्पादन गर्न सकिन्छ । हाल यस कम्पनीले उत्पादन गर्ने साधारण पेन्सिल ७ रुपियाँ २५ पैसामा विक्री गर्दै आएको छ । कागजमा स्विपिङ गरेको पेन्सिल ८ रुपियाँमा विक्री हुँदै आएको छ भने लोक्ताबाट बनेको पेन्सिल १२ रुपियाँमा विक्री हुँदै आएको छ । बजारमा माग बमोजिमका आवश्यक पेन्सिलहरु नेपालमा नै उत्पादन गर्न केही बर्षमा नै नेपाली उद्यमीहरु सफल रहने समेत पौडेल बताउनुहुन्छ । राज्यको स्वदेशी श्रम, सीप, पुँजी र प्रविधिलाई प्रोत्साहित गर्ने नीति बन्नसके यो कार्य अझ सहज हुने ऊहाँको धारणा छ ।
कम्पनीका आगामी योजना
नेपालमा अहिले सम्म पेन्सिल उत्पादनको निम्ति आवश्यक लिड चीनबाट आयात गर्नुपर्ने अवस्था छ । आगामी दिनमा नेपालमा नै पेन्सिल उत्पादनको कामले थप गति लिएको खण्डमा नेपालमा नै लिड प्लान्ट राखेर यहीँ नै लिड उत्पादन गर्ने योजनामा कम्पनी छ । साथै यसबाट नेपाललाई पेन्सिलमा आत्मनिर्भर हुने बाटो समेत खुल्नेछ ।
राज्यको सहयोग आवश्यक छ

अहिले नेपाली युवाहरुलाई हामीले पेन्सिल उत्पादन सम्बन्धी विभिन्न क्षेत्रमा आधारभूत तालिम समेत सञ्चालन गर्दै आएका छौं । यद्यपि हामीबाट सिकेर पेन्सिल उत्पादन गर्दै आएका उद्यमीहरुले काम सिकेपश्चात् भने कहाँबाट कसरी उक्त सीप सिकेको हो भन्ने सम्बन्धमा अरुलाई बताउन चाहेको पाईंदैन । हामी नेपाललाई पेन्सिलमा आत्मनिर्भर बनाउने योजना बमोजिम अघी बढेको अवस्थामा सबैले आफ्नो तर्फबाट सहयोग गर्ने हो भने यो कार्य सफल हुन धेरै समय लाग्नेछैन । हामी नेपाली युवाहरुलाई पेन्सिल उद्योग स्थापना गर्नको लागि प्रोत्साहनमूलक गतिविधिहरु सञ्चालन गरिरहेका छौं । नेपालमा नेपाली वस्तु नै प्रयोग गर्ने नीति राज्यको हुने हो भने हामी जस्ता स्वदेशमा सानो लगानीमा सञ्चालन हुने उद्योगहरुलाई ठूलो सहयोग मिल्नेछ । साथै नेपालको उत्पादकत्व बढाउन, रोजगारी सृजना गर्न र युवाहरुलाई उद्यमशिल बनाउन समेत ठूलो सहयोग मिल्नेमा हामी विश्वस्त छौं ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij