काठमाडौं,५ चैतः त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गतका ३८ अंगिक क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनाव सम्पन्न भएको छ । त्रिवि केन्द्रीय अनुगमन तथा समन्वय समितिका सदस्य सचिव प्राध्यापक पशुपति अधिकारीका अनुसार कुल ६४ अंगिक क्याम्पसमध्ये ३८ मा आज निर्वाचन सम्पन्न भएको हो ।
मतदान बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्मका लागि तोकिएको थियो । निर्वाचन अधिकृतहरूका अनुसार मतदान केन्द्रभित्र प्रवेश गरिसकेका विद्यार्थीहरूले तोकिएको समयपछि पनि मतदान गर्न पाउने व्यवस्था गरिएको छ ।
यद्यपि, आज दुई क्याम्पसमा निर्वाचन स्थगित भएको छ । पाटन संयुक्त क्याम्पस र पृथ्वीनारायण क्याम्पसमा मतदान सुरु भए पनि केही कारणले रोकिएको अधिकारीले जानकारी दिए । पृथ्वीनारायण क्याम्पसमा भोलि मतदान गर्ने सहमति भएको छ भने पाटन क्याम्पसमा सहमति जुटाउने प्रयास जारी छ ।
त्रिविका ६४ अंगिक क्याम्पसहरूमध्ये बाँकी रहेका क्याम्पसहरूमा पनि निर्वाचन गराउने प्रयास भइरहेको अधिकारीले बताए । ‘आज ३८ क्याम्पसमा चुनाव सम्पन्न भएको छ, बाँकी क्याम्पसहरूमा सहमतिको प्रयास चलिरहेको छ । आगामी १५ दिनभित्र सबै क्याम्पसमा निर्वाचन सम्पन्न गर्ने योजना रहेको छ,’ उनले अनलाइनखबरसँग भने ।
यस्तै, त्रिविले सम्बन्धन प्राप्त क्याम्पसहरूमा कति स्थानमा चुनाव सम्पन्न भयो भन्ने विवरण संकलन भइरहेको जनाएको छ । त्रिविसँग हाल १,०५३ सम्बन्धन प्राप्त क्याम्पसहरू छन् ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij