२०८३ कार्तिक २२ शनिबार

Nov 07 2026 Saturday

  • २०८३ कार्तिक २२ शनिबार

२०८३ कार्तिक २२ शनिबार

कोरोनाले राष्ट्रियताको भावना जगाएको छ, आत्मनिर्भर बन्न सुझाएको छ

कोरोनाले राष्ट्रियताको भावना जगाएको छ, आत्मनिर्भर बन्न सुझाएको छ

गोविन्द पराजुली, सचिव, नेपाल कम्युनिष्ट पार्टी (नेकपा), सिन्धुपाल्चोक जिल्ला कमिटी

 

अहिलेको लकडाउन अन्त्य बारे यहाँको धारणा के छ ?

कोरोनाको संक्रमण फैलिन नदिन लकडाउन मार्फत सरकारले जुन पहल गरेको छ, यही नै कोरोनाबाट बच्ने प्रभावकारी विधि हो । हामीले कोरोनाको संक्रमणबाट बच्न सकिने अन्य सुरक्षित आधारहरु फेला पारेपछि मात्र क्रमशः विकासनिर्माण, उद्योगधन्दाहरु लगायतका क्षेत्रमा भएको लकडाउन खुकुलो पार्दै जानु उपयुक्त हुन सक्छ । तर तत्काल हचुवाको भरमा लकडाउन खोल्नु उपयुक्त हुँदैन । तर अप्ठ्यारामा परेका जनतालाई लक्षित गरी राज्यले जनताको सुरक्षाको लागि आवश्यक पहल भने गर्नुपर्छ । सुरक्षित तवरले अत्यावश्यक काम गर्ने अवस्था सृजना गर्नुपर्छ ।

लकडाउनले पारेको प्रभावलाई कसरी लिन सकिन्छ ?
लकडाउन र कोरोनाको जोखिमले नेपालको अर्थतन्त्रमा जुन प्रभाव पारेको छ, त्यसमा हामीले अवश्य पनि ठूलो मूल्य चुकाउनुपरेको छ । हामीले हरेक परिस्थिति पश्चात् उत्पन्न हुने त्यसका नयाँ सम्भावना बारे पनि सोच्नुपर्छ । अहिलेको विश्वव्यापी महामारीले यसले केही नयाँ सम्भावनाका ढोका पनि खोलेको छ । सम्भावनाहरु खोज्ने क्रममा सबैभन्दा महत्वपूर्ण कुरा त यस परिस्थितिले राष्ट्रमा नै रहेर काम गर्नुपर्छ भन्ने भाव अधिकांश नेपालीहरुमा विकास भएको छ ।

भनेपछि, जनताको मनस्थितिमा परिवर्तन आएजस्तो लाग्छ त यहाँलाई ?
अवश्य पनि, अहिले मानिसहरुले महसुस गरेका छन् कि शहर भनेको सुखद अवसरको लागि रहेछ । दुखमा त गाउँ नै प्यारो हुँदो रहेछ । अब सरकारले पनि यस किसिमको जनताको भावनालाई राम्रो तवरले कदर गर्दै उचित सम्बोधन मार्फत ग्रामीण क्षेत्रको प्रवद्र्धनमा नै जोड दिनु जरुरी छ ।

गाउँ फर्किएका युवालाई अब कसरी व्यवस्थापन गर्नुपर्ला ?
अहिले थुप्रै युवा गाउँ फर्किएका छन् । उनीहरुलाई गाउँमा नै कृषि तथा साना घरेलु उद्यमहरुमा संलग्न बनाउने बारे अहिले व्यापक वहस भइरहेको छ । हामीले सिन्धुपाल्चोकको लागि पनि सोही बमोजिम युवाहरुलाई आवश्यक प्रशिक्षणहरु उपलब्ध गराई उद्यमशिल बनाउन पहल गर्दैछौं । साथै अहिले राज्यले नै स्पष्ट एकीकृत योजना सहित कृषि तथा सीप विकासको लागि पहल गर्नु जरुरी छ ।

अब कृषि क्षेत्र कसरी अघी बढ्नुपर्छ ?
अब कृषि क्षेत्रमा नयाँ तवरले काम गर्नु जरुरी छ । यसको लागि नयाँ उपकरण र प्रविधिमा आधारित रही उत्पादकत्व वृद्धिमा जोड दिनुपर्छ । कृषिमा सरकारी बजेट बढाउनुपर्छ । यस कार्यमा कृषिमन्त्रीले पनि चासो राख्नुभएको बुझिएको छ । यसको साथै अब हामीले सामुहिक लगानीमा आधुनिक प्रविधिबाट कृषि कार्यलाई नयाँ गति दिनु जरुरी छ । अहिले लकडाउनको अवस्थामा कृषिमा अति आवश्यक मल, बिऊ समेत समस्या बनेका छन् । यसलाई तत्काल सहजीकरण गर्न राज्यले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्छ ।

अहिले मानिसहरुले महसुस गरेका छन् कि शहर भनेको सुखद अवसरको लागि रहेछ । दुखमा त गाउँ नै प्यारो हुँदो रहेछ । अब सरकारले पनि यस किसिमको जनताको भावनालाई राम्रो तवरले कदर गर्दै उचित सम्बोधन मार्फत ग्रामीण क्षेत्रको प्रवद्र्धनमा नै जोड दिनु जरुरी छ ।

अन्त्यमा के भन्नुहुन्छ ?
अब कृषिमा आत्मनिर्भर हुने बेला आएको छ । यसको लागि हामीले उन्नत बिउहरु प्रयोग गर्नुपर्छ । सामुहिक लगानीलाई प्रोत्साहन गर्नुपर्छ । नेपालका जुन ठाउँमा जस्ता वस्तुहरु उत्पादन गर्न सकिन्छ, ती क्षेत्रहरुको पहिचान गरी आत्मनिर्भरताको लागि कृषि कार्यमा संलग्न रहन चाहनेलाई थप प्रवद्र्धन गर्नु जरुरी छ । एकातिर राज्यले कृषकहरुको लागि सचेतना जागरण गराउनु जरुरी छ भने अर्कोतिर कर्जा, अनुदान, तालिम तथा प्राविधिक सहयोग लगायतको माध्यमबाट हातमा सीप र मनमा जोश भएकाहरुलाई पनि आकर्षित गर्नु जरुरी छ । लकडाउनको कारण तत्काल अन्य आर्थिक गतिविधिका धेरै सम्भावनाहरु बन्द भएको अवस्थामा कृषिलाई नयाँ सम्भावनाको रुपमा अपनाउँदै कृषिमा कृषिमा आत्मनिर्भर हुनु जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij