काठमाडौं, २० वैशाख । एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आज वार्ता हुने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा हुने वार्तामा एकतासँग जोडिएका विषय करिब टुंगो लागिसकेकाले दुई नेताबीच एकता घोषणासभाको मितिलगायतमा केन्द्रित रहेर छलफल हुनेछ ।
गत ९ वैशाखमा हुने भनिएको एकता धकेलिएपछि दुई नेताले त्यसयता पाँचपटक निरन्तर छलफल गरिसकेका छन् । वैशाख २० गते निर्णायक छलफल गर्ने समझदारीपछि दुवै नेता आन्तरिक कार्यक्रममा व्यस्त बनेका थिए । बुधबारको सचिवालय बैठकमा माओवादी अध्यक्ष प्रचण्डले पार्टी एकतासम्बन्धी छलफल सकारात्मक दिशामा अघि बढिरहेको जानकारी दिँदै बिहीबारको वार्ताबाटै निष्कर्ष आउने संकेत गरेका छन् ।
दुई दलबीच एकीकृत पार्टीमा संख्यात्मक हिस्सेदारी, चुनाव चिह्न र जनयुद्ध शब्दका विषय टुंगिन बाँकी रहेको बताइए पनि प्रचण्डले सम्मानजनक एकताका निम्ति एमाले तयार भएको जानकारी दिँदै संख्याको विषय मात्र मिलाउन बाँकी रहेको बताएका छन् ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij