
ग्रामीण क्षेत्रको वित्तीय पहुँच विस्तारमा लघुवित्त
ग्रामीण तथा शहरी क्षेत्रका विपन्न र न्यून आय भएका महिलाहरुलाई एकता र शशक्तिकरण गर्दै लघुवित्त सेवा मार्फत वित्तीय क्षेत्रमा सहज पहुँच उपलब्ध गराउँदै स्थानीय साधन र स्रोतको भरपूर प्रयोग गरी उनीहरुको आर्थिक तथा सामाजिक स्थितिमा सुधार ल्याउन नेपालका लघुवित्त संस्थाहरु सफल रहँदै आएका छन् ।
लघुवित्तले विशेषतः एउटै समुदायमा रहेका र समान आयस्तर भएका, आपसी मन मिल्ने महिला दिदीबहिनीहरुलाई समूह प्रवेशपूर्व आवश्यक तालिम तथा प्रशिक्षण दिएर समूहमा आवद्ध गराउने गर्छन् । यससँगै महिला दिदीबहिनीहरुको फजुल खर्च निरुत्साहित गर्ने र बचत गर्ने संस्कार विकास गराइ पुँजी सङ्कलन गर्न सहयोग पुर्याउँछ । साथै लघुवित्तले बिना धितो सामुहिक जमानीमा ऋण प्रवाह गरेर ग्रामीण उद्यमशिलता विकासमा समेत महत्वपूर्ण योगदान पुर्याउँदै आएका छन् ।
गाउँ नै गाउँले भरिएको हाम्रो देशका कतिपय हिमाली र पहाडी जिल्ला सम्म अझै पनि बैंकिङ तथा वित्तीय सेवा पुग्न नसकेको स्थितिमा बैंकिङ सेवाबाट वञ्चित ग्रामीण परिवारलाई स्थानीयस्तरमै गएर सहज बैंकिङ सेवा उपलब्ध गराएर साहुमहाजनहरुको चर्को ब्याजदरबाट शोषित हुनबाट बचाएको कारणले समेत नेपाली ग्रामीण क्षेत्रमा लघुवित्त सेवा लोकप्रिय बन्न पुगेको छ ।
वित्तीय क्षेत्रमाथि प्रहार हुने क्रम बढ्दाे
पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरु विरुद्ध नियोजित प्रहार हुने गरेको छ । विशेष गरी राष्ट्रिय दैनिक पत्रिकाहरु र राष्ट्रिय स्तरका राजनीतिक दलका नेताहरुबाट नै अन्धाधुन्ध एकतर्फी समाचार सम्प्रेषण गरिरहनुले जनमानसमा नकारात्मक प्रभाव पारेको छ ।
बैंक तथा वित्तीय संस्थाहरुबाट ऋण लिएका केही ऋणीहरुले कर्जा मिनाहा गराउने भन्दै लाखौं ऋणीहरुबाट चन्दा सङ्कलन गरिरहेका छन् ।
बैंकको नजरमा ऋणी तथा बैंकका निक्षेपकर्ताहरु दुवै समान हैसियतका हुने गर्दछन् । नेपाल राष्ट्र बैंकको एउटा तथ्याङ्क अनुसार हाल नेपालमा करिब १८ लाख ऋणी रहेको साथै ६० लाख भन्दा बढी निक्षेपकर्ताहरु रहेको देखिएको छ । साथै १८ लाख ऋणीहरुलाई लगानी गरेको रकम पनि निक्षेपकर्ताहरुबाट नै सङ्कलन गरिएको रकम हो भन्ने सबैले बुझ्न जरुरी छ ।
वित्तीय क्षेत्रकाे विश्वसनीयता कायम राखाैं
अहिले कर्जा मिनाहा भन्दै आन्दोलन भइरहेको छ । साथै यदि निक्षेपकर्ताहरु पनि निक्षेप रकम फिर्ता भन्दै सडकमा उत्रिए भने के बैंक तथा वित्तीय संस्थाहरुले निक्षेप फिर्ता गर्न सक्लान् त ? पक्कै सक्दैनन् । साथै कहीँ त्रुटि भएमा त्यसको जिम्मेवारी कसले लिने ? सम्बन्धित पक्षले यो कुरा पनि बुझ्न जरुरी छ । समस्या भएका ठाउँमा समाधान पनि हुन सक्छ । हामी समाधानका उपाय खोजेर अगाडि बढ्नु जरुरी छ ।
अतः बैंक तथा वित्तीय प्रणाली प्रति सर्वसाधारणको विश्वसनीयता थप अभिवृद्धि गर्दै निक्षेपकर्ताहरुको हक, हित र अधिकारको संरक्षण गर्न र बैंक तथा वित्तीय संस्थाहरु बीच स्वस्थ प्रतिष्पर्धाद्वारा गुणस्तरीय र भरपर्दो वित्तीय सेवा प्रवाह गरेर राष्ट्रिय अर्थतन्त्रलाई सबल बनाउन सबै पक्ष सुचित बनौं ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij