२०८३ कार्तिक २१ शुक्रबार

Nov 06 2026 Friday

  • २०८३ कार्तिक २१ शुक्रबार

२०८३ कार्तिक २१ शुक्रबार

उपभोक्ता पुनर्जागरण बर्षको रुपमा याे बर्षलार्इ घोषणा गर्नु जरूरी छ

उपभोक्ता पुनर्जागरण बर्षको रुपमा याे बर्षलार्इ घोषणा गर्नु जरूरी छ

प्रत्येक बर्षको मार्च १५ लाई विश्व उपभोक्ता दिवसको रुपमा मनाउँदैै आइएको छ । कन्जुमर इन्टरनेशनलले तय गर्ने नारा बमोजिम विश्वभर उपभोक्ता दिवस मनाउने गरिन्छ । यस बर्षको नारा ‘उपभोक्ता जागरण अभियानमा स्थानीय तहको भूमीका’ तय गरिएको छ ।

उपभोक्ताका ४ अधिकारहरु (सुनुवाई, क्षतिपुर्ति, आधारभूत आवश्यकता र पहुँचको अधिकार) तय गरी अमेरिकी कानुनले त्यसलाई पास गरेको उपलक्ष्यमा यो दिवस मनाउने प्रचलनको शुरुवात भएको हो । यसै सन्दर्भमा नेपालमा पनि उपभोक्ता ऐन २०५४ र उपभोक्ता नियमावली २०५६ जारी गरिसकेपछि नेपालमा सरकारी स्तरबाट नै यस दिनलाई विशेष रुपमा मनाउँदै आइएको छ ।

नेपालमा २०५४ देखि नै विशेष रुपमा औपचारिक रुपमा दिवस मनाउँदै आएको र यस कार्यक्रममा उपभोक्तावादी संस्थाहरुको अलावा विभिन्न क्षेत्रका जागरुक व्यक्तिहरु समेतको उपस्थितिमा यो दिवस मनाउने कार्य हुँदै आएको छ । त्यसै परिप्रेक्ष्यमा नेपालमा अहिले विभिन्न औपचारिक कार्यक्रमहरु समेत आयोजना गरिएको छ । यसै सन्दर्भमा हामीले उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अक्ष्यक्ष माधव तिमिल्सिनासँग उपभोक्ता दिवसको उद्धेश्य र सार्थकता सम्बन्धी केही कुराकानी गरेका थियौं ।

प्रस्तुत छ सोही कुराकानी :

यस बर्ष उपभोक्ता दिवस कसरी मनाईंदैछ ?
उपभोक्ता दिवसको अवसरमा मनाइने कार्यक्रमहरु अघिल्लो बर्ष देखि भने नेपालमा साताव्यापाी रुपमा नै आयोजना गरिँदै आइएको छ । नेपालमा यस बर्ष यस किसिमका कार्यक्रमहरुलाई मुख्य शहरी क्षेत्रका चोक–चोकमा नै आयोजना गर्ने र उपभोक्ता जागरण सम्बन्धी विभिन्न कार्यक्रमहरु सञ्चालन गरिनै रहेको अवस्था छ ।
नेपालको संविधान २०७२ ले उपभोक्ता जागरण तथा अधिकार सम्बन्धी विभिन्न कार्यहरुको जिम्मेवारी स्थानीय तहलाई दिएको छ । यस क्रममा खाद्यान्नको क्षेत्रमा उत्पादन, वितरण, भण्डारण, गुणस्तर कायम लगायतको क्रममा केही समस्याहरु आउन सक्ने कुराबारे व्यवस्थापन सम्बन्धमा सम्पूर्ण जिम्मेवारी स्थानीय तहलाई नै जिम्मेवारी दिइएको छ । यसैकारण स्थानीय तहलाई बढी प्रभावकारी बनाउनुपर्छ भन्ने किसिमले यो कार्यक्रम आयोजना गर्न लागिएको हो । यो कार्यक्रम वाणिज्य तथा आपुर्ति मन्त्रालयको मुख्य आयोजनामा गर्न लागिएको छ ।

यो कार्यक्रम कसरी हुँदैछ ?
सबै सक्रिय उपभोक्तावादी संस्थाहरुको सहयोगमा यो कार्यक्रम सञ्चालनको तयारी भइरहेको छ । कार्यक्रम फागुन २६ गते देखि नै विभिन्न चोक चोकमा माइकिङ, पर्चा वितरण तथा सचेतनामूलक कार्यहरु गरी सञ्चालन गरि सञ्चालन भइरहेको छ । यस बर्ष उपत्यकाका ८ ठाउँ (तारकेश्वर, कागेश्वरी, महानगर, नागार्जुन, भक्तपुर तथा ललितपुर लगायत)मा वादविवाद तथा वक्तृत्वकला लगायतका कार्यक्रम गर्ने र त्यस मध्ये उत्कृष्टहरु छनौट गरि उनीहरुलाई सम्मान तथा थप अघी बढ्नको निम्ति प्रोत्साहन गर्ने कार्यक्रम छ ।

यो कार्यक्रम कत्तिको प्रभावकारी छ ?
कार्यक्रम अघिल्लो बर्ष देखि साता व्यापी रुपमा आयोजना हुँदै आएको भएपनि उक्त कार्यक्रम त्यति प्रभावकारी भने बन्न सकेको छैन । यसैकारण हामीले यस कार्यक्रमलाई नारामा सीमित रहेको उपभोक्ता दिवस समेत भन्दै आएका छौं ।
बजार शास्त्रका पिताले क्रेता भनेका बजारको निम्ति भगवान सरह हुन् भन्ने सिद्धान्त प्रतिपादन गरेका थिए । तर नेपाली बजारमा अहिले सम्म यस्तो अवस्था सृजना हुन सकेको छैन । अर्थात नेपालमा वस्तु तथा सेवा दुवै क्षेत्रमा लुट भइरहेको अवस्था छ । नेपालीहरु बजारमा गएर घर फर्कदा हरेक दिन लुटिएको वा ठगिएको महसुस गर्नुपरेको छ । तर उनीहरुले आफ्नो पीडा पोख्ने ठाउँ भने छैन ।

उपभोक्ताले आफू लुटिएको महसुस गर्नुपर्ने अवस्था किन आएको होला ?
बजार अहिले निकै अस्वस्थ छ । बजारमा भएको सिन्डिकेट हटाउन सकिएको छैन । बजारमा स्वस्थता कायम गर्न सकिएको छैन । उपभोक्तालाई सचेत र व्यवसायीलाई इमान्दार बनाउन नसकिएको कारण अहिले बजार झन् अप्ठ्यारो दिशामा अघी बढ्दैछ । यस्तो अवस्थामा सबैलाई जिम्मेवार बनाउनु नै पहिलो आवश्यकता बनेको छ ।
उपभोक्ता दिवसमा केही कार्यक्रमहरु आयोजना गरेपनि अरु समयमा त तपाईहरु चुप लागेको जस्तो देखिन्छ नि ?
हो, हामीले हरेक बर्ष उपभोक्ता दिवसमा जुन नारा तय गरेका हुन्छौं, व्यावहारिक रुपमा भने ती नारालाई सार्थक बनाउन सकेका छैनौं । जबसम्म ती नारा मार्फत हाम्रो लक्ष्य पूरा हुन सक्दैन वा हामी त्यस किसिमले ती कार्यक्रमहरुलाई निरन्तरता दिन सक्दैनौं, तबसम्म बर्षमा १ दिन मात्र मनाउने यस्ता दिवसले कुनै अर्थ राख्दैन । यसलाई निरन्तर रुपमा अघी बढाउने मुख्य दायित्व राज्यकै हो ।

यद्यपि हामी चुप लागेको कहिल्यै बसेका छैनौं । तर दुखको कुरा सम्पूर्ण कुराको बागडोर सम्हालेको राज्य संयन्त्र भने जिम्मेवार बन्न सकेको छैन । उपभोक्ताको अधिकार स्थापना गर्नको निम्ति र बजारमा हुने यस्ता अनियमितता न्यूनीकरण गर्नको निम्ति हामीले जुन भूमीका निर्वाह गर्नुपर्ने थियो, त्यो सहयोग हामीलाई राज्यबाट प्राप्त हुन नसकेको कारण नै अहिले सम्म हाम्रा लक्ष्य नारामा मात्र सीमित हुन पुगेका हुन् ।

यस बर्षको उपभोक्ता दिवस त प्रभावकारी बनाउन सकिएला नि ?
हामी आशावादी छौं, अहिले नेपाल संघीयतामा गइसकेको र स्थानीय सरकार बनिसकेको अवस्थामा सबै जनता र स्थानीय निकायको आपसी सहकार्यमा यस कार्यक्रमलाई विशेष रुपमा अघी बढाउनको निम्ति पहल भएको छ । साथै यसलाई निरन्तरता पनि दिइनेछ । यसबाट उपभोक्ताका आधारभूत अधिकारहरु स्थापित हुनेछन् भन्नेमा हामी आशावादी छौं । अब हामी निराश भएर नभइ आशावादी भएर नै यस्ता विशेदहरु अन्त्य गर्नको निम्ति अघी बढ्नु जरुरी छ ।
अन्त्यमा तपाईं के भन्नुहुन्छ ?

हामीले यस बर्षलाई उपभोक्ता पुनर्जागरण बर्षको रुपमा घोषणा गर्नुपर्छ । सबै स्थानीय तहहरु, मन्त्रालय, केन्द्र, प्रदेशहरुले वास्तविक उपभोक्ता सम्म पुग्ने गरी उपभोक्ता जागरण सम्बन्धी कार्यक्रमहरु सञ्चालन गर्ने, सबै किसिमका सञ्चार माध्यमहरुको प्रयोग गर्ने, विद्यालयस्तरमा सोही बमोजिमका पाठ्यक्रमहरु तय गर्ने र चोकचोकमा होर्डिङवोर्डहरु र अधिकारवादी संस्थाहरुलाई समेत देशव्यापी रुपमा यस्ता कार्यक्रम सञ्चालनको निम्ति अभिप्रेरित गर्ने हो भने हामीले साताव्यापी रुपमा मनाउने यस्ता कार्यक्रमलाई उद्धेश्य सही अर्थमा सार्थक बनाउन सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij