२०८३ कार्तिक २२ शनिबार

Nov 07 2026 Saturday

  • २०८३ कार्तिक २२ शनिबार

२०८३ कार्तिक २२ शनिबार

नेपालमा कुरियर व्यवसाय र यसका समस्याहरु

नेपालमा कुरियर व्यवसाय र यसका समस्याहरु

टंकमणि खरेल, सञ्चालक, युनाइटेड कुरियर कुरियर एण्ड कार्गो प्रा.लि

मोरङ उर्लाबारीका स्थानीय बासिन्दा टंकमणि खरेल विगत १२ बर्ष देखि नेपालमा कुरियर क्षेत्रमा रहेर काम गरिरहेका छन् । हाल काँडाघारीमा बस्दै आएका उनी विगतमा चौधरी गु्रप, नेपाल टोबाको कम्पनी तथा कुरियर सेवा प्रदायक कम्पनी लगायतमा रही मार्केटिङ सम्बन्धी अनुभव बटुले पश्चात् आफैंले युनाइटेड नेपाल कुरियर एण्ड कार्गो प्रा.लि सञ्चालन गरेका हुन् । यस कम्पनीले हाल करिब १० जना व्यक्तिहरुलाई रोजगारी दिइरहेको छ ।
नेपालमा अहिले समय करिब १ सयको हाराहारीमा कुरियर सेवा प्रदायक कम्पनीहरु सञ्चालनमा छन् । यी कम्पनीहरुले देशैभरका मुख्य प्रशासनिक क्षेत्रमा सेवाप्रवाह गर्दै आएका छन् । सबै किसिमका संस्था तथा सरकारी कार्यालयका कागजपत्र जिम्मेवार तवरले आदानप्रदान गर्नमा ठूलो सहयोग गर्दै आएका कुरियर कम्पनीहरुको लागि सुरक्षा भने ठूलो चुनौतीको विषय बनेको छ । राज्यले पनि यसमा कुनै चासो राखेको छैन ।

अहिले सबैजसो कुरियर कम्पनीका अधिकांश मुख्य कार्यालय काठमाडौंमा नै छन् । जसले गर्दा काठमाडौंको लागि निकै नै प्रतिष्पर्धी समेत भइसकेको छ । नेपालमा सञ्चालनमा रहेका बैंक, अन्य कर्पोरेट कम्पनी एवं सरकारी कार्यालय देखि व्यक्तिगत कागजपत्रहरु समेत एक ठाऊँबाट अर्को ठाउँमा पठाउनुपर्दा भरपर्दो माध्यमको रुपमा कुरियरलाई नै लिइन्छ । यद्यपि कुरियर कम्पनीले आफ्नै सवारीसाधन मार्फत कागजपत्र पठाउने व्यवस्था अहिले सम्म हुन सकेको छैन । सार्वजनिक गाडीबाट नै डकुमेन्टहरु अन्तिम गञ्तव्य सम्म पुर्याउनुपर्ने अवस्था छ ।

उपत्यका बाहिर एजेन्सीबाट सेवा प्रदान 
अहिले काठमाडौं बाहिर कुरियर कम्पनीहरुले एजेन्सी मार्फत सेवा प्रवाह गर्दै आएका छन् । पछिल्लो समय नेपालमा संघीय संरचनाको कार्यान्वयन सँगै बैंक तथा वित्तीय संस्था एवं अन्य कार्यालयहरु ग्रामीण क्षेत्रसम्म आफ्ना कार्यालयहरु विस्तार गर्दै गइरहेको अवस्थाम सोही बमोजिम कुरियर कम्पनीले पनि आफ्नो सेवा विस्तार गर्दै जानुपर्ने अवस्था छ । नेपालमा अहिले पनि ग्रामीण क्षेत्र, जहाँ कुरियर कम्पनीहरुले सेवा पुर्याउन सकेका छैनन्, ती क्षेत्रहरुमा भने हुलाक सेवा मार्फत नै कागजपत्रहरु सम्प्रेषण कार्य हुँदै आएका छन् । यद्यपि कुरियरको तुलनामा हुलाक मार्फत पठाइएका कागजपत्रहरु अलि ढिला मात्र सम्बन्धित क्षेत्रमा पुग्ने अवस्था रहन्छ ।

जिम्मेवार बन्नुपर्छ व्यवसायी 
कुरियर व्यवसाय विश्वासको व्यवसाय हो । यस व्यवसायमा रहेर काम गर्ने क्रममा इमान्दारिता निकै महत्वपूर्ण रहन्छ । आफ्नो प्रतिवद्धता बमोजिम आफूले लिएको जिम्मेवारी समयमा नै पूरा गर्ने कार्य कुरियर व्यवसायीहरुको हुने गर्छ । कुनै समस्या आएको खण्डमा वा समयमा सम्बन्धित कागजपत्र गञ्तव्यमा पुग्न नसकेको खण्डमा त्यसलाई उक्त डकुमेन्ट कहाँ पुगेको छ र किन उक्त ठाउँमा पुगेन भन्ने बारे सम्बन्धित कम्पनीले अध्ययन गरी चित्तबुझ्दो जवाफ सेवाप्रदायकलाई दिनु निकै नै जरुरी रहन्छ ।

लगानी 
शुरुमा कम लगानीमा नै शुरु गर्न सकिने यस व्यवसाय निकै झण्झटिलो व्यवसाय समेत हो । आफ्ना सेवालाई चुस्तदुरुस्त रुपमा प्रदान गर्न सकेको खण्डमा मात्र प्रतिष्पर्धि बजारमा टिक्न सकिने अवस्था रहन्छ । यद्यपि नेपालका सबै स्थानीय तहहरुमा व्यावसायिक कारोबार बढ्दै गएको अहिलेको अवस्थामा नेपालका ७७ ओटै जिल्लामा कुरियस सेवा विस्तार भइसकेको छ । सोही बमोजिम आफ्नो सेवालाई व्यवस्थित बनाउँदै जानुपर्ने अवस्था छ । लगानीको हिसाबले सुरक्षित नै व्यवसायको रुपमा यस व्यवसायलाई लिन सकिन्छ । साथै शुरुका दिनमा अफिस तथा कर्मचारी सञ्चालन व्यवस्था गर्ने र राम्रो व्यवस्थापकीय क्षमता हुने हो भने यस क्षेत्रमा रहेर काम गर्न असहज हुँदैन ।

समस्या 
यस व्यवसायमा रहेर काम गर्ने क्रममा नेपालको भूगोल निकै ठूलो समस्याको रुपमा रहँदै आएको छ । अहिले पनि नेपालका सबै क्षेत्रमा यातायातको राम्रो सुविधा विकास हुन नसकेको कारण कतिपय क्षेत्रहरुमा कागजपत्र समेत खच्चडबाट बोकाएर लैजानुपर्ने अवस्था छ । यसको अलावा नेपालमा अहिले सम्म वीमाको व्यवस्था अथवा सुविधा यस व्यवसायको निम्ति उपलब्ध हुन सकेको छैन । यसको अलावा यस क्षेत्रमा काम गर्ने स्थायी जनशक्ति पाउन पनि निकै गाह्रो छ । लामो समय यस क्षेत्रमा रहेर काम गर्ने जनशक्ति उपलब्ध हुन नसक्दा र राम्रो सुविधा प्राप्त गर्ने क्षेत्रको रुपमा यस व्यवसायलाई अपनाउन नसक्दा सेवा प्रवाहमा विभिन्न समस्या आउने गर्छन् । कतिपय अवस्थामा सम्बन्धित क्षेत्रमा सामान पुुगेर पनि सामान नपुगेको भनेर गुनासो समेत आउने गर्छ । यस्ता विविध झण्झटहरुलाई सहजै स्वीकार्दै सेवालाई नै प्राथमिकता दिने मानसिकताको साथ प्रविधिमा आधारित रही सेवा प्रवाह गर्न सकेको खण्डमा यस क्षेत्रमा पनि राम्रो प्रगति गर्न सकिने अवस्था छ ।

घट्दो कारोबार 
यो व्यवसायमा विगत एक दशकको तुलनामा अहिले कारोवार घटेको छ । विगतमा ५० औं जना व्यक्तिहरुलाई रोजगारी सृजना गरेका कुरियर कम्पनीहरुले समेत अहिले आफ्नो कम्पनीमा काम गर्ने जनशक्ति घटाएर १५÷२० जनामा सीमित पारेका छन् । यसकोे पछाडि विभिन्न कारणहरु हुन सक्छन् । साथै विगतमा उपत्यका बाहिर शाखा कार्यालय नै सञ्चालन गरेका कम्पनीहरु समेत कर्मचारी युनियन लगायतको समस्याको कारण बन्द भई एजेन्सी मार्फत काम गर्नुपर्ने अवस्था सृजना भएको छ । नेपालमा अहिले कुरियर क्षेत्र मार्फत प्रत्यक्ष रुपमा ५ हजार भन्दा बढी सङ्ख्यामा रोजगारी पाएको अनुमान गर्न सकिन्छ ।

व्यवसायलाई परिमार्जित गर्दै लैजानुपर्ने अवस्था 
कुरियस क्षेत्रमा काम गरिरहेका कम्पनीहरुले अबको परिवेशमा प्रदेश स्तरीय कार्यालय सञ्चालन गर्नुपर्ने अवस्था छ । यद्यपि अहिले सम्म नेपाल सरकारले नै प्रदेश सरकारलाई राम्रो तवरले व्यवस्थित गर्न सफल नभइसकेको अवस्थामा कुरियर व्यवसायीहरु तुरुन्तै आत्तिएर प्रदेश स्तरीय कुरियर कार्यालय सञ्चालन गर्नुपर्ने अवस्था पनि देखिँदैन ।

युवालाई सन्देश 
नेपालमा अहिले काम गर्न चाहने युवाहरुलाई राम्रो अवसर छ । जुनसुकै व्यवसाय वा जागिरमा पनि लगनशिलता निकै महत्वपूर्ण हुने गर्छ । आफूले जागिर गर्ने क्रममा पनि त्यस कामलाई आफ्नै काम हो भन्ने सोचेर गर्ने हो भने त्यस क्षेत्र मार्फत नै राम्रो सफलता हासिल गर्न सकिन्छ । सफलता तत्कालै प्राप्त हुँदैन । सोहीकारण धैर्यता निकै नै महत्वपूर्ण हुने गर्छ ।

अन्त्यमा,
सरकारले कर, राजस्व, भिसिटिएस, सामाजिक सुरक्षा लगायत व्यवस्था गरेको छ । यसबाट व्यवसायलाई नै अप्ठ्यारो पर्ने अवस्था सृजना नहोस् । साथै अहिले उद्योगी तथा व्यवसायीले तिरेको राजस्व उनीहरुको हकहितको निम्ति पनि प्रयोगमा आउन सकोस् । जसरी अहिले सामाजिक सुरक्षा कार्यक्रम अन्तरगत कर्मचारीहरुलाई सुरक्षित बनाउने प्रयाश गरिएको छ, आगामी दिनमा यस्ता कार्यक्रमहरु कम्पनी सञ्चालकको निम्ति पनि लागु हुनु जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij